भाइटीकामा उपहार दिन सकिने १० किताब

दियो, बत्ती, फूल, रङ अनि मीठामीठा खानेकुरा। यति धेरै मन लोभ्याउने कुरा तिहारमाबाहेक अरू कुन चाडमा पाउनू!

दिदीभाइ वा दाजुबहिनीले एक अर्कालाई दिने उपहारले तिहारलाई अझ प्रिय चाड बनाइदिएको छ। तर उपहार दिन सजिलो छैन। हरेक वर्ष के उपहार दिने होला भनेर सोच्नुपर्ने हुन्छ।

यस पटक पनि त तपाईं तिहारमा के उपहार दिने होला भनेर घोत्लिरहनुभएको होला।

उपहार दिँदा सकेसम्म उपयोगी होस् भन्ने हाम्रो चाहना हुन्छ। यस्ता उपहारको मूल्य पैसामा नभएर यसको उपयोगितामा हुन्छ। यदि तपाईं यस्तै उपयोगी उपहार दिने सोचिरहनुभएको छ भने, किताब एउटा राम्रो रोजाइ हुन सक्छ।

हामीकहाँ धेरै अभ्यास नभए पनि किताब उपहार दिनुका अनेक अनेक फाइदा छन्। राम्रा किताबले एकै खुराकमा मनोरञ्जन, सूचना र ज्ञान दिन्छ। आफ्नो वरपरका मान्छे र हामी बाँचिरहेको संसार चिनाउँदै हामीलाई यी कुराहरूसँग जोड्छ। जहाँ जहिल्यै र जतिबेला पनि आफूसँगै राख्न मिल्ने किताब हाम्रा जीवनभरको साथी पनि बन्न सक्छ। सम्झना पनि।

किताब उपहार त दिने तर कुन दिने?

हामीले यस पटकको तिहारमा स्कुल-कलेज पढ्ने उमेरका दिदीभाइ वा दाजुबहिनीले उपहार दिन मिल्ने केही राम्रा किताबको सूची तयार पारेका छौं।

यो सूची खास उमेर समूहका लागि रोचक र उपयोगी होस् भनेर बनाइएको हो। यसमा हामीले विषयको विविधता कायम गर्ने प्रयास पनि गरेका छौं।

१. आमाले सक्नुहुन्छ, लेखक- आन्विका गिरी

यो चित्रसहितको शृंखलाबद्ध कथाको किताब हो। आन्विका गिरीले लेखेको यो किताब अरू बालकथा भन्दा फरक छ। हामीले पढ्ने धेरै कथामा बालिका वा महिलालाई कमजोर देखाइएको हुन्छ। तर यो किताबकी माधवी र उनकी आमा भने केटा मान्छेले गर्न सक्ने सबै काम गर्न सक्षम छन्।

किताबमा चार कक्षा पढ्ने माधवी पात्रको माध्यमबाट उनको परिवार, महिला-पुरुष सम्बन्ध र सामाजिक सम्बन्धका कुराहरु चित्रण गरिएको छ। किताबले हाम्रो दैनिक जीवनका साना-मसिना घटना मार्फत छोरा र छोरीबीच लिंगका आधारमा घर, स्कुल र समाजमा हुने विभेद बुझ्न आलोचनात्मक दृष्टि दिन्छ।

किताबमा माधवी र उनका दाइबीचको सम्बन्ध र तिहारको प्रसंग पनि भएकोले यो तिहारका लागि राम्रो उपहार बन्न सक्छ। तपाईंलाई आमाले सक्नुहुन्छ मनपर्‍यो भने लेखक आन्विकाले बालबालिकाका लागि लेखेको ‘सानीका कुरा’ पनि मन पर्न सक्छ।

२. गहुँगोरो अफ्रिका, लेखक- आहुती

किताब पढ्नु भनेको समाज चिन्नु पनि हो। समाजका असल र खराब कुरा बुझ्न बुझाउन किताबले महत्वपूर्ण भूमिका खेल्छ। तर किताबको माध्यमबाट समाज चिन्नुअघि पाठकले राम्रा लेखक चिन्नु जरुरी हुन्छ।

