नेपाल कोरोनाको ‘अतिउच्च जोखिमबाट उच्च जोखिममा’

काठमाडौं, वैशाख १३ । नेपाल कोरोनाभाइरसको अतिउच्च जोखिमबाट एक तह तल झरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ‘कोभिड–१९’ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघिमात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।

छिमेकी मुलुक चीनको वुहान सहरमा कोरोनाभाइरस देखिएको र भारतसँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालले कोरोनाभाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लुएचओले अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको जानकारी दिए ।

उनकाअनुसार नेपालले बन्दाबन्दी तथा अन्तर्राष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम गरेकाले उच्च जोखिममा झारिएको हो ।

‘नेपालले समयमै लकडाउन गरेर बाहिरबाट संक्रमित आउने सम्भावना देखिएन’–उनले भने–‘त्यसैले नेपाललाई कोभिड–१९ को अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।’

नेपालमा कोभिड–१९ संक्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि ‘लकडाउन’ गरिएको छ ।

कोभिड–१९ को परीक्षणको दायरासमेत बढाइएकाले अतिउच्च जोखिमबाट तल झरेको बताइएको छ ।

नेपालमा कोभिड–१९ नियन्त्रण र रोकथाम गर्नका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजत्वमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र कोभिड–१९ विपद् व्यवस्थापन सेन्टर स्थापना गरिएको छ । दुवैले आ–आफ्नो तरिकाले रोकथाम गर्नका लागि प्रयासरत् रहेका छन् ।

यसैगरी, सरकारले मुलुकभरि कोभिड अस्पतालका रुपमा २५ ओटालाई ‘हब’ हस्पिटल बनाएको छ । ती अस्पतालमा कोभिड–१९ का बिरामीको मात्र उपचारको व्यवस्था गरिएको छ ।

कैलालीमा विदेशबाट आएकाबाट एकजनामा सरेपछि (लोकल ट्रान्समिसन)  नेपाल कोभिड–१९ को दोस्रो चरणमा प्रवेश गरेको थियो ।

अहिले १५ स्थानमा ‘पीसीआर’ र ७५ जिल्लामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) दुवै विधिबाट परीक्षण गरिएको छ ।

अहिले प्रत्येक २५० जनामा एकजनामा परीक्षण गरिएको छ ।

यसैगरी, कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि विदेशबाट आएका मानिसलाई अनिवार्यरुपमा ‘क्वारेन्टाइन’मा राखिएको छ । त्यसमा प्रदेश र स्थानीय तहले सघाइरहेका छन् ।

नेपालले मोबाइल एप र कल सेन्टरबाट पनि शंकास्पद बिरामीलाई पछ्याइरहेको छ ।

विश्वमा अहिले १८ लाख २८ हजार २५६ जना कोभिड–१९ बाट संक्रमित भइसकेका छन् । अहिलेसम्म एक लाख ९७ हजार ३५४ बिरामीले कोभिड–१९ को कारणले ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close