
कुनै पनि व्यक्तिलाई कुरूप बनाउने वा अङ्गभङ्ग बनाउने उद्देश्यले उसको शरीमा एसिड छ्यापिने गरेको विज्ञहरु बताउँछन्। विभिन्न देशका घटनालाई हेर्ने हो भने एसिड सामान्यतया व्यक्तिको अनुहारमा छ्याप्ने गरिएका घटना बढी छन्। एसिड आक्रमणका घटनाबाट पुरुषको तुलनामा महिलाहरु धेरै पीडित हुने गरेका छन्। नेपालमा भएका एसिड आक्रमणका घटनालाई हेर्ने हो भने पुरुषको तुलनामा महिला धेरै बढी पीडित छन्।
एसिड आक्रमण विश्वका धेरै देशमा हुने गरे पनि दक्षिण एसियामा यस्ता घटना धेरै हुने गरेका छन्। पछिल्लो समय यसको प्रभाव नेपालमा बढ्दो देखिएको छ। एसिड आक्रमण घटना बढिरहेका छन्। केही समय अगाडि महिलाहरुमा हुने गरेपनि एक वर्ष यता पुरुषमा समेत एसिड आक्रमण भएको छ। एसिड आक्रमणबाट हुने दिर्घकालीन समस्यामा अन्धोपन, शरीर वा छालामा कहिले नमेटिने खाटा बस्ने तगायतका विभिन्न शारिरिक समस्या देखिने चिकित्सक बताउँछन्।
एसिड आक्रमणपछिको उपचार प्रक्रिया र स्याहार सुसारका बारेमा प्लास्टिक सर्जन डा. शंकरमान राईसँग गरिएको कुराकानीः
१. सामान्य जलेको र एसिडले जलेको घाउमा केही भिन्नता हुन्छ वा हुँदैन? हुन्छ भने कस्तो हुन्छ?
अलिकति फरक हुन्छ। एसिडले जलेको सुरुमा एकदमै ‘पेनफूल’ हुन्छ। एसिड केमिकलै केमिकलबाट बनेको हुन्छ। शरीरमा एसिड पर्ने बित्तिकै आधा घण्टासम्म पानी राख्ने हो भने यसको असर धेरै कम हुन्छ। एसिडले धेरै असर पर्ने भन्दा पनि यसबाट बनेको घाउ धेरै गहिरोसम्म जान सक्छ। बिस्तारै घाउ गहिरो हुँदै गयो भने अङ्गभङ्ग हुने वा शरीरका विभिन्न अंगहरु जान सक्छन्। नत्र त अरु वर्न जस्तै नै हो।
२. जलेको व्यक्तिको उपचार र स्याहारका लागि कस्तो सावधानी अपनाउनु पर्छ?
अन्य वर्न र यसको उपचार उस्तै उस्तै नै हो। छाला मरेको छ भने त्यसलाई निकाल्नु पर्छ। छाला निकालेको ठाउँमा फेरि अर्को ठाउँको छाला निकालेर राख्नु पर्छ। स्याहार सुसार अन्य विरामीलाई जस्तै गर्नु पर्छ। उनीहरुलाई सफा ठाउँमा राख्ने, समय समयमा ड्रेसिङ गर्ने, खाना खुवाउने, समयमा औषधी लगाउने वा सेवन गर्ने गर्नु पर्छ।
३. निको हुन कति समय लाग्छ?
निको हुने कुरा उपचार हेरेर हुन्छ। हामीले विरामीको कति छिटो शल्यक्रिया गर्न सक्छौँ, यसमा पनि भर पर्छ। घाउको प्रकृति हेरेर हुन्छ। कति धेरै जलेको हो, यसमा भर पर्छ। जस्तो कोही व्यक्ति ५० प्रतिशत भन्दा माथि जलेको छ भने उसलाई बचाउन नै गाह्रो हुन्छ। यसरी जलेको व्यक्तिको छाला पुग्दैन। जसले गर्दा त्यसरी जलेका व्यक्तिलाई बचाउन गाह्रो हुन्छ।
एसिडले जलेर बनेका खाटा हराउँछ वा हराउँदैन?
घाउ कति गहिरो छ, त्यसमा भर पर्छ। घाउ गहिरो छ भने खाटा जाँदैन। अलिअलि बाहिर–बाहिरको छालामात्र जलेको हो भने केही समय पछि त्यो हराएर जान्छ।
जलेपछि चरणवद्ध रुपमा उपचार गर्नुपर्छ होला? यसको लागि कसरी अगाडि बढ्नु पर्छ?
उपचार प्रक्रिया लामो हुन्छ। पूर्णरुपमा ठिक हुन लामो समय लाग्छ। उपचारका क्रममा बिरामी आत्तिनु हुँदैन। मेरो उपचार लामो समयसम्म जान्छ भनेर विरामी मानसिक रुपमा तयार हुनुपर्छ। धेरै क्षति भएको छ भने विस्तारै एक–एक गर्दै शल्यक्रिया गर्नु पर्ने समेत हुन सक्छ। एक ठाउँको छाला काटेर राख्नु पर्ने हुन्छ।
एसिडले पोलिहाले लगत्तै क्षति हुन नदिनका लागि के गर्नु पर्छ?
पानी। जति सक्यो त्यति धेरै पानीको प्रयोग गर्ने वा एसिडले पोलेको ठाउँमा पानी छम्केको छर्केको छर्क्यै गर्नुपर्छ। सम्भव छ भने आधा घण्टासम्म जलेको व्यक्तिलाई धारामा राखिदिनु पर्छ। पानीमा राख्दा दुखाइ पनि कम हुन्छ। घाउ गहिरो हुन पाउँदैन। घाउ गहिरो हुन पाएन भने हामी सामान्य उपचर गरेर ड्रेसिङ गर्दै निको बनाउन सक्छौँ। तर घाउ गहिरो भएको खण्डमा शल्यक्रिया नै गर्नु पर्ने हुन्छ। घाउ गहिरो भयो भने छाला तलबाट पलाएर आउन सक्दैन। र, अर्को ठाउँको छाला लगेर राख्नु पर्ने हुन्छ। गहिरो भएन भने तलबाट फेरि बाँकी छालाबाट आफैँ पलाएर आउँछ।