
सरकारले बुधबार काठमाडौंको दशरथ रङ्गशालामा आयोजित भव्य समारोहबीच नेपाल भ्रमण वर्ष २०२० को औपचारिक सुरुआत गरेको छ। एक वर्षमा विश्वका विभिन्न मुलुकबाट २० लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ सुरु गरिएको यस महाअभियान सफल बनाउन सरकारको स्वायत्त निकाय नेपाल पर्यटन बोर्डले विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ।
नेपाल पर्यटन बोर्डले पर्यटकले लागि घुम्नैपर्ने चर्चित १० स्थानको नाम सिफारिस गरेको छ, जुन यस प्रकार छन्ः
१. सगरमाथा क्षेत्र
विश्वकै सबैभन्दा अग्लो सगरमाथा संसारकै लागि आकर्षणको केन्द्र हो। सगरमाथा आरोहणको लागि विश्वकै गन्तव्य भएजस्तै यस क्षेत्रमा ट्रेकिङको लागि पनि प्रसिद्ध छ।
नेपालको उत्तरी क्षेत्रमा पर्ने यो क्षेत्र विश्वकै भव्य हिउँ क्षेत्र, आइसफल, उच्च हिमाल, गहिरा खोँचका साथै स्थानीयबासिन्दाको कला संस्कृति आकर्षण केन्द्र हुन्।
शेर्पा गाउँ, कलासंस्कृति, बुद्धिष्ट लामा र मंकहरू रहेको यस ठाउँमा आध्यात्मिक अनुभव गर्न सकिन्छ। सगरमाथा वेस क्यापसम्म पुग्न काठमाडौंदेखि लुक्लासम्मको हावाइयात्रा गर्न सकिन्छ भने ट्रेकिङ गर्न मन पराउनेहरूका लागि जिरी हुँदै सोलुका पहाडबाट त्यहाँ पुग्न सकिन्छ।
सगरमाथामा हेर्ने र रमाउने थुप्रै ठाउँ र विषयवस्तु छ। जस्तो कि नाम्चे बजार, तेङ्बोचे, गोक्यो भ्याली, खुन्दे र खुम्जुङ, एभरेष्ट वेसक्याप छन्।
२. डोल्पो
डोल्पो ट्रेकिङको लागि परिचित ठाउँ हो जहाँ उपत्यका र शेइ गोम्पा जस्ता पुराना मन्दिरको लागि परिचित छ। शे-फोक्सुन्डो ताल, लामबद्ध हिड्ने याकसँगको जम्काभेट, उच्च पहाडमा बस्ने स्थानीयको रहनसहन यस क्षेत्रको आकर्षकण हो। डोल्पो अर्को एउटा संसार हो।
ओस्कार नोमिनेसनमा परेको क्याराभान फिल्म सुटिङ भएको यो क्षेत्र प्राकृतिक सुन्दरताको लागि प्रख्यात छ। एड्भेन्चर ट्रेकिङको लागि यो एक गन्तव्य हो।
३ हजार ६ सय ६० देखि ४ हजार ७० मिटरसम्म अग्लो रहेको यो क्षेत्रमा बुद्धिष्टहरू बस्छन्। उनीहरूले परम्परादेखि नै तिब्बतसँग व्यापार गर्छन। यस क्षेत्रमा १३० गोम्पा छन्।
३. चितवन राष्ट्रिय निकुञ्ज
वन्यजन्तुको अनुभव लिनको लागि चितवन राष्ट्रिय निकुञ्ज उपयुक्त ठाउँ हो। बंगाल चितुवा, एक सिंगे गैडा, हात्तीलगायतका जनावरको अवलोकन गर्न यो निकुन्ज प्रख्यात छ।
जङ्गल सफारीको लागि यो निकुन्जमा जान सकिन्छ। हात्ती सफारी र जीप सफारी गर्दै जङ्गलको बीचभागमा पुगेर अवलोकन गर्न सकिन्छ। जङ्गलको बीचबाट बगिरहेको नदीमा गोही अवलोकन गर्न सकिन्छ। तपाईंहरू हात्ती र गोही उत्पादन केन्द्रमा पनि अवलोकन गर्न सक्नुहुन्छ।