आहुती नेपालका राम्रा लेखकमध्ये एक हुन्। उनको खास नाम विश्वभक्त दुलाल हो।

नेपालमा जातका आधारमा गरिने छुवाछुतको विभेदबारे बुझ्न चाहने जो कोहीले पढ्नै पर्ने नाम हुन्, आहुती।

‘गहुँगोरो अफ्रिका’ किताबले पनि तपाईंलाई दुई तरिकाले नेपालको जातीय विभेदका कुरा नजिकबाट बुझ्न मद्दत गर्नेछ।

पहिलो कविताका माध्यमबाट र अर्को किताबमा समेटिएको आहुतीकै लामो जीवन भोगाइबाट। किताबमा अटाएका २८ कविता लेख्नुको पृष्ठभूमिलाई दोस्रो खण्डमा कविताको कथा नाम दिई आहुतीले बाल्यकालदेखिको जातीय दलनको अनुभव साटेका छन्। यो किताब लेखक र उनका सिर्जनाबीचको सम्बन्ध बुझ्न पनि उपयोगी छ।

यो किताब मन परे आहुतीले लेखेको उपन्यास ‘नयाँ घर’ पनि पढ्नु होला।

३. बाल्यकालका पदचापहरू, लेखक- खगेन्द्र संग्रौला

पत्रपत्रिका पढ्ने र साहित्यमा रूचि राख्नेहरूका लागि लेखक खगेन्द्र संग्रौला प्रिय नाम हो। संसारका थुप्रै धेरै राम्रा किताब नेपाली भाषामा अनुवाद गरेका उनले बालबालिका र युवाका लागि पनि किताबहरू लेखेका छन्। तीमध्ये उनको बाल्यकालको अनुभव र अनभूति समेटिएको ‘बाल्यकालका पदचापहरू’ एउटा महत्वपूर्ण किताब हो।

संग्रौला कुनै बेला मूल्यांकन प्रकाशनको नव-युवा पत्रिकाका लागि आफ्नो बाल्यकालका संस्मरण लेख्ने गर्थे। ती संस्मरण पाठकले निकै रूचाएका थिए। ‘बाल्यकालका पदचापहरू’ तिनै संस्मरणको सँगालो हो।

२००७ साल आसपासको समयदेखि सुरू हुने यो किताबमा पूर्वी नेपालको परिवेश समेटिएको छ। त्यही परिवेशमा लेखकले घरपरिवार र समाजमा देखेका भोगेका कुरा रोचक शैलीमा लेखेका छन्। घर समाजमा हुने विभेद र कुसंस्कारबारे खुलेर आलोचना गर्ने लेखक खगेन्द्रले यो संस्मरणमा पनि यस्ता विकृतिबारे मन खोलेर लेखेका छन्।

भूमिकामा उनले ‘बाल्यकालका पदचापहरू’ आफ्नो छोरीछोरा अनि उनीहरूका सहरिया र गाउँले साथीसंगीहरूका लागि लेखेका बताएका छन्।

यो किताब मनपरे उनकै ‘आमा र यमदुत’, ‘आफ्नै आँखाको लयमा’, ‘सम्झनाका कुइनेटाहरू’ खोजेर पढ्न सक्नु हुन्छ। उनले अनुवाद गरेको ‘माइक्रोसफ्टदेखि बाहुनडाँडा’ सम्म किताब पनि तपाईंलाई पक्कै मन पर्नेछ।

४. ‘तोत्तो–चान’ (झ्यालमा रमाउने त्यो सानी केटी), लेखकः तेच्चुको कुरोयागानी, अनुवादकः डाक्टर सरोज धिताल

चञ्चल वा चकचके हुनु बालबालिकाको प्राकृतिक स्वभाव हो। तर यही गुणका कारण उनीहरूलाई खराब वा बदमास सोच्नु बालबालिकाको प्राकृतिक स्वभावलाई नबुझ्नु वा अस्वीकार गर्नु हो।

