कर्णालीका मुख्यमन्त्री र मन्त्रीहरु विद्यालयको खर्चमा हेलिकप्टरको यात्रा

हुम्ला , १९ मंसिर । अनावश्यक खर्च कटौती गर्दै मितव्ययी बन्ने घोषणा गरेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले नै विद्यालयको खर्चमा हेलिकप्टरको यात्रा गरेको पाइएको छ । दुर्गमका विद्यालय बजेट अभावमा आवश्यक शिक्षकको दरबन्दी र पूर्वाधार अपुग भइरहँदा मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल हुम्लाको एक विद्यालयको उद्घाटन गर्न सोही विद्यालयको खर्चमा बिहीबार नेपाली सेनाको हेलिकोप्टरको यात्रा गरेका हुन् ।

ताँजकोट गाउँपालिका–४ स्थित चन्द्रप्रकाश माध्यमिक विद्यालय हुम्लाको शिलान्यास गर्न मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावल विद्यालयकै खर्चमा हेलिकप्टरको यात्रा गरेको स्रोतले जनाएको छ । कर्णालीपत्रलाई प्राप्त जानकारी अनुसार मुख्यमन्त्री र मन्त्रीको भ्रमणमा सोही विद्यालयको ३ लाख र ताँजकोट गाउँपालिकाको १ लाख ५० हजार गरी चार लाख ५० हजार रुपैयाँ नेपाली सेनाको हेलिकप्टरलाई भुक्तानी दिइएको छ । विद्यालयको रकम भुक्तानी गररे हेलिकप्टरको यात्रा गरेका मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावल हुम्ला र मुगुका विभिन्न स्थानमा पुगेका थिए ।

विद्यालयको नमूना भवनको शिलान्यास गर्न प्रदेशका मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावल आउने भएपछि हेलिकोप्टरको भाडा वापत उक्त रकम तिरिएको विद्यालय स्रोतले जनाएको छ । चालु आर्थिक वर्षको बजेटबाट प्रदेशको सामाजिक विकास मन्त्रालयको एक करोड र ताँजकोट गाउँपालिकाको २० लाख गरी १ करोड २० लाखको लागतमा विद्यालयको नमूना भवन निर्माण गर्ने योजना स्वीकृत भएको छ । स्रोत भन्छ, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का हुम्ला अध्यक्ष लालकेश जैशी र ताँजकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लको आफ्नै वडामा बन्ने उक्त विद्यालयको नमूना भवन शिलान्यास गर्न प्रदेशका मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावललाई ल्याउन हेलिकोप्टर प्रयोग गर्ने र सो रकम विद्यालय र गाँउपालिकाले ब्यहोर्ने योजना बनेको थियो । स्रोतका अनुसार त्यसको भाडा विद्यालयको भवन निर्माणमा बिनियोजन भएको रकमबाटै व्यवस्थापन गर्ने सहमति भएको थियो । ‘हेलिकोप्टरको भाडाका लागि विद्यालयको आन्तरिक स्रोतबाट शुरुमै ३ लाख व्यवस्थापन गर्न भनिएको थियो ।’ चन्द्रप्रकाश माध्यमिक विद्यालय स्रोतले भन्यो, ‘हामी (विद्यालय) सँग त्यस्तो कुनै स्रोत नभएको जानकारी दिएपछि, पछि व्यवस्थापन गर्ने गरी हाललाई वडा सचिवको खातामा भएको रकम प्रयोग गरिएको हो ।’

रकम भुक्तानी कसरी भयो ?

