ओलीले बोलाए नेकपा सचिवालय बैठक

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले अन्ततः सचिवालय बैठक बोलाएका छन्।

ओलीले शुक्रबार अपराह्न ४ बजे बालुवाटारमा बस्नेगरी नेकपा सचिवालयको बैठक बोलाएका हुन्। प्रधानमन्त्री ओलीले बैठक आह्वान गरेको जानकारी आफूले महासचिव विष्णु पौडेलमार्फत् पाएको एक सचिवालय सदस्यले बताए। महासचिव पौडेलले पनि शुक्रबार चार बजे बैठक बोलाइएको जानकारी हिमालखबरलाई दिए।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच जना (बहुमत) सदस्यले पार्टीभित्र उत्पन्न विवाद समाधानका लागि सचिवालय बैठक बोलाउन ओलीलाई लिखित आग्रह गरेका थिए। बैठक बोलाउन उनीहरुले ४८ घण्टाको समयसीमा दिए पनि ओलीले बोलाएका थिएनन्।

त्यसपछि मंगलबार पुनः पाँच जना सचिवालय सदस्यको बैठक बसी बैठक आह्वानका लागि ओलीलाई बिहीबारसम्म कुर्ने निर्णय गरेको थियो। बिहीबार नै ओलीले बैठक आह्वान गरेका हुन्।

नेकपामा पछिल्लो समय प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच पुनः शक्ति संघर्ष चर्किएको छ। दाहालसँगै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले अविलम्ब सचिवालय बैठक बोलाउन माग गरेका थिए।

 

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close