कलेन्द्र सेजुवालको पुस्तक ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक

कलेन्द्र सेजुवालको पुस्तक ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक भएको छ।

शनिबार उनको पुस्तक सार्वजनिक गर्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता सही मार्गमा हिँडेको खण्डमा मात्र त्यसले समाज र समग्रलाई देशलाई सही निर्देशन गर्ने बताए।

प्रकाशित पुस्तकको सन्दर्भमा बोल्दै उपप्रधानमन्त्री खड्काले २०७२ साउन अन्तिम साता प्रदेशको सीमांकन हुँदा प्रमुख राजनीतिक दलहरूबीच सुर्खेतलाई राजधानी बनाउने विषयमा कुनै विवाद नरहेको बताए। ‘म त्यतिबेला सीमांकनसम्बन्धी हुने गरेका ९९ दसमलब ९९ प्रतिशत बैठकमा सहभागी छु। सुर्खेतलाई राजधानी बन्नु हुँदैन भन्नेमा कोही पनि थिएनन्,’ उनले भने, ‘तैपनि आन्दोलन भयो, ठूलो क्षति भयो।’

नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्षसमेत रहेका सेजुवाल लिखित पुस्तक प्रेस फ्रिडम मिडियाले प्रकाशन गरेको हो। पुस्तकमा सन्दर्भ, उपकथा र मूलकथा गरी ३ खण्ड रहेका छन्।

‘आधारभूत सिद्धान्तमै खेलाँची’ शीर्षकको ‘सन्दर्भ’ खण्डमा नेपालको मात्र होइन, विश्वकै पत्रकारिताले बेलाबखत आफ्नो आधारभूत सिद्धान्तमा खेलवाड गर्ने गरेको उल्लेख छ। अन्तर्राष्ट्रिय पत्रकारिताका चर्चित कमजोरी यस खण्डमा रहेका छन्। यसका साथै नेपालको पत्रकारितालाई ऐतिहासिक कालखण्डमा पक्षधरता र पूर्वाग्रहले कसरी गाँजेको थियो भन्नेबारे लेखिएको छ। अनि प्रमुख अखबारका मुख/पृष्ठ (फ्रन्ट पेज) मा प्रकाशित गलत समाचारका केही दृष्टान्त पनि उल्लेख गरिएका छन्।

‘देशको सीमांकन बदल्ने आन्दोलन’ शीर्षकको ‘उपकथा’ खण्डमा २०७२ साउन २२ देखि भदौ ४ (१५ दिन) सम्म सुर्खेतलाई केन्द्र बनाएर चलेको सीमांकन आन्दोलनले देशको प्रस्तावित ६ प्रदेशको सीमांकनलाई बदलेर ७ प्रदेश बनाएको उल्लेख छ। आन्दोलनको उठान, त्यसको प्रभाव र परिणामबारे यस खण्डमा लेखिएको छ।

पुस्तकको ‘मूलकथा’ खण्डमा (सीमांकन) ‘आन्दोलनको कसीमा मिडिया’ लाई राखिएको छ। सीमांकन आन्दोलनमा खास गरी सुर्खेती मिडियाको भूमिका कस्तो रह्यो भन्नेबारे यस खण्डमा उल्लेख गरिएको छ। स्थानीय पत्रिकाका पहिलो पृष्ठ (फ्रन्ट पेज) कति असन्तुलित, अधिक पक्षधर र पूर्वाग्रही थिए भन्नेबारे १५ दिनकै समाचार अध्ययन गरी विश्लेषणात्मक रूपमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close