प्रदेश नम्बर २ का एकमन्त्री, प्रदेशसभा सदस्य र जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारी समेतमा कोरोना पुष्टि

प्रदेश नम्बर २ का एक जना मन्त्री र एक जना महिला प्रदेशसभा सदस्य कोरोना संक्रमित भएको छ भने जनकपुरधाम उपमहानगरपालिकाका २ कर्मचारी र नगरप्रमुख लालकिशोर साहका परिवारजनमा समेत कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव र प्रदेश सभा सदस्य डा.रिना यादवमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको आन्तरिक मामिला तथा कानुनमन्त्री यादवले बताए । गत साउन १८ गते काठमाडौंबाट फर्केर १९ गते स्वाब संकलन गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको उनले बताए । सँगैै, उहाँले आफूमा संक्रमण पुष्टि भए पनि डराउन पर्ने आवश्यकता नरहेको बताए । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परिक्षण गराउन सबैसँग अपिलसमेत गरे । उहाँ अहिले मन्त्रालयको निवासमै क्वारेन्टिनमा बसिरहनु भएको छ ।

मन्त्री यादवको ट्राभल्स हिस्ट्री यस्तो छः
आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले कोरोना संक्रमणको रिपोर्ट आउनु पूर्व काठमाडौँमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रहरी महानिरीक्षक समेतलाई भेटघाट गरेका थिए ।
मन्त्री यादव आइतबार काठमाडौँबाट आउनुअघि देशका शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए ।
मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी भई देशकै शीर्ष नेताहरूसँग भेटघाट भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा (बादल), ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार, प्रहरी महानिरीक्षक लगायतसँग भेटघाट भएको उनले बताए ।

जनकपुरधाम उपमहानगरपालिकामा कोरोना
त्यस्तै जनकपुरधाम उपमहानगरका जनकपुरधाम उपमहानगरपालिकाका २ कर्मचारीसहित ५ जनाको कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आएको छ । प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षण पछि रिजल्ट पोजेटिभ आएको जनकपुरधाम उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश रायले बताए । ५ जनामध्ये ३ जना नगरप्रमुखका परिवारका सदस्य हुन् ।
संक्रमितहरू जनकपुरधाम उपमहानगर अन्तर्गतको पर्यटन शाखा र प्रशासन शाखामा कार्यरत २४ तथा ४४ वर्षीय कार्यालय सहयोगी रहेको उनले बताए । उपमहानगरमा कार्यरत दुवैजना कर्मचारी संक्रमित भएपछि सबै कर्मचारीको स्वाब संकलन गरी तत्काल पीसीआर परीक्षण हुने रायले जानकारी दिए ।
त्यस्तै, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साहका छोरा, छोरी र ज्वाइँमा समेत कोरोना रिपोर्ट पोजेटिभ आएको उपमहानगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close