ती जनावर जो सामाजिक दुरी कायम राख्नमा माहिर छन्

एजेन्सी । ‘अमेरिकन बुलफ्रग’ प्रजातिको भ्यागुत्ता अर्को कुनै बिरामी भ्यागुता देख्यो भने सकेसम्म त्यसबाट टाढै रहने प्रयास गर्छ । त्यस्तै बगैँचामा पाइने कमिला र लब्सटर्सहरुको प्रजाति पनि आफ्नो बिरामी प्रजातिबाट दुरी बनाएर राख्ने जीवमा पर्दछन् । यसैले पनि कतिपय प्राणीहरु सामाजिक दुरी कायम राख्नमा मान्छे भन्दा माहिर हुने गरेको वैज्ञानिक अध्ययनहरुबाट पत्ता लागेको छ ।

अहिले धेरै मानिसहरुलाई सामाजिक दुरी अप्राकृतिक र असहज लागिरहेको छ तर धेरै प्रजातिका जीवजन्तुहरुले भने प्राकृतिक रुपमा यो तरिका अपनाउँदै आएका छन् । जस्तै कुनै संक्रमित जनावर नजिक आउन खोज्यो भने बाँकी सबै त्यसबाट टाढाटाढा भाग्ने गरेका छन् । उनीहरुमा प्राकृतिक रुपमै यस्तो गुण हुने गरेको अध्ययनबाट पत्ता लागेको हो ।

पछिल्ला केही दशकमा गरिएका अनगिन्ती रिसर्चहरुमा वन्यजन्तुहरुले आफूलाई जोगाउनका लागि बिरामी जीवका सामु फरक व्यवहार गर्ने गरेको पाइएको हो । वतावरण सम्बन्धी अनुसन्धानमा संलग्न वैज्ञानिक जोसेफ क्लेसेकरका अनुसार अमेरिकन बुलफ्रग ट्याडपोल्स सामाजिक दुरी राख्नमा सबैभन्दा माहिर जीव हो । यसमा क्लेसेकरलरको टोलीले एक संक्रमित भ्यागुतालाई स्वस्थ भ्यागुताहरु भएको स्थानमा लगि छाडिदिएका थिए । तर लगत्तै सबैले बिरामी भ्यागुताबाट आइरहेको केमिकलको गन्ध चाल पाएर त्यसबाट टाढा बस्ने प्रयास गरेका हुन् ।

त्यस्तै यसबाहेक बगैँचामा पाइने कमिलाहरुको प्रजातिले पनि बिरामी कमिलाका अगाडि नपर्ने गरेको पाइएको छ । यसमा संक्रमितसँग सम्पर्कमा आएका कमिला प्रायः आफैँ समुहबाट टाढा रहने गरेको समेत पत्ता लागेको हो । कमिलाहरु समुहमा बस्ने हुँदा एकबाट अर्को गरि पूरै समुहमा फैलने डरका कारण पनि उनीहरु अत्यन्तै सचेत भएर अस्वस्थ कमिलाबाट दुरी कायम राख्ने गरेको बताइएको छ ।

युनिभर्सिटी अफ फ्लोरिडाका प्रोफेसर डोनाल्ड बेहरिन्जरका अनुसार लब्सटरले पनि आफ्नो प्रजातिमा कोही बिरामी परेको पत्ता लगाएर आफूलाई त्यसबाट टाढा राख्ने गर्दछन् । उनी भन्छन्, “उनीहरुले विशेष रुपमा संक्रमित जीवको पिशाबबाट बिरामी परेको पत्ता लगाउँछन् र यसमा उक्त संक्रमित लब्सटरलाई नदेखिकनै त्यसको सामु नपर्ने प्रयास गरिरहेका हुन्छन् । ”

एपिडेमोलोजिस्टहरुले वन्यजन्तुहरुमा कसरी रोग फैलन्छ भन्ने विस्तृतमा बुझ्नकै लागि यस प्रकारका अध्ययन गर्ने गर्दछन् जसले मान्छेलाई पनि संक्रमणबाट बच्ने उपायहरु दिलाउन सक्ने डोनाल्ड बताउँछन् । जीवजन्तुहरुले यस्ता अध्ययन पढ्न सक्दैनन् तर मान्छेले यसबाट धेरै कुरा सिक्न सक्ने क्लेसेकरले बताए । सिएनएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close