तपाईं यस निकुन्ज घुम्नको लागि सौराहामा बस्न सक्नुहुन्छ। जहाँ प्रसस्त रिसोर्टहरू रहेका छन्। यस क्षेत्रमा वन्यजन्तुमा मात्र होइन, स्थानीय थारु परम्परा, संस्कृति, खाना, भेषभुषाको अवलोकन पनि गर्न सक्नुहुन्छ।
४. लुम्बिनी
पश्चिम रूपन्देहीमा रहेको लुम्बिनी मुलुककै एक उत्कृष्ट गन्तव्यस्थल हो। लुम्बिनीलाई गौतम बुद्धको जन्मस्थल भनेर संसारले चिन्दछ। बुद्धको जन्मस्थल हेर्न भनेर संसारभरका पर्यटक आउने ठाउँ हो। बुद्ध धर्म मान्नेहरूका लागि यो धार्मिकस्थल पनि हो।
लुम्बिनीमा तपाईंले २५ वटा बौद्धगुम्बा घुम्न सक्नुहुन्छ। यि बौद्धगुम्बा विभिन्न देशहरूले निर्माण गरेका हुन्। भियतनामदेखि चीन, जापान, श्रीलंका, म्यानमार, जर्मनी फ्रान्ससम्मले गुम्बा बनाएका छन्।
लुम्बिनी गार्डेन भित्र रहेको मायादेवी मन्दिर यहाँको मुख्य आर्षणको रूपमा मानिन्छ, किनभने ‘यहाँ नै सिद्धार्थ गौतम बुद्धले पृथ्वीमा पाइला टेकेको ठाउँ हो’ भन्ने छ। यो २ हजार २ सय वर्ष पुरानो मन्दिर हो।
नजिक कै रहेके अशोकस्तम्भ पनि विश्वभर परिचित छ। सिद्धार्थ जन्मेपछि आफ्नो पहिलो सात पाइला हिडेर उक्त अशोकस्तभ रहेको ठाउँ पुगेर विश्वलाई शान्तिको सन्देश दिएको भन्ने मान्यता छ।
५. कुमारी
कुमारीलाई विश्वकै जिवित देवीका रूपमा लिइन्छ। नेवारी संस्कृतिअनुसार जिवित देवीका रूपमा कुमारी राख्ने चलन १७ औं शताब्दीदेखि मल्लकालीन समयबाट सुरु भएको हो। काठमाडौंका स्थानीयबासिन्दाका रूपमा रहेका नेवारहरूको यो संस्कृति मुलुककै पहिचान बनेको छ। जसको प्रचार विश्वभर भइरहेको छ।
कुमारी राख्ने चलनमा धेरै मान्यता रहँदै आएका छन्। यसका संस्कृति र परम्परागत रूपमा जे–जस्तो मान्यता रहेपनि यो नेपाल आउने पर्यटकको लागि रुचीको विषय हो। कुमार रहने तलेजु मन्दिर पर्यटकीय क्षेत्रको रूपमा परिचित छ।
६. गोक्यो भ्याली
गोक्यो भ्याली नेपालको एक सुन्दर ठाउँ हो। जुन उत्तरी हिमालको खुम्बु क्षेत्रमा पर्छ। यो प्राकृतिक सुन्दरताको एक नमुना हो। यस क्षेत्रमा हिउँदको बेलामा देखिने याकको चरन र यहाँ रहेका विभिन्न खालका तालतलैयाले मन नै लोभ्याउने गर्छ।
एभरेष्ट वेस क्याम्प जाने पर्यटकले लागि थप पाँच दिनको समय छुट्याएर गोक्यो भ्याली जाने गर्छन्। यो भ्यालीमा दुईवटा ट्रेकिङ पास पर्छन्। एक चोला पास जुन खुम्बु भ्याली जान प्रयोग गरिन्छ भने रेन्जोला पास जुन थामे र नाग्पाला पासलाई जोड्छ।
७. कोपान बौद्ध गुम्बा
