“२ करोड लागतमा अक्सिजन प्लान्ट बनाउने तयारी गरेका छौं” मेयरः पुन

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका पनि निक्कै प्रभावित भएको छ । दिन प्रतिदिन कोरोनाबाट प्रभावित बनिरहेको भएपनि नगरपालिका सङ्कटलाई परास्त गर्नमा लागि परेको छ । विकास निर्माणका काम कोरोना महामारी अगावै गरेता पनि नगरपालिकाका कामकाजलाई भने कोरोनाका कारण गरिएको निषेधाज्ञाले असर गरेको छ । नगरपालिकामा फाट्टफुट्ट रूपमा संक्रमितहरु देखापर्ने क्रम जारी नै छ भने त्यति हुँदाहुँदै पनि कोभिड न्यूनीकरणका लागि नगरपालिकाको सक्रियता प्रशंसनीय एवं प्रभावकारी पाइएको छ ।
नगरपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागी कसरी प्रयास गरिरहेको छ, अस्पतालमा अक्सिजन तथा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन कसरी काम गरिरहेको छ भन्ने लगायतका सन्दर्भमा नगरपालिकाका मेयर हस्त पुन सँग गुराँस खबरका रमेश कुमार पाण्डेले कुराकानी गर्नू भएको छ ।
कोभिडको प्रभाव नगरपालिकामा पनि बढ्दो छ, कोभिड–१९ को महामारीसँग जुध्नको लागि कस्तो प्रयास गरिरहेको छ ?
कोभिडको दोस्रो भेरिन्ट आए सँगै सवै क्षेत्रमा सतर्कता अपानाएका छौं । सरकारले जारी गरेको निषेधाज्ञा कार्यन्वयनमा विषेश ध्यान दिएका छौं । मानिसहरुको भिडभाड नियन्त्रणसँगै कोरोनाका लक्षण देखिएका मानिसहरुको परिक्षणको व्यवस्था मिलाएका छौं । शूरुको अवस्थामा संक्रमणको दर निकै उच्च थियो तर अहिले निकै कम भएको छ ।
आइसोलेशन वेडको व्यवस्थापन कसरी मिलाउनु भएको छ ?
सामान्य कोरोनाका लक्षण भएका व्यक्तिहरु घरमा नै होम आइसोलेशनमा वस्नुभएको छ । जटिल समस्या भएका र घरमा समेत वस्न नमिल्ने अवस्था रहेका व्यक्तिहरुलाई मेहेलकुना अस्पतालसँगको सहकार्यमा मेहेलकुनाको खैरेनीमा रहेको वहुउद्देश्यीय हलमा २५ वेडको आइसोलेशन वेड तयार गरेका छौं । होम आइसोलेशनमा वस्दै गर्दा अफ्ठ्यारो भएकाहरुलाई त्यस आइसोलेशनमा राख्ने गरिएको छ । जसमा मेहेलकुना अस्पतालका मेडिकल अफिसरले नेतृत्व गर्नु भएको छ भने स्वास्थ्य शाखाबाट समेत कर्मचारीहरु खटिनु भएको छ ।
नगरपालिकामा अक्सिजनको अभाव छ कि छैन ?
यो महमारीमा अक्सिजनको अभावको महसुस भएको छ । कतिपय जटिल लक्षण देखिएका व्यक्तिका लागि अक्सिजन अतिआवश्यक हो । हामीले सवैलाई अक्सिजनका खाली सिलिण्डर दिन आग्रह गरौं, त्यसरी जम्मा भएका सिलिण्डर भरेर काम चलाएका  छौं । चाहेर पनि अक्सिजन किन्न पाएको अवस्था छैन।
अक्सिजनको अभाव भए पछि इलेक्ट्रिक कन्सेन्टरबाट पनि काम चलाएका छौं । एकदमै हाइ फ्लो चाहिने विरामीलाई हामीले प्रदेश अस्पतालमा रिफर गरेका छौं ।
पीसीआर गर्ने व्यवस्था कसरी मिलाएको छ ? पीसीआर परीक्षण नगरपालिकाले आफैं गर्दैछ की अन्य ठाउँमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ ?
पहिलो चरणको कोरोना परीक्षण आरटी पिसीआरबाट गरेका थियौं । हाम्रो आफ्नै ल्याव छैन । पीसीआरका लागि स्वाव संकलन गरेर परिक्षणका लागि प्रदेश अस्पतलामा लिनुपर्ने अवस्था थियो । पीसीआर गरे पछि चेक गर्नको लागि अन्य ठाउँ लानु पर्र्ने, रिपोर्ट आउन पनि धेरै समय लाग्ने गरेको थियो । स्वाव संकलन गरेको हप्ता दश दिनसम्म रिपोर्ट आउन कुर्नु पर्ने अवस्था एकातिर भने अर्को तिर विरामी सञ्चो भइसक्ने अवस्था भयो । कतिपयको संक्रमणकै कारण मृत्यु हुन्छ रिपोर्ट पछि आउथ्यो । त्यस कारण एन्टिजेन्ट किटको उपलब्धता हुन थाले पछि हामीले सहज र छिटो परिक्षणका लागि त्यसैलाई छनौट गरेका छौं ।
एन्टिजेन्ट परीक्षण छिटो हुने भएकाले यस मार्फत कोभिडसँग अन्तरसम्बन्धित लक्षण देखिएका नागरीकको परीक्षण गर्दै आएका छौं । एन्टिजेन परीक्षणलाई थप प्रभावकारी र व्यवस्थित बनाउनका लागी पनि जोड दिइरहेका छौं । एन्टिजेन परीक्षण गर्ने आवश्यक सामग्री पनि खरिद गरेका छौं । कोरोनासँग अन्तसम्बन्धित लक्षण देखिएका नागरिकहरूको एन्टिजेन परीक्षण गर्दै आएका छौं । नगरपालिकाका हरेक स्वास्थ्य चौकीमा प्रत्येक विहान ११ देखि १ बजेसम्म परिक्षण गर्ने गरेका छों ।

