अफगानिस्तानमा तालिवानको पुनरागमन : कस्तो थियो पहिलो सत्ता सञ्चालन?

यो सन् १९९७ को कुरा हो, जब अफगानिस्तानमा तालिवान सत्ताको सुरुआती चरण थियो। कुनै कागजात जाँच नगरी हाम्रो गाडीलाई सीमास्थित प्रवेशद्वार पार गराइयो।
त्यसपछि मात्र सडकको बायाँतर्फ रहेको एक भवनको अगाडि हाम्रो गाडी रोकियो। यो त्यही स्थान थियो, जहाँ तालिवानले तय गरेअनुसार जाँच हुन्थ्यो। हाम्रो गाडीमा अफगान युद्धसँग परिचित पेशावरका अन्य वरिष्ठ पत्रकारहरु पनि थिए।

नमाज र दाह्रीको बारेमा सोधियो
जाँच स्थलमा कालो पगरी लगाएका लामो दाह्रीवाला तालिवानका एक कमाण्डर हाम्रो गाडीतर्फ आए र गाडीभित्र नियाले। हामी सबै मौन भएर उनलाई हेरिरहेका थियौं। उनले हामीलाई अप्रत्याशित रुपमा कुनै कठोर प्रश्न गरेनन्। न त हामीले सुन्दै आएजस्तो कुनै कठोर रबैया नै देखाए। यद्यपी, उनले हामीलाई नमाज पढ्न र अनिवार्य दाह्री पाल्न भने।

हामीसँग रहेका वरिष्ठ पत्रकार असरफ डार र ती तालिवान कमाण्डरबीच भएको संवाद मलाई अझै याद छ। उनी अफगानिस्तान आवतजावत गर्न प्रख्यात दाह्री नभएका हाफिज–ए–कुरान (कुरान कण्ठस्थ भएका व्यक्ति) थिए। दाह्रीबिना पनि असल मुसलमान बन्न सकिने भन्दै उनले कमाण्डरसँग चाहेमा आफूलाई कुरानको जुनसुकै पाठ सोध्न सक्ने बताए।

तालिवानका एक गाइड हामीसँगै रहे
उक्त छोटो संवादपछि ती कमाण्डरले थप कुरा गरेनन्। उनले हामीलाई अतिथि बताउँदै आफ्ना अर्का साथीलाई हामीसँगै रहन भने।
मुजाहिद्दिनको युद्धका कारण ध्वस्त भएको अफगानिस्तान तालिवानले धेरै छिटो र सहज रुपमा कब्जा गर्यो। तालिवानले अफगानिस्तानमा कब्जा जमाएसँगै अनौठा खबरहरु फैलन थाले। अफगानिस्तान र पाकिस्तानका मदरसाका छात्रहरुमा निर्भर तालिवानले कसरी यति ठूलो सफलता पायो भन्ने प्रश्नले मानिसहरु अचम्मित थिए।

अफगानिस्तान कब्जा गर्ने बित्तिकै तालिवानले अप्रत्याशित रुपमा अनौठा कानुन लागू गरे। पुरुषले दाह्री पाल्नै पर्ने एवं संगीत, परेवा र चंगा उडाउन रोक लगाइयो भने महिलाले अनिवार्य बुर्का लगाउनुपर्ने कडा व्यवस्था गरियो।

यस्तो व्यवस्थाले अफगानिस्तानमा जस्तो अवस्था सिर्जना गरेपनि पाकिस्तानमा भने मानिसहरु अफगानिस्तान जान डराउँथे। तालिवानले समात्यो भने पाकिस्तान फिर्ता हुन नसकिने मानिसहरुको बुझाई थियो।
इस्लामी कानुनअनुसार पुरुषको दाह्रीको विषयमा तालिवानले तय गरेका मानकका विषयमा पनि धेरै खाले हल्लाहरु चले। मेरो आफ्नो दाह्री निकै छोटो भएकाले मेरो मुटु जोडजोडले हल्लिरहेको थियो।

गाडी उक्त चेकपोष्टबाट अघि बढेपछि हाम्रो ठट्टा सुरु भयो र सबै पेशावरमा रहँदाकै स्थितिमा फर्कियौं। तब मलाई लाग्यो कि तालिवान पत्रकारहरुलाई केही गर्दैन वा कानुनमा छुट दिन्छ अथवा कुनै खास उद्देश्यका कारण उनीहरु हामीसँग विनम्र रुपमा प्रस्तुत भइरहेका छन्।

