मन्त्रीमाथि बलात्कार आरोप !

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएको आजको नागरिक दैनिकमा नगेन्द्र उपाध्यायको वाइलाइनमा समाचार छ । केही दिनअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी जाहेरी दिन गएका थिए।

‘आफूमाथि बलात्कार भएको भन्दै एक महिला र उनका पति प्रहरी कार्यालयमा आउनुभएको थियो, भिडियो पनि देखाउनुभएको थियो,’ प्रहरीका अनुसन्धान अधिकारीले भने, ‘उहाँहरूले भनेअनुसार मुद्दा दर्ता गर्ने हदम्याद कटिसकेकाले कानुन व्यवसायीसँग छलफल गरेर आउन सुझाव दिएर पठाएका हौं।’

भिडियोमा पीडित भनिएकी महिला कोठाभित्रै देखिन्छिन्। बाहिरबाट ढोका ढक्ढकाएको आवाज सुनिन्छ। महिलाले ढोका खोल्छिन्। भित्र पसेर खाटमा बस्नेबित्तिकै मन्त्री शाहीले उनलाई अँगालोमा बेर्छन्। त्यसपछि महिला रोएको देखिन्छ। मन्त्री शाही महिलालाई सम्झाउन खोजिरहेको अवस्थामा देखिन्छन्।

प्रहरीको सम्पर्कमा पुगेका पीडितले उक्त भिडियो २०७६ माघतिरको भएको बताएका छन्। जति बेला शाही प्रदेश सांसदमात्रै थिए। प्रहरीसम्म यो घटना ढिलो गरी पुग्नुमा पीडितले तत्कालीन सांसद एवं हालका मन्त्री शाहीसँग ‘रकमको बार्गेनिङ’ गरेको अनुमान गरिएको छ। रकममा कुरा नमिलेपछि बल्ल प्रहरीमा पुगेको आशंका छ।

प्रहरीले कानुन व्यवसायीसँग छलफल गरी आउन भनेका पीडित महिलाका पति गत शुक्रबार मध्यरातमा भेरी पुलमा कुटिएको घटनाबाट प्रहरी गम्भीर बनेको छ। पीडित महिलाका अनुसार उनका पतिलाई मन्त्रीका स्वकीय सचिव प्रेम बुढाले छलफलका लागि भन्दै राति ९ बजेतिर गाडीमा राखेर लगेका थिए।

उनीहरू छिन्चु बजार पुगेर एक होटलमा मदिरापानसहित छलफलमा जुटेका थिए।  त्यहाँ लेनदेनको विषय नमिलेपछि उनीहरू वीरेन्द्रनगर फर्किएका थिए। वीरेन्द्रनगर फर्किनेक्रममा बुढा र मन्त्री शाहीका भाइले पीडित महिलाका पतिलाई राति साढे १२ बजेतिर कुटपिट गरेका थिए। प्रहरीले साढे १ बजेतिर युवकको उद्धार गरेको थियो।

भोलिपल्ट पीडित युवकले घाउ जाँच केसका लागि ठाडो उजुरी दिए। ‘चार गते राति ९ बजेतिर मिटिङ छ भनेर मन्त्रीका स्वकीय सचिव प्रेम बुढाले फोन गरेका थिए, त्यसपछि उहाँ जानुभएको हो,’ पीडित महिलाले भनिन्। उनले बलात्कार घटनाका बारेमा भने केही बताउन चाहिनन्। ‘सबै कुरा श्रीमान्लाई थाहा छ, पहिले श्रीमान्लाई खोज्न सहयोग गरिदिनुस्,’ उनले भनिन्, ‘हामी पीडित छौं, न्याय पाउनुपर्छ।’

उनले पति सम्पर्कविहीन भएदेखि आफूले  खाना पनि नखाएको बताइन्। ‘मन्त्रीका स्वकीय सचिवले बोलाएर गएको, मध्यराति प्रहरीले भेरी पुलबाट उद्धार गरेको थाहा छ,’ उनले  भनिन्, ‘त्यसपछि श्रीमान्को अत्तोपत्तो छैन्।’ उनले  पति फेला नपर्दासम्म बलात्कारको विषयमा केही नबोल्ने बताइन्।

आफूलाई मन्त्री शाहीको प्रेस सल्लाहकार बताउने सचिवालयका कर्मचारी नन्दकृष्ण अधिकारीका अनुसार ती महिलाका पति यसअघि शाही सांसद हुँदा स्वकीय सचिव थिए। ‘मन्त्री भएपछि उहाँले सचिवालयबाट हटाउनुभयो,’ अधिकारीले भने, ‘त्यसपछि मात्रै यो घटना बाहिर आएको हो।’ उनले थपे, ‘मन्त्रीज्यू यो घटनालाई ग्रान्डडिजाइन भन्नुहुन्छ। मन्त्री भइसकेपछि सचिवालयबाट हटाएको झोकमा यस्तो आरोप लगाइएको हो।’ शाही गत वैशाखमा मन्त्री भएका हुन्।

साभारः नागरिक दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close