कर्णालीपत्रलाई प्राप्त जानकारी अनुसार नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरे वापतको भाडा बुधबार अपरान्ह २ बजेर ४५ मिनेटमा ताँजकोट गाउँपालिकाका लेखा अधिकृत वृषसिंह सुनारको राष्ट्रिय वाणीज्य बैंकको खातामा ट्रान्सफर गरिएको हो । चन्द्रप्रकाश माध्यमिक विद्यालयसमेत रहेको ताँजकोट–४ का वडा सचिव विष्णुभक्त जैशीको व्यक्तिगत चेकबाट ३ लाख र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालको व्यक्तिगत खाताको चेकबाट १ लाख ५० हजार रुपैयाँ गाउँपालिकाका लेखा अधिकृत सुनारको खातामा पठाइएको हो । नेपाली सेनाको खाता जनता बैंकमा नभएकाले रकम सुर्खेतमा रहेका लेखा अधिकृत सुनारको जनता बैंक ताँजकोटमा भएको व्यक्तिगत खाता नम्बर १२९१०२०६६२५२८०१ मा बुधबार २ बजेर ४५ मिनेटमा रकम जम्मा भएको हो ।

अघिल्लो दिन भाडा बापतको रकम भुक्तानी नभए नेपाली सेनाले हेलिकोप्टर नउडाउने भएपछि सुर्खेतमा भएका लेखा अधिकृत सुनारले जनता बैंकबाट रकम निकासा गरेका थिए । बैंकबाट रकम निकासा गरेलगत्तै लेखापाल सुनारले अपरान्ह ३ बजे नेपाली सेनाको नेपाल बैंक सुन्धारामा रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयको ००२०२००००००००६०००००१ नम्बर खातामा एकमुष्ट ४ लाख ५० हजार रकम जम्मा गरेका थिए ।

गाउँपालिका अध्यक्ष बागदल मल्लको निर्देशनमा गाउँपालिकाका कार्यालय सहयोगी धनबहादुर शाहीले उक्त रकम पठाएका हुन् । विद्यालयले सिधै रकम पठाए नैतिक प्रश्न उठ्नेतर्फ सजग बनेका गाउँपालिका नेतृत्वले त्यसबाट बच्न रकमलाई घुमाउरो तरिकाले भुक्तानी गरेको हो ।

गाउँपालिकाबाट रकम आफ्नो खातामा आएर नेपाली सेनाको खातामा जम्मा गरेका लेखापाल सुनारले स्वीकार गरे । गाउँपालिकाको बजेटलाई सुत्रमा राख्न आफू सुर्खेत आएको बताएका लेखापाल सुनारले भने, ‘एक सातादेखि म सुर्खेत मै भएकाले रकम कहाँबाट व्यवस्था गरे त्यो त थाहा छैन । पठाउन त गाउँपालिकाबाट मेरै खातामा पठाएका हुन् ।’

कुन–कुन ठाउँ गयो हेलिकोप्टर ?

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल र नेकपा हुम्लाका अध्यक्ष लालकेश जैशी चढेको नेपाली सेनाको हेलिकोप्टर सुर्खेतबाट सिधैं हुम्ला र बाजुराको सीमाना कवाडीमा अवतरण ग¥यो । त्यहाँ प्रदेश सरकारले विनियोजन गरेको १० करोडको अन्तर जिल्ला जोड्ने सडकको शिलान्यास गर्ने कार्यक्रम थियो । कवाडी–खौला–पाल्स–गुँसा हुँदै उनापानी लिने उक्त सडकको शिलान्यास मुख्यमन्त्री शाहीले एक्साभेटर चलाएर गरे । त्यसपछि हेलिकोप्टर ताँजकोट–४ गोठेबाडामा निर्माण गर्न लागिएको चन्द्रप्रकाश माध्यमिक विद्यालयको भवन निर्माणस्थलमा अवतरण ग¥यो । विद्यालयको भवनको शिलान्यास कार्यक्रम सकिएपछि नेकपा हुम्लाका अध्यक्ष जैशीको सट्टामा ताँजकोट गाउँपालिका अध्यक्ष बागदल मल्ललाई लिएर हेलिकप्टर मुगुको भट्टेचौरका लागि उड्यो । मुगु कर्णालीमा निर्माण हुने पुलका बारेमा स्थलगत अध्ययन गरेर हेलकोप्टर सुर्खेत फिर्ता भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close