कोपान गुम्बा तिब्बतीय बौद्धधर्मालम्बीहरूका लागि प्रख्यातस्थल हो। हरेक वर्ष हजारौं विदेशी पर्यटकहरू ‘बुद्धिजम’को अध्ययन गर्न र मेडिटेसनको लागि यो ठाउँ आउने गर्छन। काठमाडौंको बौद्ध हुदै यस गुम्बामा जान सकिन्छ।
यो गुम्बा लामा थुब्तेन येशेले स्थापना गरेका हुन। सन् १९८४ मा उनको निधन भएको थियो। यो गुम्बामा ‘डिस्कोभरी बुद्धिजम’ भन्ने श्रृंखलात्मक आध्यामिक कार्यक्रम समेत रहेको छ। त्यस्तै, विभिन्न खालका छोटो कोर्षहरू पनि छन्। जसबाट मेडिटेसन,, तिब्बतीय औषधि, थान्कालगायतका विषयमा अध्ययन गर्न पाइन्छ।
८. तानसेन पाल्पा
पाल्पाको तानसेन पर्यटकको लागि अर्को गन्तव्यस्थल हो। पाल्पामा बसको यात्रा गरेर सजिलै पुग्न सकिन्छ। यो एक पुरानो सहर हो जहाँ पुरानो कलासंकृतिको आनन्द लिन सकिन्छ।
पुरानो नेवारी बस्ती, बजारको पुरानो शैलीका गल्ली पर्यटकको लागि नयाँ नौला लाग्नसक्छ। अध्ययन र विभिन्न भनाइअनुसार काठमाडौंका नेवार व्यवसायीहरू व्यापारको लागि तानसेन पुगेको र उनीहरूले नै नेवार कलासंस्कृति भित्र्याएका हुन्।
तानसेन नेवार संस्कृतिको लागि परिचित भए पनि यो मगर जातिको वासस्थल हो। यहाँबाट नै मगर भाषा फैलिएको मान्यता छ। साथै, तानसेन शब्द नै मगर भाषाबाट आएको हो जसको अर्थ ‘उत्तरी वासस्थान’ हो।
श्रीनगर, रानी महल, कालीगण्डकी नदी यस क्षेत्रका थप आकर्षणस्थल हुन्।
९. तेङ्बोचे गुम्बा
खुम्बु क्षेत्रमा रहेको तेङ्बोचे गुम्बा नेपालकै सबैभन्दा प्रख्यात बौद्धगुम्बा हो। यस खुम्बुमा गुरु रिन्पोचे बस्थे र क्षेत्रमा जाने धर्मालम्बीको लागि आकर्षणस्थल थियो।
हरेक वर्षको अक्टोबर महिनामा यस गुम्बामा मानी रिम्दु पर्व मनाइन्छ। यो बुद्ध धर्मालम्बीहरूको चाड हो, जहाँ विभिन्न गीतसंगीत, परम्परागत नाचसहित मनाइन्छ।
सगरमाथा क्षेत्रको यात्रा गर्नेहरूको लागि यो एक ट्रेकिङ रुट पनि हो।
१०. रारा राष्ट्रिय निकुञ्ज
रारा ताल विश्वप्रख्यात पर्यटकीय स्थल हो। विश्वका पर्यटकको लागि सधै आकर्षणस्थलको रूपमा रहेको यो ताल २ हजार ९ सय ९० मिटर अग्लो स्थानमा रहेको छ।
रारा राष्ट्रिय निकुञ्जमा पर्ने यो क्षेत्र हरियाली र सुन्दर रहेको छ। राराको सुन्दर दृश्य अवलोकनबाहेक स्वच्छ पानीमा बोटिङ गर्न, पहाडमा ट्रेकिङ गर्न, स्थानीय बासिन्दासँग कुराकानी र रहनसहन बुझ्न र वरिपरी घुमिरहन चराचुरुङ्गीको अवलोकन गर्न सकिन्छ, यस क्षेत्रमा।
रारा राष्ट्रिय निकुञ्जमा ५ सयभन्दा धेरै प्रकारका फूलहरू, २० प्रकारका स्तनधारी जनावर, २ सय १४ प्रकारका चराहरू पाइन्छ। साथै, रेड पाण्डा, हरिण, हिमाली कालो भालु, चितुवा, ब्वाँसो, हिमाली थार, जङ्गली कुकुर, लङ्गुरलगायतका थुप्रै जनावर यस क्षेत्रमा पाइन्छन्।