ओली-दाहाल असमझदारी

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले शुक्रबार साँझ गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई बालुवाटार बोलाए। काम थियो- डीआईजी बढुवा सिफारिस कार्यसूचीमा छलफल गर्ने। गृह स्रोतका अनुसार प्रधानमन्त्री ओलीले डीआईजी बढुवा सूची मागे।

सूचीमा राष्ट्रिय सुरक्षा परिषद्मा रहेका एसएसपी गणेश ऐरको नाम नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको आग्रहमा गृहमन्त्री थापाले राख्न लगाएका थिए। दाहालले ऐरलाई पहिलो नम्बरमै राख्न भनेकामा थापाले पाँचौं नम्बरमा पारेका थिए।

गृहसचिव न्यौपाने अध्यक्ष रहेको सिफारिस समितिले तयार पारेको सूचीबाट ऐरको नाम मात्र हटाएर प्रधानमन्त्रीले बाँकी कायम राखे।

 

२४ चैतको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंक गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्ति गर्ने निर्णय गर्‍यो। दाहाल मीनबहादुर श्रेष्ठलाई गभर्नर बनाउन चाहन्थे। तर, प्रधानमन्त्रीले यो विषयमा उनीसँग कुनै छलफल नै चलाएनन्। मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिसका लागि बनाएको समितिले अधिकारीसहित डा.राजन खनाल र चिन्तामणि शिवाकोटीको नाम सिफारिस गरेको थियो। दाहालका उम्मेदवार  श्रेष्ठको नाम सिफारिसमै परेन।

चैत २ गते सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कार्यवाहक महासचिवमा गोपालनाथ योगीलाई जिम्मेवारी तोके। महासचिव मनोहरप्रसाद भट्टराईको ५ वर्षे कार्यकाल सकिएपछि योगीलाई कार्यवाहक तोकिएको हो। योगीलाई कार्यवाहक तोक्ने क्रममा पनि दुई अध्यक्षको मतैक्य भएन।

दाहालनिकट सभामुख सापकोटाले आपूmसँग सल्लाह नगरी कार्यवाहक तोकेको भन्दै ओलीनिकट मानिएका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले असन्तुष्टि जनाए। सापकोटा र तिमिल्सनाबीच द्वन्द्व नै चर्कियो। त्यति मात्र होइन, यही कार्यवाहकको विषयमा नेकपा संसदीय दलका उपनेता सुबास नेम्बाङदेखि कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाम्फेसम्मले सभामुखसँग असन्तुष्टि पोखे। नेम्बाङ र तुम्वाहाम्फे दुवै ओलीनिकट नेता हुन्।

 

प्रधानमन्त्री ओली मिर्गाैला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनु अघिल्लो दिन १८ फागनुमा बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाउने निर्णय गर्‍यो। दाहाल प्रधानमन्त्री भएका बेला नियुक्त पौड्याललाई फिर्ता किन बोलाइयो ?   यो निर्णयबारे मन्त्रीहरू नै बेखवर थिए। पौडेललाई फिर्ता बोलाउन प्रधानमन्त्रीले धेरै अघि तयारी गरेका थिए।

सधैँ मन्त्रिपरिषद् बैठकमा प्रस्ताव खोई भन्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीतिर प्रधानमन्त्रीको आँखा पथ्र्यो। पौड्याललाई फिर्ता बोलाएपछि उनको ठाउँमा ओलीनिकट पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई पठाउने निर्णय भयो। कोरोनाका कारण सिर्जित लकडाउनमा दाहालले निवासका भेटघाट बन्द गरे पनि २५ चैतको सचिवालय बैठकमा सहभागी हुन जानुअघि पौड्यालसँग अर्थपूर्ण छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीले १९ फागुनमा अस्पताल भर्ना हुन जानुअघि र फर्केपछि विभिन्न विश्वविद्यालयका रिक्त पदाधिकारी नियुक्ति गरे। कृषि विश्वविद्यालयवाहेक अन्यमा नियुक्ति भइसकेको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेल छन्, तैपनि विश्वविद्यालयका पदाधिकारी नियुक्तिका लागि पनि पूर्वमाओवादी धारले निकै ‘पापड’ पेल्नुपरेको थियो।

