गुराँस गाउँपालिकाको वडा न‌‍ ८ लाइ बालमैत्री स्थानीय शासन भएको वडा घोषणा

दैलेखको गुराँस गाउँपालिकाको ८ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । बाल श्रममुक्त, हिंसारहित, बालविवाह निषेधितको आधार तयार भएपछि गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसीले आज बिहीवार एक कार्यक्रमका बीच बालमैत्री वडा घोषणा गरेका हुन् ।

गुराँस गाउँपालिकामा बाल अधिकार सुनिश्चित गर्न बालमैत्री वडा घोषणा गरिएको यो दोस्रो वडा हो । यसअघि गुराँस गाउँपालिकाको ६ नं वडालाई २०७५ पुस १६ गते बालमैत्री वडा घोषणा गरिएको थियो । जिल्लाभरमा यो तेस्रो बालमैत्री वडा बनेको छ ।

सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले तय गरेको ५१ सूचकमध्ये ८० प्रतिशत सूचक पूरा गरेसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न सकिन्छ ।
बाल अधिकारका ‘बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता’ गरि चार वटा पक्षलाई मुख्य आधार मानेको छ । चार सय १९ घरधुरी रहेको वडा नं ८ को जनसङ्खया दुई हजार चार सय २९ रहेको वडा अध्यक्ष दिपेन्द्र वलीले जानकारी दिए ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तय गरेका सूचकमध्ये धेरैजसो सूचक पूरा गरेर बालमैत्री वडा घोषणा गरिएको वडाध्यक्ष वलीले बताए । बालमैत्री वडा निर्माणको यात्रामा वडाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको वडाध्यक्ष वलीको भनाइ छ ।

वडालाई बालमैत्री घोषणाका लागि गाउँपालिका, वडा कार्यालय, सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारीमा बालमैत्री भौतिक संरचना निर्माण, बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन भएका थिए ।

निर्देशिकाले तय गरेको ५१ वटा सूचकमा गर्भवती महिला, नवजात शिशुको स्वास्थ्य जाँच, टीटीविरुद्धको खोप, दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराएको, छ महिनासम्म अनिवार्य स्तनपान, पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खाएको हुनुपर्ने व्यवस्था छ ।

त्यसैगरी एक वर्षभित्रका बालबालिकालाई पूर्ण खोप, सबै घरपरिवारमा आयोडिनयुक्त नुन, कम तौल, पुड्को र ख्याउटेपन हुने बालबालिकाको सङ्ख्यामा कमी हुनुपर्ने, सबै घरधुरीमा खानेपानी, शौचालय, अनिवार्य जन्मदर्ता, बालविवाहमुक्त भएको हुनुपर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close