येशुको जन्म ७०० बर्ष अघि भबिस्यबाणी भएको थियो

मीकाले भविष्यवाणी गरे, “तर ए बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्‍ये सानो भए तापनि तँबाट मेरो निम्‍ति एक जना निस्‍कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात्‌ प्राचीनकालदेखि नै छ” (मीका ५:२) ।

मीका एक अगमवक्ता थिए जसले करिब ७३७-६९६ ख्रिस्टपूर्वको बिचमा यहूदामा भविष्यवाणी गरे । तिनी यशैया, आमोस र होशे अगमवक्ताका समकालिक थिए । मीकाको पुस्तकका लेखक तिनले नै संसारका मुक्तिदाता येशू ख्रीष्ट बेथलेहेममा जन्मनुहुनेथियो भनी उहाँको जन्मभन्दा झन्डै ७०० वर्षअगि भविष्यवाणी गरे ।

मीकाको भविष्यवाणीले मसीहलाई नै सङ्केत गरेको थियो भनी व्यवस्थाका पण्डितहरूले स्पष्ट रूपमा बुझे (मत्ती २:३-६) । मत्तीले व्यक्त गरेका छन्, “हेरोद राजाको समयमा यहूदियाको बेथलेहेममा … येशूको जन्‍म भयो (मत्ती २:१) । मत्ती २:१-६ अनुसार मसीहको जन्म बेथलेहेममा हुनु भनेको मीकाको भविष्यवाणी पूरा हुनु हो । इतिहासकार लूकाको विवरणअनुसार योसेफ र मरियम “गालीलको नासरतबाट यहूदियाको बेथलेहेम भन्‍ने दाऊदको सहरमा गए” (लूका २:४) जहाँ मरियमले “आफ्‍नो जेठो छोरो जन्‍माइन्‌” (लूका २:७) । यूहन्नाले लेखेका छन्, “के धर्मशास्‍त्रले भनेको छैन, कि ख्रीष्‍ट दाऊदको वंशबाट र दाऊदकै गाउँ बेथलेहेमबाट आउँछन्‌ ?” (यूहन्ना ७:४२) । यसरी नयाँ करारका लेखकहरू मत्ती, लूका र यूहन्नाले बेथलेहेमलाई नै येशू ख्रीष्टको जन्मस्थानको रूपमा उल्लेख गरेका छन् भन्ने कुरो प्रस्ट छ ।

बाइबलले दुईवटा बेग्ला-बेग्लै बेथलेहेमको उल्लेख गर्छ— यहूदाको बेथलेहेम (मीका ५:२) र जबूलूनको बेथलेहेम (यहोशू १९:१५) । यहूदाको बेथलेहेम यरूशलेमदेखि पाँच माइल दक्षिण-पश्चिममा पर्थ्यो जहाँ प्रभु येशू जन्मनुभयो । जबूलूनको बेथलेहेम नासरतदेखि सात माइल उत्तर-पश्चिममा पर्थ्यो ।

मीका ५:२ मा उल्लिखित बेथलेहेम यहूदाको बेथलेहेम हो (मत्ती २:१) जसलाई पहिले एप्रात (उत्पत्ति ४८:७) वा एप्राता (मीका ५:२) भनिन्थ्यो । बाइबल धर्मशास्त्रमा पहिलो पटक उत्पत्ति ३५:१६ मा यसको उल्लेख भएको छ । मुक्तिदाता प्रभु येशू बेथलेहेममा जन्मनुभएकोले यो ठाउँ सारा दुनियाँमा मुक्तिदाताको जन्म स्थानको रूपमा प्रसिद्ध छ । बेथलेहेमको अर्थ “रोटीको घर” हुन्छ भने एप्रातको अर्थ “फलदायी” । किनभने बेथलेहेमवरिपरिको भूभाग निकै उत्पादनशील क्षेत्र थियो । “जीवनको रोटी” येशू (यूहन्ना ६:३३-४०) “रोटीको घरमा” जन्मनु पक्कै पनि संयोग थिएन । उजाड-स्थानमा इस्राएलका मानिसहरूलाई जीवित राख्न परमेश्वरले स्वर्गबाट मन्न बर्साउनुभयो तर सारा संसारका मानिसलाई जीवन दिन उहाँले येशूलाई पठाउनुभयो ।

मीकाको समयमा बेथलेहेम नगण्य र महत्त्वहीन गाउँ थियो । त्यसैले अगमवक्ताले यसलाई “यहूदाका कुलहरूमध्‍ये सानो” भनेका छन् । यहोशू १५ र नहेम्याह ११ मा अभिलिखित नगरहरूको सूचीमा बेथलेहेमको उल्लेख पनि भएको छैन । यहूदाका गाउँहरूमध्ये बेथलेहेम सर्वाधिक उपेक्षित थियो । तथापि सबैभन्दा महत्त्वहीन ठाउँबाट नै सबैभन्दा महत्त्वपूर्ण व्यक्तिको उदय भयो ।

अगमवक्ता मीकाले आउनुहुनेवाला मसीहलाई यहाँ “शासक” भनेका छन् “जसको सुरु पुरानो समयदेखि, अर्थात्‌ प्राचीनकालदेखि नै छ ।” नयाँ करारअनुसार यी शासक वा मसीह अरू कोही नभएर येशू ख्रीष्ट हुनुहुन्छ जो अनन्तकालदेखि नै अस्तित्वमा हुनुहुन्छ । “उहाँ नै सबै कुराभन्‍दा अगाडि हुनुहुन्‍छ, र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्‌” (कलस्सी १:१७) ।

बेथलेहेममा उहाँको जन्म उहाँको अस्तित्वको आरम्भ थिएन, केवल उहाँको मानवताको आरम्भ थियो । उहाँको ईश्वरत्वमा उहाँ अनन्त भूतकालदेखि अनन्त भविष्यत्‌कालसम्म अस्तित्वमा हुनुहुन्छ । उहाँको मानवताको सुरुवात भयो, तर ईश्वरत्वको होइन । उहाँको ईश्वरत्वमा उहाँ आदि र अन्त्य अनि अल्फा र ओमेगा अनि क र ज्ञ हुनुहुन्छ ।

यसरी येशू ख्रीष्ट बेथलहेममा जन्मनुहुँदा अगमवक्ता मीकाद्वारा उहाँको जन्मभन्दा ७०० वर्षअगाडि बोलिएको भविष्यवाणी पूरा भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close