यी र यस्तै प्रकरणले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच दूरी बढेको छ। गत ४ मंसिरमा ओली र दाहालबीच कार्यविभाजन भएयता सम्बधमा चिसिएको छ। अझ गत २३ पुसमा उपाध्यक्ष वामदेव गौतमको निवासमा दाहालसहितका ओलीइतर बहुमत सचिवालय सदस्यहरूको भेलापछि त अध्यक्षद्वयबीच चिसिएको सम्बन्धमा सुधार हुनै सकेको छैन।

ओली पूर्वएमाले समूहभित्र खेलेर आफूलाई घेराबन्दीमा पार्न खोजेको भन्दै दाहालसँग असन्तुष्ट छन्। ओलीले सरकार सञ्चालन एकलौटी गरेको र पार्टीमा पनि आफूलाई काम गर्न असहज पार्न मात्र खोजेको दाहालको आरोप छ।

दाहालनिकट स्थायी समिति सदस्य हरिबोल गजुरेलले अन्नपूर्णसँग भने, ‘पार्टीमा प्रचण्ड (दाहाल) हाबी हुँदै जान थालेको उहाँ (ओली) हरूलाई पाच्य भएको छैन। यसले समस्या समाधान हँुदैन। छलफल र बहसबाटै निकास निकाल्नुपर्छ।’

सभामुख चयनमा ओलीको इच्छाविपरीत दाहालले आफूनिकट नेता अग्नि सापकोटालाई पार्टी निर्णय गराउनु, केन्द्रीय समिति बैठकबाट एमसीसी अध्ययन कार्यदल बनाउनु र कार्यदलले परिमार्जन नगरी एमसीसी पारित हुन नसक्ने प्रतिवेदन बुझाउनु, त्यसपछि पनि उपाध्यक्ष वामदेव गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कोटामा राष्ट्रियसभामा लैजान पार्टीमा निर्णय गराउनुमा दाहालले आपूmलाई घेराबन्दीमा पार्न खोजेको ओलीको बुझाइ छ।

दुई अध्यक्षबीच समझदारी बिग्रिएको थप दुई तथ्यले पनि देखाउँछन्। पहिलो, प्रधानमन्त्री ओलीले मिर्गाैला प्रत्यारोपण गरेर फर्केपछि गत १ चैतमा दाहाल र वरिष्ठ नेता माधव नेपालसँग बालुवाटारमा भेटवार्ता गरे। दाहालले ओलीको स्वास्थ्य अवस्थासँगै पार्टीमा देखिएको विवाद समाधानका लागि राजनीतिक कुराकानी गर्न खोजेका थिए। तर, ओलीले उनीसँग त्यसदिन खासै राजनीतिक वार्तालाप गर्न चाहेनन्। वरिष्ठ नेता नेपालसँग भने स्वस्थ्यका विषयभन्दा राजनीतिक कुराकानी ओलीले बढी नै गरेका थिए।

ओलीनिकट एक स्थायी समिति सदस्यले भने, ‘प्रधानमन्त्री दाहालले पूर्व एमाले भिडाएर पार्टीमा आफ्नो वर्चस्व राख्न खोजेको बुझ्नुभएको छ। त्यही भएर पनि उहाँ वरिष्ठ नेता माधव नेपालसँग अलिक खुल्न चाहन थाल्नुभएको छ।’

दाहालले कोरोना संक्रमणविरुद्ध जुध्न सर्वपक्षीय संयन्त्रको प्रस्ताव गरिरहँदासमेत अनिच्छा देखाएका ओलीले दाहालले किन यो बेला यस्ता विषयमा जोड गरे भन्नेमा शुक्रबार मात्रै वरिष्ठ नेता माधव नेपालसँग छलफल गरेको ओलीनिकट ती नेताले बताए। पार्टीभित्रको विवादमा ओली अहिले वरिष्ठ नेता नेपालसँग नजिकिइरहेका छन्।

दोस्रो, गत चैत ४ मा पार्टी सचिवालय बैठक बोलाउने विषयमा छलफल गर्न दाहाल बालुवाटार पुगेका थिए। त्यसदिन ओली-दाहालको छलफलमा रस्साकस्सी भएको थियो। दाहालनिकट एक स्थायी समिति सदस्यका अनुसार त्यसदिन ओलीले दाहालसँग निकै ‘टाइट’ (पेचिलो) कुरा गरेका थिए।

