नेपाली वैज्ञानिकले विकास गरे मोबाइलबाटै झाडापखलाको जीवाणु पत्ता लगाउने प्रविधि

काठमाडौँ — फोनमा बोल्ने, फोटो खिच्नेदेखि लिएर अनलाइन कामहरु मोबाइलबाट हुँदै आएको छ । तर अब मोबाइलकै प्रयोगबाट सूक्ष्म जीवाणुहरु हेर्न सकिने भएको छ ।

काठमाडौं व्यवहारिक विज्ञान प्रतिष्ठानका अनुसन्धानकर्ताहरु वसन्त गिरी, रेटिना श्रेष्ठ र त्रिभुवन विश्वविद्यालय केन्द्रीय रसायनशास्त्र विभागका उपप्राध्यापक भानु न्यौपानेसहितको अनुसन्धान टोलीले मोबाइलको प्रयोग गरेर झाडापखला लगाउने जीवाणुको सिस्ट(अण्डा) हेर्न सकिने प्रविधिको विकास गरेका हुन् ।

उनीहरुको यो प्रविधि तथा अनुसन्धानबारे दुई दिनअघि ‘प्लस नेग्लेटेट ट्रोपिकल डिजिज’नामक अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएको छ ।

क्रिप्टोस्पोरिडियम र जिआर्डिया नाम गरेका दुई वटा प्रोटोजुअन परजिवीको अण्डा ‘स्मार्ट फोन माइक्रोस्कप’ प्रविधिबाट थाहा पाउन सकिने अनुसन्धानकर्ता गिरीले बताए । यी दुई जीवाणुहरु झाडापखाला लगाउने मुख्य सूक्ष्म जीवहरु हुन् ।

झाडापखालले वर्षेनी धेरै मानिसहरुको ज्यान गइरहेको सवालमा यो प्रविधिको विकासले नेपाल लगायतका अन्य मुलुकहरुमा उपयोगी हुने अनुसन्धानकर्ता न्यौपानले बताए । उपप्राध्यापक न्यौपानले भने,‘यो प्रविधिलाई हामीले स्वास्थ्य क्षेत्रमा लगाउन खोजेका हौं ।’

तरकारी तथा सलादहरुमा धेरेबेरसम्म नधुनाले त्यहाँ हुने जीवाणुहरु रहन सक्ने सम्भावना धेरै हुने अनुसन्धानकर्ता रेटिना श्रेष्ठको भनाइ छ । उनले भनिन्,‘हाम्रो जस्तो मुलुकहरुमा सानो जीवाणु हेर्ने माइक्रोस्कप किन्न धेरै महँगो पर्छ तर एउटा सानो लेन्सको मद्दतबाट हामी मोबाइलकै माध्यमबाट परजिवी थाहा पाउन सक्छौं ।’

०००

प्रतिष्ठानको सेन्टर फर एनालिटिकल साइन्सेस विभागमा कार्यरत गिरीका अनुसार अनुसन्धानको मुख्य फोकस भनेको कम खर्चमा सजिलोसँग प्राविधिको विकास गर्नु हो । उनले भने,‘हेर्दा सामान्य लाग्छ । ए,मोबाइलमा लेन्स रोखर त बनाउन सकिहालिन्छ भनेर पनि मानिसहरुले भन्न सक्छन् । तर यो प्रविधि त्यस्तो हैन । यसका लागि विभिन्न प्रोटोकल्स र प्रोस्युडरहरु छन् ।’

उनले स्मार्ट फोनको प्रयोग भइरहको परिपेक्षमा यसैलाई वैज्ञानिक उपकरणको रुपमा प्रयोग गर्न सक्नु अनुसन्धानको अर्को ध्येय रहेको बताए । उनले भने,‘यो भनेको स्मार्ट फोन माइक्रोस्कोपको विकास हो । यो माइक्रोस्कोपलाई झाडापखला लगाउने जीवाणुको ‘सिस्ट’ डिटेक्ट गर्न सक्ने प्रविधि हो ।’

०००

झाडापखला लगाउने यी जीवणुहको सिस्टहरु ४ देखि १२ माइक्रोनसम्मका हुन्छन् । ‘लेन्स धेरै नै सानो हुन्छ र क्यामेरमा टाँस्न सजिलो पनि हुन्न । क्यामेरा र लेन्सको दूरी कति राख्ने,कुन लेन्स प्रयोग गर्ने,सिस्ट हो कि हैन,त्यसको साइज कत्रो छ भन्ने कुरा प्रोटोकलमा उल्लेख हुन्छ,’ न्यौपानले भने । हाल यो प्रविधिको प्याटेन्ट दर्ताका लागि आफूहरु लागि परेको उनले सुनाए ।

फोनको क्यामेरामा लेन्स जोडिएर हेर्ने पाइने भएपछि कतिपय विधि तथा प्रक्रियाहरु प्याटेन्ट दर्ता गरेपछि मात्रै सार्वजनिक गर्न मिल्ने उनले बताए । प्याटेन्ट दर्ता नगरी यसलाई व्यवसायीकरण गर्न नसकिने उनको भनाइ छ । यूएस एड्को आर्थिक सहयोगमा गरिएको यो अनुसन्धानबाट निर्मित प्रविधिको प्रयोग गरे ब्लड स्याम्पको एनालाइस पनि गर्न मिल्ने न्यौपानेले बताए ।