‘तोत्तो–चान’ यस्तै चकचके बालिका हो, जसलाई उनको बानीकै कारण स्कुलले निकालिदिन्छ। त्यसपछि उनकी आमाले एउटा अनौठो विद्यालयमा भर्ना गरिदिन्छिन्। रेलको डिब्बालाई कक्षाकोठा बनाइएको यो स्कुल पहिले उनी पढेजस्तो छैन।

पहिलेको स्कुलमा तोत्तो चान झ्यालमा उभिएर टोलाइरहन्थिन्। उनको चकचकले शिक्षकहरू दिक्क हुन्थे। तर यहाँ उनलाई बदमासी गरे पनि शिक्षकले गाली गर्दैनन्। यहाँ आएर उनले जे मन लाग्यो त्यही गर्न पाउँछिन्। तर उनी अब बदमास पनि हुन्नन्। स्कुलको वातारणले उनलाई बदल्छ।

रेलको डिब्बामा कोयावाशी सरसँग पढ्ने क्रममा तोत्तो चान के कति कारणले बदलिन्छिन्? यो सिकाइकै कारण उनले जीवनमा के हासिल गर्छिन्? यी कुरा पाठकले आफैं पढेर थाहा पाउनुमा नै मजा छ।

संसारका अनेकौं भाषामा अनुवाद भएको विश्वचर्चित यो किताब जापानी लेखिका तेच्चुको कुरोयानागीको बाल्यकालीन भोगाइको सम्झना हो। यसलाई नेपालीमा डाक्टर सरोज धितालले अनुवाद गरेका हुन्।

५. कुमारी प्रश्नहरू, लेखक- दुर्गा कार्की

यो किताब लेखक कुनैबेला पाठक मात्रै थिइन्। पाठकका रूपमा उनी १५ देखि २५ वर्षभित्रका युवायुवतीका कुरा पढ्न चाहन्थिन्। तर उनले पढ्ने कथामा यो उमेर सुहाउँदा भावना र भोगाइ खासै पाउँदिन थिइन्।

जब उनले आफैं कथा लेख्न थालिन्, आफूले पढ्न चाहेका उमेर समूहका कुरा लेखिन्। आफ्नै भोगाइ मिसाएर, आफ्ना संगीसाथीका कुरालाई कथा बनाउन थालिन्। ती कथालाई सकेसम्म युवाकै दृष्टिकोणबाट लेख्दै गइन्।

‘कुमारी प्रश्नहरू’मा अटाएका त्यही उमेर समूहका युवा रहर र सपनाका कुरा छन्। घरभित्र र बाहिर उनीहरूले भोग्ने समस्याका कुरा छन्।

लेखकले आफ्ना कथालाई नयाँ पुस्ताको कथा भनेकी छिन्। यी कथालाई उनले मीठो भाषामा बुनेकी छिन्। मित्रता, प्रेम, यौन जस्ता विषयमा आजको पुस्ताको दृष्टिकोण बुझ्न यो किताब सहायक छ। केटी र केटाबीचको सम्बन्धका जटिलता र विभेद बुझाउने यी कथालाई उनले ‘चाउमिन’, ‘अदुवा’, ‘लाइट बाल्ने केटो’ जस्ता रमाइला शीर्षक दिएकी छिन्।

६. बोनी, लेखक- पारिजात

‘बोनी’ कविताजस्तै लाग्ने सुन्दर उपन्यास हो। यसमा लेखकले फरक-फरक समयमा बोनीलाई सम्बोधन गरेर लेखेका पत्रहरू छन्। कालो कपाल ओढेकी कलिली केटी एबोनीलाई देखेपछि लेखकमा आमा बन्ने रहर पलाउँछ र उनी एबोनीलाई बोनी बनाउँछिन्।

बोनी हुर्किँदै जाँदा उमेरको कौतुहल, बजारको प्रभाव र समाजप्रतिको अनभिज्ञताले उनका व्यवहार फेरिँदै जान्छन्। क्यानभासमा रङ फेरिएझैं फेरिएको बोनीको जीवन कुरुप चित्रजस्तै बन्न थाल्छ। किशोरवय उमेरमा सही दिशा पहिल्याउन नसक्दा कसरी मान्छेले बाटो बिराउँछ भन्ने कुरालाई ‘बोनी’मा मनछुने गरी उतारिएको छ।

