कर्णाली पर्यटनको नाममा १करोडौं खर्च उपलब्धि शून्य

जुम्ला । ग्रामीण पर्यटन प्रवद्र्धनका लागि कर्णाली प्रदेश सरकारले जुम्लाका होमस्टे (घरबास) का नाममा गरेको १ करोड २५ लाखको उपलब्धी शून्य देखिएको छ । रारा जाने आन्तरिक तथा बाह्य पर्यटकहरूको आवास व्यवस्थापनलाई सहज बनाउने नाममा प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ को वार्षिक कार्यक्रमअन्तर्गत वितरण गरेको अनुदान रकम उपलब्धी बिहिन बनेको हो ।

‘कर्णाली समृद्धिको आधार, पर्यटन पवद्र्धनको पूर्वाधार’ भन्ने नारासहित २०७५ साललाई कर्णाली पर्यटन वर्षका रुपमा घोषणा गरेरको प्रदेश सरकारले ग्रामीण पर्यटन विकासका नाममा वितरण गरेको उक्त रकमले जुम्लाका पाँचवटै होमस्टे (घरबास) साइन बोर्डमा मात्रै सीमित रहेपछि प्रदेश सरकारले गरेको लगानीको उपलब्धी शून्य देखिएको हो ।

कर्णालीका धार्मिक, सांस्कृतिक, प्राकृतिक, भाषिक पर्यटनलाई प्रचारप्रसार गरी आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ जुम्लाको तातोपानी गाउँपालिका–४ को ऐरेनी, हिमा गाउँपालिका–२ को बड्की, तातोपानी गाउँपालिका–२ को तातोपानी, कनकासुन्दरी गाउँपालिका–१ को कनकासुन्दरी र गोठीचौर गाउँपालिका–५ को चोत्रा होमस्टे (घरबास) सञ्चालन गर्न कर्णाली प्रदेश सरकारले प्रतिहोमस्टे २५ लाख नगद रुपैयाँ र भाडाँकुँडाको सहयोग गरेको थियो । निर्धारित लक्ष्य अनुसारका होमस्टे सञ्चालनमा आएको प्रतिवेदनसहित सबै रकम भुक्तानी भएको ६/७ महिना पुग्दासमेत गाउँमा जाने पर्यटकलाई बास बस्न होटेलकै खोजी गर्नु परेपछि प्रदेश सरकारको बजेट निश्चित कार्यकर्ता पाल्ने माध्यम मात्रै भएको आरोप नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले लगाए । ‘जिल्लाका पाँचवटै होमस्टे स्थापनाका लागि प्रदेश सरकारको मोटो रकम खर्च भयो । सञ्चालकले यसकै नाममा विभिन्न ठाउँको भ्रमण पनि गरे ।’ अध्यक्ष महतले भने, ‘तर बिडम्बना गाउँमा आउने पर्यटकहरूले बास बस्न परम्परागत होटेलकै खोजी गर्नुप¥यो ।’

‘वर्षेनी हजारौं आन्तरिक तथा बाह्य पर्यटकको रोजाई बन्ने रारा पुग्ने नाग्म–गमगडी सडक खण्डमै पर्ने होमस्टेहरूका साइन बोर्ड देखेर कति पर्यटकहरू त्यहाँ जान खोज्छन् ।’ काञ्जिरोवा होटेलका सञ्चालकसमेत रहेका पर्यटन व्यवसायी नुर्वु लामा भन्छन्, ‘होमस्टे साइन बोर्डमा मात्रै सीमित भएकाले मैले अहिलेसम्म त्यहाँ लिने आँट गरेको छैन ।’ आफ्नो होटेलमा दैनिक २०/२५ जना पर्यटक आउने जानकारी दिएका लामाले सरकारको अनुदान लिएका होमस्टे किन सञ्चालनमा आएका छैनन् भन्ने बारेमा केही बोल्न चाहेनन् । केही साताअघि होमस्टेको अनुगमनमा गएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शेरबहादुर श्रेष्ठका अनुसार होमस्टे कार्यक्रम र स्थानीय नागरिकको अपेक्षा बीचको भिन्नताले केही समस्याजस्तो देखिएको हो । आन्तरिक रुपमा थुप्रै समस्या छन् । उनले भने, ‘ठूलो समस्या त पर्यटकलाई बासदिने जुन उद्देश्य थियो त्यो नै प्रभावकारी कार्यान्वयन भएन ।’ ‘बाहिर आएजस्तो कामै नभएको भन्ने होइन । स्थलगत रुपमा हेर्दा प्रदेश सरकारले विनियोजन गरेको रकम भौतिक पूर्वाधारमा लगानी भएको उनको भनाई छ ।