सबैभन्दा पहिला अनुसन्धानकर्ताहरुले झाडापखला लगाउने क्रिप्टोस्पोरिडियम र जिआर्डिया पानी र तरकारीमा पहिचान गरेका थिए । उनीहरुले यसका लागि मोबाइलको क्यामेरामा १ एमएमको बल लेन्स जोडे । त्यसपछि तरकारीको नमुनाहरु जीवाणु हेर्नका लागि विशेष किसिमको ‘प्रक्रिया’ विकास गरे । अनुसन्धानकर्ता गिरीले भने,’हामीले हेर्न खोजेको भनेको नमुना हेर्ने प्रक्रियामा इनोभेसन गरेका हौं । ‘

उपत्यकाका विभिन्न स्थानबाट ल्याइएका १९६ वटा तरकारीका स्याम्पल र विभिन्न स्रोतबाट ल्याइएका पानीका १६ वटा नमुनाहरु परीक्षण गरिएको अनुसन्धानमा संलग्न प्रतिष्ठानकी अनुसन्धानकर्ता श्रेष्ठले बताइन् ।

उनले भनिन्,‘त्यसपछि हामीले ल्याबमा यो स्मार्ट फोन माइक्रोस्कोपको सहयताबाट तरकारी र पानीको परीक्षण सुरु गरेर जीवाणुहरु भेट्यौं ।’हेर्दा सामान्य जस्तो लागे पनि विभिन्न प्राटोकल्सहरु भने धेरै रहेको श्रेष्ठले सुनाइन् । यो प्रविधिको प्रयोग गर्नालई फोन बाहेक १५ डलर जति खर्च लाग्ने उनले बताइन् ।

उक्त प्रविधिको प्रयोगबाट परीक्षण गरिएका १९६ वटा तरकारीका नमुनाहरुमध्ये ४० प्रतिशतमा परजिवि भेटिएको थियो । नमुना परीक्षणका लागि टमाटार, खोर्सानी, मूला, बन्दाकोपी,कांक्रो,गाँजर र सागहरु लिइएको थियो । यस्तै ३० प्रतिशत पानीमा यी जीवाणुहरुको ‘सिस्ट’ भेटिएको अनुसन्धानकर्ता न्यौपानेले बताए ।

उनी भन्छन्,‘हामीले खाने सलादमा जीवणु छ कि छैन भनेर मोबाइलबाट थाहा पाउन सकिन्छ । यसले हाम्रो स्वास्थ्यलाई पनि फाइदा पुर्‍याउछ ।’

हाल नेपालका अस्पतालहरुमा माइक्रोस्कोपिक विधिबाट झाडापखला लगाउने परिजिवी पत्ता लगाइएपनि यो प्रविधिको व्यवसायीकरण गरिने हो एउटा माध्यमिक तहको विज्ञान शिक्षकले प्रयोग गर्न सक्ने अनुसन्धानकर्ता गिरको भनाइ छ । उनले भने,‘नेपालका अहिले पनि धेरै स्वास्थ्य चौकीहरुमा माइक्रोस्कोप छैनन् । त्यस्तो अवस्थामा मोबाइल फोनलाई माइक्रोस्कप बनाउन सकिन्छ । अझ स्मार्ट फोनमा त स्किृनमै देखिन्छ ।’

यसको उपयोग सर्वसाधरणले प्रयोग गर्न नसकेपनि विद्यालय तहका शिक्षकहरुले राम्रोसँग प्रयोग गर्न सक्ने अनुसन्धाकर्ताहरुको भनाइ छ । यो प्रविधिलाई एप्ससँग विकास गरेर जीवाणु पत्ता लगाउनका लागि अझ सजिलो बनाउने योजना पनि भइरहको उनीहरुको भनाइ छ ।

गिरी र न्यौपाने दुवै १० वर्षसम्म अमेरिकामा बायो मेडिकल इन्जिनियरिङको अनुसन्धानमा काम गरेका युवा वैज्ञानिक हुन् । दुवै जनाले रसायनशास्त्रमा पीएचडी गरेका हुन् । रेटिना भने नेदरल्यान्डबाट बायो टेक्नोलोजीमा डिग्री सकाएर अनुसन्धानमा संलग्‍न छन् । यो अनुसन्धानमा त्रिचन्द्र कलेजमा वातावरण विज्ञानमा स्नातक गरिरहेका विद्यार्थी सिमक्षा पोखरेल,कोरियाबाट मेडिकल साइन्समा विद्यावारिधी गरेका सञ्जिव वाग्ले पनि संलग्‍न छन् । यो प्रविधिको परिकल्पनाकार गिरी र न्यौपाने रहेको अनुसन्धानकर्ता श्रेष्ठले बताइन् ।

इकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close