मानिसहरु खुलेर बोल्न चाहेनन्
हामीसँगै गाडीमा सवार तालिवान गाइडले हाम्रा धेरै प्रश्नहरुको उत्तर दिए। उनी एक शिक्षित व्यक्ति थिए भन्ने हामीले अनुमान गर्यौं। उनको हरेक उत्तर तालिवानको आगमनले अफगान नागरिक खुशी रहेका भन्ने निचोडसँगै अन्त्य हुन्थ्यो।

हामी जहाँजहाँबाट जाँदै थियौं त्यहाँ मानिसहरु निकै कम मात्र घरबाट निस्कन्थे। थोरै मानिसहरु खेतबारीमा काम गरिरहेका देखिन्थे। बाटोमा एक ठाउँमा हामीले एउटा पसल देख्यौं। हामीले त्यहाँ केही खरिद गर्ने र उनीहरुसँग कुरा गर्ने इच्छा जाहेर गर्यौं। हामीसँग रहेका गाइडले सहर्ष हाम्रो प्रस्ताव स्वीकार गरे।

तालिवानले दाबी गरेजस्तै सत्तामा आएपछि यहाँका नागरिक साँच्चै खुशी थिए वा दाबी मात्र थियो भन्ने जान्न म उत्सुक थिएँ। मैले यही कुरा ती पसलेसँग सोधेँ। उनी मुस्कुराए र मौन रहे। मैले पेशावरबाट आएको पत्रकार हुँ भनेपछि मात्र उनले यहाँको स्थिति पहिलेभन्दा सहज रहेको बताए। यद्यपी, उनले धेरै कुरा गर्न चाहेनन्।

यी पसले किन खुलेर बोलिरहेका छैनन् भनी मैले मेरा साथीहरुसँग सोधें। ‘तिमी तालिवानको गाडीमा उनीहरुसँगै आएका छौ। यो सबै देखेपछि यी पसलेले कसरी तिमीलाई विश्वास गरेर संवेदनशील कुरा गर्न सक्छन्?’ मेरा एक साथीले भने।

बदलिएको तालिवानी रवैया
मुजाहिद्दिनको हालीमुहाली रहँदा लुटपाट र हिंसा देखेका अफगानीहरु त्यहाँ कायम शान्तिको श्रेय तालिवानलाई दिन्थे। तालिवानका कट्टर विरोधीहरु पनि तालिवान आएपछि शान्ति छाएकोमा असहमत थिएनन्।

हाम्रो यो सानो यात्राबाट मात्र तालिवानको सत्ताको पुरा अनुमान लगाउन सम्भव थिएन। यद्यपी, उनीहरु पाकिस्तानी पत्रकारहरुको समूहमार्फत् अफगानीहरु तालिवानको शासनमा खुसी रहेको सन्देश दिन खोजिरहेका थिए।

तर, महिलालाई शिक्षा र स्वतन्त्रताबाट बन्चित गरिनु, पुरुषले दाह्री पाल्नै पर्ने तथा विभिन्न खेलहरुमा प्रतिबन्ध लगायतका कारणले तालिवानले अफगान नागरिकको समर्थन गुमाउँदै गयो। विशेषतः महिलालाई खुलेआम इस्लामी सजाय दिने निर्णयका कारण तालिवानले जनसमर्थन गुमाउँदै गयो।

पछि तालिवानले बीच बजारमा महिलालाई पत्थर प्रहार गरी मारेको, छोटो कपडा लगाएको भन्दै फुटबल खेलाडीको कपाल खौरेको, मनोरञ्जन उद्योगमा प्रतिबन्ध लगाएको जस्ता खबरहरु बाहिरिए। यसले हामीलाई सोच्न बाध्य बनायो कि के यी तिनै तालिवानी हुन्, जसले सुरुआती दिनमा पाकिस्तानी पत्रकारहरुमार्फत् आफ्नो सकारात्मक पक्ष पेश गर्ने कोशिस गरेका थिए?

(बीबीसी हिन्दीमा प्रकाशित महमूद जान बाबरको लेखको अंशको भावानुवाद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close