
अमेरिकासँग तनाव बढ्दै गएपछि चीनले सैन्य अभ्यासमा व्यापक वृद्धि गरेको छ।
जुलाई महिनामा अमेरिकाले दक्षिण चीन सागरमा दुई पटक दुई वटा विमानवाहक युद्धपोत पठाएर शक्ति प्रदर्शन गरेपछि चीनले पनि सैन्य अभ्यासको संख्या बढाएको हो।
पछिल्लो समय अमेरिका र चीनबीचको दुश्मनीमा निरन्तर वृद्धि भइरहेको छ। केही समयअघि दुई देशले ह्युस्टन र छेन्दुमा रहेका एकअर्काका वाणिज्य दूतावास बन्द गर्ने निर्णय गरेका थिए।
यसैसाता चीनलाई चिढ्याउँदै अमेरिकी स्वास्थ्यमन्त्री एलेक्जा अजार ताइवान भ्रमणमा गएका छन्। सन् १९७९ मा चीनसँग कूटनीतिक सम्बन्ध गाँसेपछि ताइवान भ्रमण गर्ने उनी सबैभन्दा उच्च अमेरिकी अधिकारी हुन्।
त्यसको प्रतिक्रियास्वरुप सोमबार बिहान चीनले आफ्ना लडाकु विमान ताइवाननजिक समुद्रमाथि पठाएको थियो। ताइवान जलसन्धिको मध्यभागलाई दुवै पक्षले अनौपचारिक सीमा मान्दै आएका छन्। सन् १९९९ यता सोमबार चिनियाँ विमानले तेस्रो पटक मात्रै सो भाग पार गरेको बताइएको छ।
पछिल्ला दिनमा दक्षिण चीन सागर, ग्वाङदोङ प्रान्त, फुजियान प्रान्तलगायतमा पनि चिनियाँ सेनाले अनेक प्रकृतिका अभ्यास गरेको छ।
पछिल्ला दिनमा भारतसँग लद्दाखमा तनाव बढेसँगै हिमाली क्षेत्रमा पनि चीनले सैन्य गतिविधि बढाएको छ।
यसैसाता थप सैन्य अभ्यास आयोजना गरिने पनि चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। एजेन्सी नेपाल खबरबाट