पशुपति क्षेत्रमा अतिक्रमण संरचना हटाउन महानगरपालिकाको २४ घण्टे अल्टिमेटम

पशुपति क्षेत्रमा अतिक्रमणगरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ ।
महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताउनुभयो ।
उहाँले भने, “हामीलाई औपचारिकरूपमा महानगरले जानकारी दिएको छैन, तर अतिक्रमण गरिएका संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ भन्ने सुन्नमा आएको छ ।” पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक ५० हजार भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ ।
यसैगरी पशुपति क्षेत्रमा २० वटा भन्दा धेरै सटर बिना दर्ता सञ्चालन भइरहेको महानगरको निरीक्षणमा भेटिएको छ । धर्मशालाले नक्सा पास बिना नै संरचना निर्माण गरेको पाइएकाले त्यस्ता संरचना हटाइने महानगरले जनाएको छ ।
महानगरले बिहीबार अनुगमन गर्दै २४ घण्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close