जिल्ला प्रशासन कार्यालय, सुर्खेत र गुर्भाकोट नगरपालिकाको संयुक्त बजार अनुगमन टोलीबाट गुर्भाकोट नगरपालिका अन्तर्गत मेहेलकुना र बोटेचौर बजारमा रहेका विभिन्न खाद्य, किराना पसल, तरकारी र दुग्धजन्य पसल समेतको अनुगमन का क्रममा भेटिएका  गुणस्तरहिन वस्तु नष्ट गरिदै

जिल्लामा निषेधाज्ञा छ, नगरपालिकामा त यसको प्रभाव पर्ने नै भयो, नागरिकले हाल निषेधाज्ञालाई कसरी लिएका छन अनि नागरिकहरूबाट चाहिँ के कस्तो सहयोग मिलेको छ नि ?
समाजमा विभिन्न किसिमका व्यक्तिहरु हुन्छन् । सवै सवैले सवै कुरा वुझ्दैनन् । तर पनि नागरिकहरूका सकरात्मक सहयोग मिलेको छ । निषेधाज्ञा भनेको केही होइन भन्ने मानिसहरुको सोचाइ छ । कार्यालयहरु बन्द भएको कारणले मानिसलाई सामान्य पिडा चाहिँ परेको छ । विस्तारै कोरोना लाग्यो भने समस्या हुँदो रहेछ भन्ने जनतामा चेतनाको विकास हुँदैछ । निषेधाज्ञा प्रति त्यति नराम्रो प्रतिक्रिया आएको छैन । निषेधाज्ञामा नागरिकहरुबाट राम्रै सहयोग मिलेको छ ।

