रासायनिक मल खरिद गर्न ३८ अर्ब

किसानले खेती गर्ने समयमा रासायनिक मल नपाएको गुनासो आएपछि मल अभाव हुन नदिन सरकारले यो वर्ष रासायनिक मल खरिद गर्न करिब साढे ३८ अर्ब रूपैयाँ बजेट व्यवस्था गरेको छ। चालु आर्थिक वर्ष ०७९/८० को बजेटमा रासायनिक मलका लागि १५ अर्ब बजेट विनियोजन गरेको अर्थ मन्त्रालयले यस वर्षका लागि थप साढे २३ अर्ब रूपैयाँको मल खरिद गर्न अनुमति दिएको हो।

मल खरिद गर्न यो वर्ष ३८ अर्ब ५० करोड रूपैयाँ व्यवस्था गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। ‘बजेट वक्तव्यमा १५ अर्ब बजेट विनियोजन भएकोमा यसअघि १६ अर्बको स्रोत सुनिश्चितता पाएका थियौं,’ कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले भने, ‘अर्थबाट यसै साता थप ७ अर्ब ५० करोड रूपैयाँको स्रोत सुनिश्चितता पाएका छौं।’ यसअघि १६ अर्ब बजेट सुनिश्चिताबाट मल खरिद प्रक्रिया अघि बढेर रासायनिक मल आउने चरणमा रहेको मन्त्रालयले जनाएको छ।

अनुदानमा दिने मल अभाव हुन नदिन बजेटको व्यवस्थापन भएको छ। चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रूपैयाँको स्रोत सुनिश्चित गरेको अर्थ मन्त्रालयले जनाएको छ।सुनिश्चित स्रोतमध्ये २ अर्ब ४० करोड रूपैयाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गर्ने, २ अर्ब ५० करोड रूपैयाँ आगामी आर्थिक वर्षको सिलिङमा समावेश गर्ने जनाएको छ। त्यसैगरी, २ अर्ब ६० करोड रूपैयाँ दायित्व सिर्जना भएपछि निकासा गर्ने जनाएको छ।

मलका लागि विनियोजन भएको साढे ३८ अर्ब रूपैयाँमध्ये साढे ८ अर्ब रूपैयाँको रासायनिक मल खरिदको लागि प्रक्रिया अघि बढे पनि यसै वर्ष मल आउने सम्भावना कम रहेको छ। नागरिक दैनिकबाट

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close