यो किताब मार्फत बाटो बिराएका पात्रप्रति माया र सहानुभूति प्रकट गर्दै बोनी र बोनीजस्ता पात्रलाई लेखकले इन्द्रेणी र फूलको उदाहरण दिँदै मार्गनिर्देशन गर्ने प्रयत्न गरेकी छिन्।

यो किताब पढ्नुभयो भने बोनीमा तपाईंले अलिकति आफूलाई अनि अलिकति आफ्नै उमेरका साथीसंगीलाई पाउनु हुनेछ। छुटाउनै नहुने कुरा, ‘बोनी’ लेखक पारिजातले यस्तै अरू धेरै राम्रा किताब लेखेकी छिन्। धेरै भाषामा अनुवाद भएको ‘शिरीषको फूल’ उनको अत्यधिक चर्चित किताब हो।

७. कोही किन बर्बाद होस्, लेखक विजय मल्ल

गलत बाटो हिँडेको मान्छेलाई गालीले भन्दा मायाले बदल्न सकिन्छ। केटाकेटी उमेरमा त झनै मायाको खाँचो हुन्छ। यो एकांकी नाटकमा पनि आमाको मायाको अभावमा बरालिएको बालकको कथा छ। आमाको माया नपाउँदा भड्किएको बालकको मनले विद्यालयमा महिला शिक्षकको मायाले आराम पाउँछ। उसको जीवनले सही दिशा समात्छ।

अविवाहित शिक्षकले अपरिचित बालकलाई गर्ने निस्वार्थ प्रेम र बालकको जीवनमा आउने परिवर्तनको यो नाटक सजिलो र मीठो भाषामा लेखिएको छ।

बालमनोविज्ञानको चित्रण गर्ने सशक्त किताबहरूमा ‘कोही किन बर्बाद होस्’ को नाम सधैं अगाडि आउँछ।

८. फिरफिरे, लेखकः बुद्धिसागर

सानो छँदा असाध्यै मिल्ने दुई साथी पवन र बन्तेको कथा हो ‘फिरफिरे’। उनीहरूबीचको माया, बदमासी, झगडा र समर्पणका घटनाहरू पाठकलाई आफ्नै साथीसंगीसँगका व्यवहार याद दिलाउने खालका छन्।

‘फिरफिरे’ मार्फत किशोरवय हुटहुटीका अनेकन भावलाई लेखक बुद्धिसागरले आफ्नो भाषाशिल्पमा फिलिली घुमाएका छन्। उपन्यासमा पवन र बन्तेसँग जुठी आमै, जीवाराम, पिच्कुमाझी, चीलगाडी, वसीर, जसोदा, सर्वजीत सर, रमा, मुनमुन लगायत पात्रका कथा जोडिन आइपुग्छन्। यीमध्ये जुठीआमैले सुनाउने कथा रोचक छन्।

सौतेनी नदीसँगै बग्ने ‘फिरफिरे’को कथा बाँसबारी, अम्बरपुर, नेपालगन्ज आदि ठाउँको परिवेशमा बुनिएको छ। उपन्यासले यही परिवेशमा बाँच्ने मान्छेले बोक्सीका नाममा गर्ने अमानवीय अभ्यासको कथा पनि भन्छ। हाँस्दै, रुँदै, लड्दै, उठ्दै पातको फिरफिरे उडाउने बसन्त र पवनको कथा मन परे बुद्धिसागरको चर्चित किताब ‘कर्णाली ब्लुज’ पनि पढ्नु होला।

