खनियाबास गाउँपालिकामा निःशुल्क वितरण गरिने औषधिको अभाव

खनियाबास गाउँपालिकामा रहेका पाँच वटा स्वास्थ्य संस्थामा निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ । दैनिक बिरामीका लागि आवश्यकताका आधारमा निःशुल्क वितरण गरिने सिटामोललगायतका औषधि स्वास्थ्य संस्थामा नहुँदा उपचारमा समस्या भएको छ ।
झार्लाङ स्वास्थ्यचौकी, झार्लाङ सामुदायिक स्वास्थ्य इकाइ, कुरी आधारभूत स्वास्थ्य केन्द्र, भोक्टेनी स्वास्थ्य चौकी, र खनियाबास ग्रामीण अस्पतालमा आधारभूत औषधिसमेत नभएको सेवाग्राही र स्वस्थ्यकर्मीले बताएका छन् ।
स्वास्थ्य सेवाको मूल्यांकन र कार्ययोजनाको क्रममा ती स्वास्थ्य संस्थामा केही दिनका लागि मात्रै पुग्ने औषधि रहेको स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुखले बताएका छन् । ‘वर्षमा एक पटक मात्रै औषधि आउने र बिरामीको सङ्ख्या बढी भएकाले औषधिको अभाव भएको हो’, झर्लाङ स्वास्थ्य चौकीका इन्चार्ज अनिश पाठकले भने । उहाँका अनुसार बिरामीलाई निःशुल्क वितरण गरिने औषधिमध्ये सिटामोल सकिन लागेकाले एक दुई चक्की दिने गरेको तथा अन्य नियमित वितरण गरिने औषधि माघमै सकिएको छ ।
स्वास्थ्यचौकीमा देखिएको औषधिको अभावका विषयमा आफूले पालिकामा कुरा उठाउने खनियाबास गाउँपालिका–४ का वडा अध्यक्ष लीलामान तामाङले बताउनुभयो। खनियाबास गाउँपालिकाको स्वास्थ्य संस्थामा देखिएको औषधि अभाव तथा व्यवस्थापनका पक्षमा भएका कमजोरीका विषयमा कार्यपालिकाको बैठकमा छलफल गरी समस्या समाधान गर्ने गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले बताए ।
डब्लुएचएचको सहयोगमा लिबर्डले स्वास्थ्य संस्था कार्ययोजना बनाउन सहयोग गरेको थियो । सोही अवसरमा स्वास्थ्य संस्थाको स्वमूल्यांकन गरी नियमित औषधि तथा अत्यावश्यक सामग्रीको व्यवस्था स्थानीय सरकारले गर्नुपर्नेमा वडाध्यक्षहरुले जोड दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close