‘जनताको सत्ता आउँछ भनेर युद्ध लडेका थियौं, हाम्रा पीडा कसको सरकारले सुन्ने हो’

द्वद्व पीडितको गुनासै, गुनासा

सुर्खेत,१ फागुन । दैलेखको नारायण नगरपालिका— की भरत कुमारी रेग्मीले तत्कालिन सशत्र जनयुद्धमा आफ्ना श्रीमान र ससुरा गुमाइन् ।
२०५९ भाद्र ५ गते डोल्पामा उनका श्रीमान नारायण शर्माको राज्य पक्षबाट सामुहिक हत्या भयो । श्रीमानको हत्याको पीडा नभुल्दै उनका ससुरा कविराज शर्मालाई २०६१ भाद्र २७ गते दैलेखको खरिगैरामा हत्या गरियो ।

गणतन्त्र ल्याउनका लागि भरतले पनि १० वर्षे जनयुद्ध लडिन् तर त्यसको प्राप्ति उनले पाइनन् बरु श्रीमान र ससुरालाई सदाका लागि गुमाइन् ।
‘आफ्नै श्रीमान्, साथीभाई बुवाआमा मारिँदा पनि हामी सहिदको सपना पुरा गर्ने र राजतन्त्रको अन्त्य गरी गणतन्त्र ल्याउने उद्देश्यका साथ भोक तिर्खा नभनी लड्यौ,’ रेग्मीले भनिन्, ‘त्यसको फल अहिले हामीले के पायौं उल्टै पीडा मात्र ।’

जनयुद्ध लड्दा आफुलाई दुःखको महशुस नगरी निरन्तर मोर्चामा खटिएर नेपाली जनताको सार्वभौम सत्ता आउाछ भनेर लागेको प्रतिफल नपाएको उनले गुनासो गरिन् ।
जनयुद्धमा जुन प्रकारका आश्वासन नेतृत्वले बाँडेपनि अहिले शान्ति प्रक्रियापछि सहिद परिवार, घाइते, अपाङ्गता र बेपत्ता परिवारको सरकारले चित्त बुझ्दो केही पनि काम नगरेको पीडितहरुको आरोप छ ।

सम्बोधनको नाममा मृतकको परिवारलाई दश लाख रुपैयाँ दिएपनि अरु कुनै सहयोग नपाएको उनीहरुको गुनासो छ ।
‘घरमा आमा छोरा मात्र छौं, छोराको पढाई र अन्य खर्च आफै जसो तसो व्यहोरिरहेकी छु,’ उनलले भनिन्, ‘राज्यसँग धेरै पटक हारगुहार गरेँ तर कसैले त्यो वेदना सुनेन ।’
अहिले पनि घरखर्च चलाउन आफुलाई समस्या परेको उनले बताइन् ।

‘सारा जनताका छोराछोरीको छोरो छोरीको रगत बग्दा भावुक नहुने प्रचण्ड अहिले आफुलाई पर्दा कसरी भावुक हुन्छन्,’ उनले भनिन्, ‘श्रीमतीसँग दोस्रो बिहे गररे आनन्द लिने प्रचण्ड जस्ता नेताहरु तपाइंलाई प्रश्न छ ? हाम्रा श्रीमानले कहिले न्याय पाउने ।’

सोचे अनुरुप सहिदका सपना पुरा नभएको दैलेखको भगवतीमाई गाउँपालिका—५ का नर्तम खड्काले बताए ।
संघीय सकार तथा प्रदेश सरकारले नीति तथा योजना तथा विभिन्न कार्यक्रमसँग सम्बन्धित जनमुक्ति सेना, सहिद परिवार, बेपत्ता, अपाङ्ग अङ्ग—भङ्ग परिवारको हितमा काम गर्न नसकिएको उनको भनाई छ ।
२०५९ साल मंसिर महिनाको ३० गते रातीे खाना खाएर परिवारसँग सुतेका थिए दैलेख ठाटीकाँध गाउँपालिका—२ टोम्टाल्लाका जनक थापा ।

