वीर अस्पतालका कर्मचारी आन्दोलनमा

वीर अस्पताल प्रशासनले तलबलगायत सेवा सुविधा नदिएको भन्दै अस्पतालमा कार्यरत कर्मचारीहरू ४२ दिनदेखि आन्दोलनमा उत्रिएका छन् । संघर्ष समिति नै गठन गरेर अस्पतालका तीन सय बढी कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

समस्या समाधान गर्न अस्पताल प्रशासन तत्पर नभएको भन्दै वीर अस्पताल कर्मचारी आन्दोलन संघर्ष समितिले अस्पतालको लेखा, प्रशासन, खरिद एकाइ र न्याम्सका पदाधिकारीको कार्यकक्षमा ताला लगाएको छ । यसअघि कर्मचारीले मंसिर ४ देखि १२ गतेसम्म न्याम्स (नेसनल एकेडेमी अफ मेडिकल साइन्स) र वीर अस्पतालका पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाएका थिए ।

सरकारले उपलब्ध गराउँदै आएको सेवा सुविधा दिनुपर्ने, कर्मचारीलाई विभेद गर्न नहुने र ट्रमा सेन्टरलाई वीर अस्पताल मातहत राख्नुपर्नेलगायतका माग राख्दै आन्दोलन थालिएको वीर अस्पताल कर्मचारी आन्दोलन संघर्ष समितिका सहसंयोजक एवं प्रवक्ता खुबराज आचार्यले बताए । आचार्यले भने, ‘सम्पूर्ण कर्मचारीलाई तलब खुवाउने उत्तरदायित्व सरकारको हो । स्वास्थ्य मन्त्रालय र वीर अस्पताल जिम्मेवारविहीन हुँदा हामी आन्दोलनमा उत्रिन बाध्य भएका हौं ।’

सरकारले घोषणा गरेको सेवा सुविधासमेत सरकारले दिन नसकेको कर्मचारीको भनाइ छ । संघर्ष समितिका सहसंयोजक आचार्यले भने, ‘ट्रमा सेन्टरलाई वीर अस्पताल मातहत विकास गरिनुपर्छ । महँगो सेवा दिइरहेको छ ट्रमाले । वीर अस्पतालको एकीकृत शाखा नहुँदा आर्थिक भार परेको छ । तसर्थ वीर अस्पताल मातहत ट्रमा सेन्टर राखियो भने आर्थिक दायित्व कम हुन्छ भन्ने हाम्रो माग हो ।’

यो पनि पढ्नुहोस  देश बचाउन हिन्दु राष्ट्रको माग : राणा

तोकिएको तलब पाउनुपर्ने र जोखिम भत्ता उपलब्ध गराउनुपर्नेलगायतका माग राख्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । महामारीको समयमा स्वास्थ्यकर्मी तथा कर्मचारीले जोखिममा काम गरेबापत पाउनुपर्ने कोभिड भत्ता, कोभिड बिमा क्षतिपूर्ति, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई भुक्तानी दिन बाँकी सेवा विस्तार भत्तालगायत पनि नपाएको कर्मचारीको गुनासो छ । करार र ज्यालादारीमा कार्यरत कर्मचारीले २०७७ चैतदेखि कोभिड भत्ता नपाएको गुनासो गरेका छन् ।

एक कर्मचारीले भने, ‘सरकार र अस्पतालका पदाधिकारीबाट महामारीको अवस्थामा कर्मचारीको मनोबल गिराउने काम भइरहेको छ । समस्या समाधानमा कुनै पहल गरिएको छैन । कर्मचारी तथा स्वास्थ्यकर्मीले स्तरीय सेवा प्रवाह प्रदान गर्नुपर्ने मुद्दालाई प्राथमिकताका साथ अघि सारेका छन् । कोरोना संक्रमितबाहेकका अन्य बिरामीलाई सेवा दिने नाममा बेड खाली गराएपछि अन्य बिरामीले सेवा पाउन सकेका छैनन् ।

पदाधिकारीलाई अस्पतालमा प्रवेश नदिएपछि अस्पताल प्रशासन राजधानीस्थित होटेल एल्लो प्यागोडाबाट सञ्चालन भएको पाइएको आचार्यले बताए । नारा जुलुससहित धर्नाको कार्यक्रमलाई कर्मचारीले यथावत् राखेका छन् । उनीहरूले अस्पतालका दुवै गेटमा पदाधिकारी प्रवेश निषेधको ब्यानरसमेत टाँसेका छन् । वीर अस्पतालका कर्मचारी ३ कात्तिकदेखि आन्दोलनमा छन् । १९ मंसिरभित्र माग सम्बोधन नभए काम छोडेर आन्दोलन गर्ने संघर्ष समितिको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close