रंगशाला बाहिर पत्रकारको धर्ना ,समापन बहिस्कार गर्ने चेतावनी

काठमाडौं– दशरथ रंगशालामा साग फुटबल भइरहँदा पत्रकारहरुले रंगशालाबाहिर धर्ना दिएका छन्। राष्ट्रिय खेलकुद परिषदको मुख्य प्रवेशद्वारनजिकै तस्बिर लिने क्रममा मंगलबार प्रहरीले नागरिक दैनिकका पत्रकार सुमन चापागाईंमाथि कुटपीट गरेको विरोधमा पत्रकारले रंगशालाबाहिर प्लेकार्डसहित धर्ना दिएका हुन्।

उनीहरुले रिपोर्टिङका क्रममा पटक–पटक दुर्व्यवहार गरेको भन्दै सागको समापन समारोह बहिस्कार गर्ने चेतावनी दिएका छन्। उनीहरुले नेपाल र भुटानबीचको पुरुष फुटबलको फाइनल खेल बहिस्कार गरेको पनि बताएका छन्।

दशरथ रंगशालाबाहिर टिकट किनेर आएका दर्शकमाथि प्रहरीले कुटपिट गरिरहेको तस्बिर खिच्ने क्रममा प्रहरीले पत्रकार चापागाईंमाथि कुटपिट गरेको थियो। दक्षिण एसियाको सबैभन्दा ठूलो खेलमेलाको समाचार संकलन गर्न गएका पत्रकारमाथि गरिएको दुर्व्यवहारले नागरिक अधिकारका साथै निर्वाध रुपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने न्युनतम लोकतान्त्रिक अधिकारको समेत हनन भएको खेल पत्रकार मञ्चले उल्लेख गरेको छ।

नेपाल पत्रकार महासंघले पनि विज्ञप्ति जारी गरी पत्रकार सुमन चापागाईंमाथि प्रहरीले कुटपिग गरेको घटनाको विरोध गरेको छ। पत्रकारमाथि प्रहरी अधिकारीकै नेतृत्वमा प्रहरीले गरेको ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको महासंघले बताएको छ ।

‘महासंघ प्रहरीबाट भएको यो ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्न प्रहरीमाथि कानुनी कारबाही गर्न र प्रेसको संवैधानिक अधिकारको सम्मान गरी पत्रकारलाई निर्वाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछु’ महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close