बोर्डमै सीमित होमस्टे

तातोपानी जुम्ला जिल्लाकै महत्वपूर्ण पर्यटकीय केन्द्र हो । त्यहाँ दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरूले भ्रमण गर्ने गर्छन् । तर त्यहाँ जाने पर्यटक बास बस्नका लागि सदरमुकाम खलङ्गा जानुपर्ने बाध्यता छ । तातोपानीमा प्रदेश सरकारको अनुदान लिएका २ वटा अर्गानिक होमस्टे त छन् । तर तिनमा बोर्ड झुण्ड्याइएको भए पनि बास बस्ने कुनै व्यवस्था छैन । केही साताअघि भारतको सिक्किमबाट आएको एक टोली होमस्टेको गेटमा गएर फर्किएको थियो ।

‘होमस्टेको बोर्ड देखेर त्यतै बसौला भनेर गयांै ।’ टोलीमा संलग्न मञ्जिले भने ‘तर तातोपानी होमस्टेको व्यवस्थापन राम्रो नदेखेपछि हामी बास बस्न खलङ्गा नै जानुपर्ने बाध्यतामा पुग्यौं ।’

कागजमै सीमित उपसमिति

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको अनुदान सहयोग लिएका होमस्टेले पर्यटकको बसाई व्यवस्थापनदेखि स्वागत सत्कार गर्न विभिन्न उपसमिति गठन गर्ने कार्यविधिमा उल्लेख छ । कार्यविधि अनुसार सबै होमस्टेले सञ्चालकहरूको भेला गराई स्वागत, अतिथि सत्कार, बसाइँ व्यवस्थापनलगायतका उपसमिति समेत गठन गरेका छन् । तर बोर्डमै समिति रहेका होमस्टेका उपसमितिसमेत कागजका निर्णयमा मात्रै सीमित छन् ।

‘गाउँमा गएका पर्यटकहरूलाई न त कसैले स्वागत गरेका छन् न त कसैले बसाई व्यवस्थापन ननै गरेका छन् ।’ पर्यटन व्यवसायी नुर्वु लामाले भने, ‘पर्यटक गाउँमा जाँदा हामी सीमित पर्यटन व्यवसायी बाहेकले खासै चासो राख्ने गरेको मैले पाएको छैन ।’

प्रदेश सरकारले पाँचवटै होमस्टेका सञ्चालकलाई पर्यटकको स्वागत सत्कार र व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थलगत रुपमा सात दिने तालिम दिएको भए पनि अहिले कुनै पनि कार्यान्वयन भएका छैनन् । नागरिक समाजका अध्यक्ष राजबहादुर महतले भने, ‘व्यवस्थापनको नाममा सीमित व्यक्तिले आ–आफ्नो घर मात्र सजाएर हुँदैन ।

पर्यटकलाई कस्तो व्यवहार गर्ने, गाउँमा कसरी आकर्षण गर्ने भन्ने विषय जान्न जरुरी छ ।’ ग्रामीण पर्यटक पवद्र्धनको एक मात्र आधार होमस्टे भएकोमा जोड दिएका महतले जुम्लामा होमस्टेका सबै गतिविधि प्रदेश सरकारलाई देखाउन कागजमा मात्रै सीमित रहेको जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close