![](https://guraskhabar.com/wp-content/uploads/2020/05/1586099038.jpeg)
वीरगंजमा सोमवार राति १० बजे १ महिलासहित १५ जनामा कोरोना पुष्टि भएको छ।
नारायणी अस्पतालको ल्याबले दिएको रिपोर्ट अनुसार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये दुई जना नारायणी अस्पतालका डाक्टर रहेका छन्। बाँकी भने वीरगंज, बारा, ईलाम र जगदम्बा इन्टरप्राइजेजमा कार्यरत कर्मचारी रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
कोरोना संक्रमण पुष्टि हुने डाक्टरहरुमा वीरगंज–४ विर्ता घर भई नारायणी अस्पतलामा कार्यरत ४० वर्षीय र वीरगंज ११ श्रीपुर घर भएका २६ वर्षीय पुरुष रहेका छन्। उनीहरुमध्ये एक जना अर्थोपेडिक र अर्का अकास्मिक कक्षमा मेडिकल अफिसरका रुपमा कार्यरत छन्।
वीरगंज ११ श्रीपुरकी ४५ वर्षीया महिला पनि संक्रमित भएकी छिन्। उनका श्रीमान नारायणी अस्पताललकै स्वास्थ्यकर्मी हुन्। उनीबाटै नै महिला र उनका डाक्टर छोरा संक्रमित भएको अशंका गरिएको छ। त्यसैगरी, बाराको जितपुरमा सञ्चालनमा रहेको फलाम उद्योग जगदम्बा इन्टरप्राइजेजका २६, ४८ र ५६ वर्षीय पुरुष कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। पर्सा प्रहरीमा रहेका एक जना २३ वर्षीय थुनुवामा पनि संक्रमण देखिएको छ। भारतको बैंगलोरबाट आएका वीरगंज २३ सबैठवाका २३ वर्षीय पुरुष, ईलाम घर भई ठोरी सरस्वती मावि क्वारेटाइनमा रहेका ५६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। त्यसैगरी, ‘पेड केस’ मा परिक्षण गराएका बाराको कलैया उपमहानगरपालिका वडा नं ५ का ४१ वर्षीय, वीरगंज–७ लोहारपट्टिका ५५ वर्षीय पुरुष, वीरगंज ७ रामटोलका ३३ वर्षीय, वीरगंज १३ राधेमाईका २३ र ३३ वर्षका पुरुष रहेका छन्।
वीरगंजका संक्रमितमध्ये अधिकांशमा ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने र बेचैनी हुनेजस्ता लक्षण देखिएको छ। हाल वीरगंजको कोभिड अस्पतालमा ५७ जना संक्रमित र ४२ जना घरमै अलपत्र परिरहेको अवस्थामा थप १५ जना संक्रमित देखिएका हुन्। यीमध्ये केहीमा गम्भीर लक्षण देखिएकाले नारायणी अस्पताललाई नै कोभिड अस्पताल बनाएर सेवा प्रारम्भ गर्नुपर्ने अवस्था आएको छ।
‘नारायणीकै स्टाफमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि कि त बन्द गर्छौं नत्र कोभिड सञ्चालन गर्ने विषयमा मन्त्रालयसँग प्रस्ताव राख्छौं,’ नारायणी अस्पतलाका मेडिक सुपेरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले भने।