विराटनगरमा दुई साता लकडाउन

स‌‌‌‍क्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगर क्षेत्रमा शुक्रबार राति १२ बजेबाट दुई साताका लागि लकडाउन गरिएको छ । महानगरपालिकाले प्रदेश सरकार र स्थानीय प्रशासनको समन्वयमा लकडाउन घोषणा गरेको हो ।

‘कडाइका साथ लकडाउन पालना गराउन र सीमा क्षेत्रमा लुकीछिपी ओहोरदोहोर गर्नेलाई निषेध गर्न स्थानीय प्रशासनसँग समन्वय गरिएको छ,’ महानगरकी उपप्रमुख इन्दिरा कार्कीले भनिन् ।

महानगरले लकडाउनका बेला पीसीआर परीक्षणको दायरा बढाउने र क्वारेन्टाइनको संख्या थप्ने निर्णय गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले लकडाउन अवधिभर अत्यावश्यक कामबाहेक कसैले पनि घरबाहिर निस्किन नमिल्ने, अत्यावश्यक सेवा र एकीकृत जाँच चौकीबाट आउनेबाहेकका सवारीसाधन चलाउन नपाइने बताए । संघीय सरकार मातहतका सरकारी कार्यालय खुले पनि सेवाग्राही जान नपाउने उनले जानकारी दिए ।

महानगरमा शुक्रबार ११ जना संक्रमित थपिएका छन् । यहाँ हालसम्म संक्रमण पुष्टि भएका १ सय ६ जनामध्ये ५३ जनाको ‘ट्राभल हिस्ट्री’ (बाहिर आउजाउ) नभएको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए । ‘अहिले दिनमा सयभन्दा बढीको स्वाब संकलन गर्ने लक्ष्यका साथ अघि बढेका छौं । यसलाई ५ सयमा पुर्‍याउन प्रदेश सरकारलाई आग्रह गरेका छौं,’ उनले भने ।

ट्राभल हिस्ट्री नभएका व्यक्ति संक्रमित हुन थालेपछि महानगरले आइतबारदेखि अत्यावश्यक सेवाबाहेकका सबै सेवा ठप्प गरेको छ । प्रदेश १ प्रहरी कार्यालयका २४ जना प्रहरी अधिकारीमा संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरेर गत बिहीबारबाट अनलाइनबाट सेवा प्रवाह गर्दै आएको छ ।

स्वास्थ्यकर्मीमा संक्रमण, ओपीडी बन्द
स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि बिहीबारदेखि विराटनगरको कोसी अस्पतालले बहिरंग सेवा (ओपीडी) बन्द गरेको छ । शुक्रबारसम्म अस्पतालका चिकित्सकसहित पाँच जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरूको कोभिड–१९ अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको सम्पर्कमा आएका २० स्वास्थ्यकर्मी र कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालको आकस्मिक सेवा, फिभर क्लिनिक र प्रसूति सेवा भने नियमित छ । बहिरंग सेवाका इन्चार्ज, एक स्टाफ नर्स र नाक, कान एवं घाँटी इकाइका एक सहयोगी कर्मचारीमा कोरोना देखिएपछि थप फैलिन नदिन ओपीडी बन्द गरिएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले बताए ।

अस्पतालका थप कर्मचारीमा संक्रमण नदेखिएमा तीन दिनभित्रमा ओपीडी सेवा पुनः सुरु हुने जानकारी उनले दिए । यहाँ चिकित्सकसहित पाँच सय स्वास्थ्यकर्मी कार्यरत छन् । सामान्य दिनमा औसत दिनहुँ १ हजार २ सय सेवाग्राही आउने अस्पतालमा हिजोआज पनि दिनहुँ ६ सय सेवाग्राही आउने गरेका छन् ।

प्रतिष्ठानको आवासीय क्षेत्र ‘सिल’
सुनसरी– धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिहीबारदेखि आफ्नो आवासीय क्षेत्र सिल गरेको छ । एक चिकित्सकका श्रीमान्मा कोरोना संक्रमण देखिएपछि सिल गरिएको हो । तर, प्रतिष्ठान हाताबाहिर चहलपहल बढी भएकाले उक्त निर्णय कार्यान्वयन गर्न समस्या भएको रजिस्ट्रार प्राडा. मोहनचन्द्र रेग्मीले बताए ।

‘अति अत्यावश्यक काम परे निस्कन पाइन्छ तर पास लिनुपर्छ,’ उनले भने । ट्राभल हिस्ट्री नै नभएका केही स्थानीयमा संक्रमण देखिएपछि प्रतिष्ठानले आवास क्षेत्रमा आउजाउ निषेध गरेको छ । उक्त क्षेत्रमा परिवारसहित चिकित्सक र कर्मचारी १५ हजारको बसोबास छ ।  कान्तिपुर दैनिकमा देवनारायण साह र जितेन्द्र साहले खबर लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close