बागलुङमा पहिरोले पुरिएर तीन बालबालिका र खोलाले बगाएर एक वृद्धाको मृत्यु

वर्षा बढेसँगै फेरि जनधनको क्षति सुरु भएको छ। बागलुङमा बाढी र पहिरोमा परी चार जनाको मृत्यु भएको छ।

बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्र रेग्मीले मंगलबार बिहान दिएको जानकारीअनुसार वर्षाका कारण बिहान साढे ३ बजेतिर तमनखोला गाउँपालिका वडा नम्बर २, खोलेसङमा पानबहादुर विकको घर पहिरोले पुर्दा उनका १३ वर्षीया छोरा खिमबहादुर र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ। उनकी श्रीमती ३४ वर्षीया होमकुमारी सामान्य घाइते भएकी छन्। पानबहादुर वैदेशिक रोजगारीमा छन्।

यस्तै निसीखोला गाउँपालिका वडा नम्बर १, हर्के भन्ने स्थानमा सोमबार राति साढे १ बजेतिर पहिरो खसेर कमल परियारको घर पुर्दा च्यापिएर उनका ३ वर्षीय छोरा समीर परियारको मृत्यु भएको हो। उनकी श्रीमती भने बाँच्न सफल भएकी छन्। कमल पनि वैदेशिक रोजगारीमा छन्।

दुवै स्थानमा प्रहरी टाेली पुगिसकेकाे र शव निकालिसकिएकाे डीएसपी रेग्मीले  जानकारी दिए।

यस्तै निसीखाेला गाउँपालिका वडा नम्बर ६, रियाताल भन्ने स्थान नजिकैको खोलामा एक वृद्धाको शव फेला परेको छ। ५२/५३ वर्षकी उनको नाम/ठेगाना खुल्न सकेको छैन। सोमबार साँझ खबर प्राप्त हुनासाथ मिसीस्थित प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको छ।

‘त्यहाँ पुग्न पैदल ५/६ घण्टै लाग्छ, फोन सम्पर्क पनि हुँदैन, थप जानकारी आएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close