कोरोना नियन्त्रणमा प्रदेश र केन्द्र सरकारले के कस्तो सहयोग गर्नु भएको छ ?
कोभिड नियन्त्रणमा प्रदेश र केन्द्र सरकारले सहयोग गर्ने भनेको सुनेको त हो तर अहिले सम्म केहि भएको छैन । जिल्लाको स्वास्थ सेवा कार्यालयबाट केहि सहयोग भने भएको छ । हाम्रो प्रयोगशालामा केहि परीक्षणका काम भने भएका छैन ।
निषेधाज्ञाको मौका छोपी बजारमा सवैजसो सामग्रीको मुल्य वृद्धि भएको छ । यसको नियन्त्रण कस्ले गर्ने हो । स्वास्थ्य सामग्रीको मुल्य समेत वृद्धि भएको छ । एकातिर अभाव छ भने अर्को तिर मृल्य वृद्धि हुदा समस्या भएको छ । यी समस्याहरुलाई प्रदेश र संघ सरकारले प्रभावकारी भूमिका खेल्नु पर्छ ।
जोखिम न्युनिकरण गर्नमा नगरपालिकामा आवश्यक वजेटको अवस्था के छ ?
विभिन्न विज्ञहरुले यसले अर्को रुप धारण गरेर संक्रमण फैलिन्छ भनेको सुनेका थियौं । त्यसैको आधारमा चालु आर्थिक बर्षमा हामीले कोभिड नियन्त्रणमा आवश्यक वजेट व्यवस्था गरेका थियौं । त्यस कारण हामीलाई काम गर्न समस्या त भएन । अन्य विकासे बजेटलाई कटाएर कोरोना नियन्त्रणमा खर्च गर्नु पर्ने अवस्था भने छैन ।
कोरोना महामारीका कारण नगरपालिकाक कामहरुमा कस्तो प्रभाव परेको छ ?
हामीले निषेधाज्ञाका कारण सार्वजनिक निर्माणका कामहरु ठप्प गरेको हो । अहिले संक्रमण दर कम भएका कारण स्वास्थ्यका सुरक्षा मापदण्ड अपनाएर विकास पूर्वाधारका कामभ भएका छन् । हामीले खास गरी महामारी पूर्व नै धेरै जसो कामहरु गरेका कारण पनि त्यस्तो नराम्रो असर भने देखिएन ।

संक्रमण दर कम भएसँगै गुर्भाकाट ६ बडाखोलीको आधारभुत स्वास्थ सेवा केन्द्रको भवनको शिलान्यास गर्दै नगर प्रमुख पुन

स्थानीय सरकारले सुरुबाट नै कोरोना नियन्त्रण गर्नमा पहल नगरेको भन्दै आरोप लाग्दै आएको छ नि, यसमा तपाईंको धारणा के छ  ?
स्थानीय तह हुदैन थियो भने मलाइ लाग्छ, सहजै कोरोना नियन्त्रण हुन सक्दैन थियो । यदि स्थानीय तहले काम गरे झै अन्य निकायले सहयोग गरेको भए कोरोनाले यति संक्रमण फैलिने थिएन । स्थानीय तहले गरेको कामले नै आज संक्रमण धेरै ठाउँमा फैलिन पाएको छैन । यो महामारी नियन्त्रण गर्नमा स्थानीय तहको ठुलो भूमिका रहेको छ । त्यसैले स्थानीय सरकारले नै कोभिड नियन्त्रण गर्नमा पहल गरेन भन्न पाइँदैन । स्वास्थ्य, शिक्षा र रोजगारीमा राज्यले जिम्मा लिनुपर्ने आवश्यकता छ । स्थानीय तहमा धेरै काम हुन्छन । यो महामारी नियन्त्रण गर्नमा सक्दो काम त हामी गरीरहेकै छौं ।
बरु प्रदेश र संघले काम गर्न नसकेको अवस्था हो । अन्यत्र बाट आएका मानिसमा सीमा क्षेत्रमा कोरोना परिक्षण गरी पोजेटिभ केसलाई अलग्गै व्यवस्थापन गरी स्थानीय तहलाई हस्तान्तरण गरे संक्रमणले ठुलो रुप लिने थिएन । देश एकातिर संक्रमणले थला परेको छ भने प्रदेश र संघमा राजनीतिक उतावचढाव आएको छ । स्थानीय तहले काम नगरेको भए कोरोनाको संक्रमण कम हुनै सक्दैनथ्यो ।
फेरी नयाँ भेरियन्टमा संक्रमण फैलिन्छ भनेर विज्ञहरुले भनीरहेका छ्रन्, यहाँहरुको तयारी के छ ?
मेहेलकुना अस्पताल प्रदेश सरकारको मातहातमा रहेको छ । यो ५० सैयाको अस्पताल हो । प्रदेश सरकारले अक्सिजन प्लान्ट बनाउनका लागि ४० लाख हालिदिएको छ । अब यो टेण्डर प्रक्रियामा रहेको छ ।
ठुलो प्लान्ट निर्माणका लागि एउटा प्रयासमा हामी लागेका छौं । युुएनडिपी र सामाजिक विकास मन्त्रलायसँग सहयोग मागेका छौं । करिव २ करोडको लागतमा गुर्भाकोट नगरपालिकाले अक्सिजन प्लान्ट निमार्ण गर्ने योजना बनाएका छौं । यदि यो काम गर्न सकेमा सुर्खेतका पूर्वी क्षेत्र लगायत जाजरकोट, सल्यान लगायत यस क्षेत्रका विरामीहरुको उपचारमा सहयोग पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close