एमाले दैलेख – सके सहमतिमा नेतृत्व चयन, नभए एक महिना भित्रै पुनः निर्वाचन

पुस २३ गते उद्घाटन भएको नेकपा एमाले दैलेखको जिल्ला अधिवेशनले अझै कार्यसमिति चयन गर्न सकेको छैन् ।

सुरुमा अध्यक्ष पदका लागि भन्दै पाँच जनाको दाबी गरेको दैलेखमा अन्तिम समयमा दुईजनाबीच प्रतिस्पर्धा हुने पक्का भएको थियो । अध्यक्ष सहमतिबाट नै टुंगो लगाउने प्रयास भएपनि सफल हुन नसकेपछि निवर्तमान अध्यक्ष रविन्दराज शर्मा र पूर्व जिल्ला विकास समितिका उपसभापति सुर्यबहादुर शाहीबीचको प्यानलगत चुनाव हुने तय भएको थियो ।

चुनावका लागि हिमालयजंग शाहलाई मुख्य मतदान अधिकृत तोकियो भने अध्यक्ष मण्डलको नेतृत्व जिल्ला इन्चार्ज लक्ष्मी प्रसाद पोखरेलले सम्हाले ।

चुनावमा ७१७ मत खसेको थियो । कुल मत ७२१ मध्ये जम्मा चार मत नखसेको मतदान प्रक्रियामा मतगणना सुरु गर्नु पूर्व नै विवाद खडा भयो । जहाँ ३१ मत फर्जी भएको भन्दै हंगामा मच्चाईयो ।

फर्जि मतपत्र खसेको विषय समाचार बनेसँगै बनेसँगै कर्णाली प्रदेशका अध्यक्ष विनोद कुमार शाहलाई एमाले अध्यक्ष केपि शर्मा ओलीले समेत फोन गरेर बुझे । ओलीले तत्काल मतगणना स्थगित गर्न निर्देशन दिएबमोजिम अर्को निर्णय नभएसम्मका लागि भन्दै मतगणना अनिश्चितकालका लागि स्थगित भयो ।

एमाले विवाद बढ्दै गएपछि पुस २९ गते एमाले प्रदेश इन्चार्ज यामलाल कंडेल समेत त्यहाँ पुगेका थिए । कँडेलको समेत उपस्थितिमा विवाद समाधान गरी नेतृत्व चयनका लागि एमालेको केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाइएको छ । सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गर्ने नसके पुनः मतदान गर्नुपर्ने भन्दै पत्र पठाइएको हो । पत्रमा अध्यक्ष मण्डलले कुनै पनि गल्ति नभएको उल्लेख भएको बुझिएको छ ।

अब के हुन्छ ?

नेकपा एमाले दैलेख स्रोतका अनुसार अब एमालेले सकेसम्म ती दुई उम्मेदवारबीच सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष मण्डलले छलफल चलाउने छ । सो छलफलको केन्द्रमा इन्चार्ज कंडेल रहने र अध्यक्ष मण्डलले नियमित रुपमा कंडेललाई भएको प्रगति बारेमा रिर्पोटिङ्ग गर्नुपर्नेछ ।

‘सकेसम्म सर्वसम्मत पदाधिकारीसहित नेतृत्व टुंगो लगाउने निर्णय भएको छ,’ एमाले स्रोतले भन्यो, ‘यदि भएन भने यसअघि निर्वाचन आयोगबाट भएका सबै निर्णय स्वतः बदर हुने र नयाँ आयोग गठन गरेर नयाँ निर्वाचन प्रक्रिया सुरु हुनेछ ।’
निर्वाचन प्रक्रिया आरम्भ भएमा निर्विरोध चयन भएकाहरुले फेरि प्रक्रियामा जानुपर्नेछ ।

अन्य पदमा आकांक्षीहरुले उम्मेदवारी समेत दिने बाटो खुल्नेछ भने एक महिनामै पुनः दैलेखमा एमालेको चुनाव सम्पन्न हुनेछ । उक्त चुनावका लागि केन्द्रबाट समेत चुनाव आयोगका प्रतिनिधि सहभागि हुने भएका छन् ।

नेपाल प्रेसबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close