९. मेरो अविरल जीवनगीत, लेखक- रमेश विकल

रमेश विकल ‘अविरल बग्दछ इन्द्रावती’ र ‘नयाँ सडकको गीत’जस्ता चर्चित किताबका लेखक हुन्। उनले बालबालिकाका लागि भनेर ‘अँगेनाको डिलमा’, ‘सात थुंगा’, ‘तेह्र रमाइला कथा’ लगायत थुप्रै किताब लेखेका छन्। यहाँ भने हामीले उनको आत्मकथा संस्मरण ‘मेरो अविरल जीवनगीत’ बारे चर्चा गरेका छौं।

यो किताब विकलले काठमाडौं आरुबारीको चालिसे गाउँमा बिताएको परिवेशबाट सुरू गरेका छन्। आजभन्दा झन्डै ८ दशकअघिको काठमाडौंको चालचलन र पठनपाठनका कुराहरू समेटिएको यो संस्मरणले पाठकलाई लेखककै बाल्यकालीन समयमा पुर्‍याउँछ। अनि उनीसँगै उनले यात्रा गरेका काठामाडौं बाहिरका ठाउँहरू, पूर्व विराटनगरदेखि पश्चिमको दार्चुलासम्म डुलाउँछ।

२००७ को क्रान्तिको समयमा आएर सकिने यो किताब उनको संस्मरणको पहिलो भाग हो।

१०. रेडियोसँग हुर्कंदा, सम्पादक- शेखर पराजुली र प्रत्यूष वन्त

अहिले तपाईं हाम्रो हातमा हुने मोबाइलमा हामी सजिलै गीत सुन्न वा हेर्न सक्छौं। यही मोबाइलबाट समाचार सुन्न र अन्य जानकारी लिन सक्छौं। यति सजिलै सूचना र मनोरञ्जनमा पहुँच पाएका आजको पुस्तालाई हिजोका पुस्ताले रेडियो सुन्न मात्रै पनि अनेक संघर्ष गर्नुपरेको कुरा एकादेशको कथाझैं लाग्ला।

अहिले सुन्दा पत्यार नलाग्ला, राणाकालमा शासकको अनुमतिबेगर रेडियो प्रयोग गर्न पाइन्नथ्यो। यो राणाखलक र उनका आसपासका केही मान्छेको पहुँचमा सीमित थियो। २००३ सालमा पद्मशमशेरले रेडियोमाथिको नियन्त्रण फुकुवा गरिदिए पनि २००७ सालमा रेडियो नेपाल प्रसारण सुरू भएपछि बल्ल देशका धेरै मान्छेले रेडियो सुन्न पाएका हुन्।

पत्रिका पढ्न नजान्नेका लागि पनि वरपरका खबर थाहा पाउन रेडियो भरपर्दो माध्यम थियो। काम गर्दै गीत संगीत सुन्न पाउनु रेडियोको अर्को रमाइलो पक्ष थियो। तर पनि रेडियो सबैको घरमा हुन्थेन। मानिसहरू अरुको घरमा झुम्मिएर रेडियो सुन्थे। घरमा रेडियो भए पनि त्यसमा बालबालिकाको भन्दा ठूला मान्छेको नियन्त्रण हुन्थ्यो। जसरी र जहाँ रेडियो सुने पनि रेडियोप्रति ठूलो आकर्षण थियो।

रेडियो सस्तो र सजिलै पाउन थालेपछि त यो झनै सर्वसाधारणको दैनिक जीवनको साथी बन्यो। रेडियो र मान्छेको मित्रताको यो कथा फरक-फरक पुस्ताले अलग तरिकाले भोगे।

‘रेडियोसँग हुर्कंदा’ किताबमा रेडियो सुनेर हुर्केका तीन फरक पुस्ताका मान्छे र रेडियोबीचको त्यही सम्बन्धको सम्झना हो। यी संस्मरणमा मान्छेको अनुभूति र उनीहरू बाँचेको परिवेशका रोचक किस्साहरू भेटिन्छन्। यसमा देशका फरक-फरक ठाउँ र समयमा रेडियो सुनेर हुर्केका ६४ जनाका संस्मरण छन्।

शेखर पराजुली र प्रत्यूष वन्त ‘रेडियोसँग हुर्कंदा’का सम्पादक हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close