दक्षिण कोरियामा बाढीका कारण ३० जनाको मृत्यु, आँधीले थप वर्षा हुने सम्भावना

सिओल-दक्षिण कोरियामा केही दिनदेखिको अत्याधिक वर्षाका कारण आएको बाढीबाट ३० जनाले ज्यान गुमाएका छन् भने १२ जना बेपत्ता भएका छन्।

गत हप्तादेखि यहाँको मनसुन सक्रिय हुँदा बाढी आएकाे हाे। आईतबारसम्ममा ३० जनाले ज्यान गुमाएको कोरियाको केन्द्रीय विपत्ति र सुरक्षा काउंटरमेजर मुख्यालयले जनाएको छ।

बाढीका कारण पछिल्ला ३ दिन यतामात्रै देशभरिमा १३ जनाले ज्यान गुमाएको र २ जना बेपत्ता रहेको मुख्यालयको तथ्यांक छ। बाढीका कारण देशभरका ११ प्रान्तमा ६ हजार परिवार घरवारविहीन भएका छन् भने ४ हजार ६ सय परिवार जोखिमकाकारण सुरक्षित स्थानमा शरण लिईरहेका छन्। बाढीले देशभर ९३ हजार हेक्टर जमिन डुबेको छ।

यसैबीच कोरियामा आएको बाढीका कारण अहिलेसम्म कुनै पनि नेपाली प्रभावित नभएको  गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले जनाएको छ।

आज आँधी आउँदै, थप वर्षाको सम्भावना 
कोरियाली प्रायद्वीपमा  आज सोमबार आउने सामुद्रीक आँधीका कारण थप वर्षा हुने भएकाले सतर्क रहन यहाँको सरकारले आग्रह गरेको छ ।

‘ताईफुन  जंगमी’ यो सिजनको पाँचौ सामुन्द्रिक आँधी हो। यसले कोरियाली प्रायद्वीपको दक्षिणी क्षेत्रमा बढी प्रभाव पार्ने बताईएको छ। आँधीपछि अत्याधिक वर्षा हुने भएकाले थप सतर्क रहन मुख्यालयले आग्रह गरेको छ।

उक्त आँधी सोमबार विहान १० बजे जेजु आईल्याण्डमा आईसकेको र दिउँसो ३ बजे सम्ममा बुसान क्षेत्रमा प्रवेश गर्ने कोरियाली मौसम विभागले जनाएको छ । आँधीपश्चात देशको मध्य भागमा १ सयदेखि २ सय  मिलिमिटर पानी पर्ने र दक्षिणी क्षेत्रमा १ सयदेखि ३ सय मिलिमिटरसम्म वर्षा हुने सम्भावना रहेको विभागले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close