
मनसुन गराउने न्यून चापीय रेखा नेपाल नजिक रहेकाले नेपालमा पानी पर्ने क्रम अझै निरन्तर रहने मौसमविदले बताएका छन् । आज (बुधबार) बिहान देशका सबै प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसमविद्ले जानकारी दिएका छन् ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो पटक बुधबार बिहान ४ बजेदेखि वर्षा भइरहेको हो । यसअघि मंगलबार साँझ पनि वर्षा भएको थियो । बितेको २० घण्टामा उपत्यकामा ३२.६ मिलिमिटर वर्षा भएको उनले बताइन् । यो भनेको मध्यम वर्षा हो ।
आज (बुधबार) बाग्मती प्रदेश, प्रदेश–५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश–१, प्रदेश–२ र कर्णाली प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम कायमै रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताएकी छिन् ।
मनसुनी न्यून चापीय रेखा नेपाल नजिकै रहेकाले आज दिउँसो प्रदेश–५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश–१, प्रदेश–२ र कर्णाली प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै अरु धेरै ठाउँमा मेघ गर्जनसहित हल्कादेखि मध्यम खालको पानी पर्ने उनले बताएकी छिन् ।
यस्तै राति बाग्मती प्रदेश, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक–दुई ठाउँमा ठूलो र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । यसैबीच बाँकेको डुबान भइ रहने होचा ठाउँका बासिन्दालाई बिहान १० बजेसम्म नै सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
गए राति बाँकेको कुशुम, नेपालगञ्ज, खजुरा आसपास ठूलो पानी परेकाले मानखोला र डुडुवाखोलामा एक्कासी बाढी आउने र राप्तीमा पानीको सतह बढ्ने भएकाले डुबान भईरहने होचा ठाउँका बासिन्दालाई बिहान १० बजेसम्म नै सतर्क हुन महाशाखाले अनुरोध गरेको हो ।
महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ :-
‘देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश, प्रदेश नं ५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका १–२ स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’