सँगै सुतेका जनककी श्रीमती लछु सुत्केरी भएकोे पाँचौ दिन भएको थियो । छोरा र सुत्केरी श्रीमतीसँगै सुतेका जनकलाई एक्कासी राती आई माओवादीले अपहरण गरी लियो ।
‘राती एक्कासी ढोकामा आई ढकढक गरेको आवाज आयो र गाउँकै चिनेको मान्छेले ढोका खोल्नुस जनक सरसँग एकछिन काम छ भने अनि मैले ढोका खोलेँ,’ लछुले भनिन्, ‘बैठकमा सरलाई लिनु पर्नेछ भनेर जबरजस्ती लिएर कपडा नलगाएरै गएका मेरा श्रीमानलाई पासो हालेर हत्या गरेका अर्कोदिन मात्र थाहा पाएँ ।’

लछुलाई ढोका थुनेर घरभित्र हुले जसका कारण गाउँलेलाई कुनै जानकारी भएन, उनले आफ्ना श्रीमान् जनकलाई सदाका लागि त्यागिन् ।
घर नजिकैकोे डाँडा वनको पिपल चौतारामा लिएर जनकलाई झुण्ड्याएर हत्या गरेका रहेछन् । नेपाली कांग्रेसको आस्था भएकै कारण आफ्ना श्रीमान्लाई झुण्ड्याएर मारिएको लछुको भनाई छ ।

‘आफ्ना श्रीमानका हत्याराहरु खुलेआम हिंडिरहँदा मेरो मन पनि पागल हुन्छ,’ लछुले भनिन्, ‘राज्यबाट मलाई अरु केही आस छैन, तर दोषीलाई कारबाही भएपछि मात्र मेरो श्रीमानको आत्माले शान्ति पाउनेछ ।’
थपाको सिउँदो पुछिएको १९ वर्ष बित्दा पनि न्याय पाउन सकेकी छैनन्
। जबसम्म श्रीमानको हत्यारालाई कानुनी कठघरा ल्याइँदैन तबसम्म परम्परागत क्रियाकाज नगर्ने थापको अडान छ ।
दश वर्षे सशत्र जनयुद्धले धेरैका सिन्दुर पोछिए, कोख रित्तिए र धेरैको घरबार समेत उजाडिए तर अहिले उनीहरुले न्याय पाउन सकेका छैनन् ।

‘शान्ति सम्झौता भएको १५ वर्षसम्म पनि न्यायको कुनै अनुभूति भएको छैन,’ दैलेखकै रत्ना रेग्मीले भनिन्, ‘हाम्रो परिवारको रगतमा होली खेलेर यहाँसम्म पुगेका नेताहरू नमस्कार भन्दा पनि सिधा हेर्दैनन् ।’
शिक्षा, स्वास्थ्य, गाँस, बास र कपासमा पनि तीनै तहका सरकारले रतिभर नहेरेर आफूहरूको अपमान गरेको बताइन् ।

‘सिन्दुर पुछिएको यत्रो वर्षसम्म पनि आयोगमा दिएको उजुरीको पनि केही सुनुवाइ भएको छैन,’ रत्नाले भनिन्, ‘जति आयोग र सरकार बने पनि हाम्रो दुःखलाई कमाइ खाने भाँडो बनाए ।’
पुराना घटनालाई बिर्सनै लागेका बेला उही कुरालाई कोट्याएर पुरिन लागेको घाउ बल्झाउने काम भएको सुर्खेतमा बस्दै आएकी विजयसरा शाहीले बताइन् ।

द्वन्द्वको समयमा कालिकोट बम विस्फोटमा परी विजयसराको एउटा हात नै गुमेको छ । सुर्खेतको भेरीमा भएको दोहोरो लडाइँमा परी उनका श्रीमानको पनि खुट्टा गुम्यो ।
अपाङ्ग भएर बाँच्नुपर्ने बाध्यता भएको बताउँदै सरकार र आयोगले पीडा मात्रै सुन्ने तर न्याय नदिने गरेको गुनासो गरिन् ।

‘सरकार र आयोगले हाम्रो पीडा मात्रै सुन्छन्, तर न्याय दिलाउन कुनै पहल गर्दैनन्’, उनले भनिन्, ‘आयोगको काम पीडा सुन्ने मात्रै हो कि न्याय पनि दिने हो?’
सशस्त्र द्वन्द्वका बेला आफ्ना श्रीमानलाई राज्य पक्षबाट बेपत्ता पारिएकाले हालसम्म पनि कुनै अत्तोपत्तो नभएकाले मृत्यु दर्ता गर्न बाध्य भएको जाजरकोटकी विमला सुनारको गुनासो छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close