ओलीको भनाइ उद्धृत गर्दै ती नेताले अन्नपूर्णसँग भने, ‘के तपाई मसँग साँच्चै भिड्न खोज्नुभएकै हो ?   खास बिग्रेको तपाईं (दाहाल) लाई कार्यकारी बनाएपछि हो। हाम्रो सहमति दुइटा अध्यक्षले सहमतिमा चलाउने भन्ने थियो, केन्द्रीय समिति बैठक तपाईंले आफ्नो ढंगले चलाउनुभयो, स्थायी समिति पनि तपाईंले आफ्नै ढंगले चलाउनुभयो। अहिले पनि मलाई अप्ठ्यारो पार्न अनेक खेल रचिरहनुभएको छ। यसको परिणाम दुईवटा हो- कि अध्यक्ष एउटा हुनुपर्‍यो, होइन साँच्चै भिड्ने हो भने खुला रूपमै भिड्न पर्‍यो।’

प्रधानमन्त्री ओलीलाई दाहालको जवाफ थियो, ‘अहिले आराम गर्नुहोस्। म पनि गम्भीर भएरै कुरा गर्न चाहिरहेको छु। पहिले सुन्न र भन्न तपाईं तयार हुनहोस्। त्यसपछि मलाई खबर पठाउनुहोस्, दुई अध्यक्ष पहिला बसेर गम्भीर छलफल गरौं। म तयार छु।’

त्यसयता चैत ५ मा नेकपा सचिवालय बैठक बस्यो। त्यसपछि पनि दुईपटक ओली-दाहाल भेटवार्ता भए। तर, कोरोनाका कारण राजनीतिक विषयमा गम्भीर भएर छलफलको मौका नमिलेको स्थायी समिति सदस्य गजुरेल बताउँछन्।

मंगलबारको सचिवालय बैठकमा दुई अध्यक्षको गम्भीर संवादको आवश्यकता अन्य नेताले पनि देखेका थिए। ‘दुई अध्यक्षलाई कतिपय विषयमा छलफल गर्न हामीले सुझाएका छौं,’ वरिष्ठ नेता झलनाथ खनालले भने, ‘संवादहीनता गर्नु हुँदैन। संवाद र छलफल गर्दा राम्रो हुन्छ हामीले भनेका छौं।’

कोरोनाविरुद्ध लड्न सर्वपक्षीय संयन्त्रको कुरा यसबीच दाहालले उठाए। दुई अध्यक्षबीच यस विषयमा सामान्य छलफल पनि भयो। पछिल्लो सचिवालय बैठकमा सामान्य विषय उठे पनि त्यसमा खास कुरा सुन्न प्रधानमन्त्रीले चाहेनन्। अहिले ओलीनिकट नेताहरू दाहालको उक्त प्रस्तावको खुलेर विरोधमा उत्रिएका छन् भने दाहाल पक्षधर नेता बचाउमा।

पार्टी नेतृत्वमा सरकार रहेको र झन्डै दुई तिहाइको सरकार रहेका बेला सर्वपक्षीय संयन्त्र बेमौसमी बाजा भएको ओली पक्षका नेताको भनाइ छ। दाहालले भने त्यस्तो संयन्त्र प्रधानमन्त्रीको नेतृत्वमा बनाउने आवश्यकता महसुस गरिरहेका छन्। यो नेकपाभित्र देखिएको ओली—दाहालबीच पछिल्लो विवाद हो। प्रतिपक्षी कांग्रेसलगायत राजनीतिक दलका शीर्ष नेता सम्मिलित सर्वपक्षीय संयन्त्रको विषय उठान दाहालले गराएपछि विवाद साँघुर्‍याउने भन्दा पनि झन् बढाउने काम गरेको छ।

गत २३ पुसमा उपाध्यक्ष वामदेव गौतमको निवासमा नेकपाका बहुमत सचिवालय सदस्यको बैठकपछि ओलीका कुनै पनि भनाइमा दाहाल र दाहालको भनाइमा ओलीलाई विश्वास छैन। यी दुईका जुन कुनै प्रस्तावमा पनि अहिले एकले-अर्काेलाई शंकाका दृष्टिले हेर्न थालेका छन्।

‘पिएनको नामसमेत सिफारिस गर्न सक्ने अवस्थामा छैनन् अहिले प्रचण्ड तर सरकार उनी आफैं अध्यक्ष रहेको नेकपाकै छ,’ दाहालनिकट एक स्थायी समिति सदस्यले अन्नपूर्णसँग भने, ‘खुमलटार (दाहाल निवास) मा कोही केही काम लिएर पुगे भन्ने सूचना बालुवाटारमा पुग्यो भने उसको काम रोकियो भन्ने जाने हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close