भेरी–बबई डाइभर्सन आयोजनाको लगानी मोडालिटी तयार

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय (सिंचाइ/जलविद्युत) आयोजनाको लगानी मोडालिटी करिब टुंगो लागेको छ। ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रालयले जनताको जलविद्युत कार्यक्रमअन्तर्गत कम्पनीमोडलमा लगानी मोडालिटीको टुंगो लगाएको हो।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित सम्बद्ध सरोकारवालाहरुको बैठक डाकेर उक्त आयोजनाको लगानी मोडालिटीबारे छलफल गरेका थिए। बैठकमा मन्त्री पुनले संघ, प्रदेश र स्थानीय तह तथा सरकार मातहतका निकाय, आयोजना प्रभावित र लाभग्राही तथा सर्वसाधारणसमेतको लगानी रहनेगरी लगानी मोडालिटी प्रस्ताव गरेका छन्।

मन्त्री पुनको लगानी प्रस्तावमा सहमति जुटेको जलश्रोत तथा सिंचाइ मन्त्रालयका सचिव रवन्द्रिनाथ श्रेष्ठले जानकारी दिए। भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका संयोजक तथा ऊर्जा मन्त्रालयका सह–सचिव मधुप्रसाद भेटवालका अनुसार संघबाट २६ प्रतिशत, कर्णाली प्रदेश सरकारबाट २० प्रतिशत तथा आयोजना निर्माण हुने सम्बन्धित स्थानीय तहबाट ५ प्रतिशत गरी सरकारी लगानी ५१ प्रतिशत हुनेछ।

यस्तै देशभरका सर्वसाधारणबाट २९ प्रतिशत, कर्णाली प्रदेशका सर्वसाधारणबाट १० तथा आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट १० प्रतिशत लगानी हुनेगरी ढाँचा तयार भएको भेटवालले बताए। उक्त लगानी शेयरमार्फत हुनेछ। भेरी नदीको ४० मनमिटर (प्रतिसेकेण्ड) पानी बबईमा फर्काएर यो आयोजनाको निर्माण हुनेछ। त्यसबाट ४६. ८ मेगावाट विद्युत उत्पादन हुनेछ। उक्तविद्युत रन अफ द रिभर आयोजनाबाट उत्पादन हुने करिब १ सय ५० मेगावाट बराबर हुने आयोजनाका संयोजक सह–सचिव भेटवालको भनाइ छ।

हाल आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न भइसकेको छ भने हेडवर्क्स तथा विद्युत गृह निर्माण सुरु भएको छ। आर्थिक वर्ष २०७९/८० मा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको मन्त्री पुनले बताए। आयोजना निर्माणको जिम्मेवारी मन्त्रालयअन्तर्गतको जलश्रोत तथा सिंचाइ विभागलाई दिइएको छ। आयोजना निर्माण सम्पन्न भएपछि त्यसको व्यवस्थापन तथा सञ्चालन भने शेयरधनीहरु संघ, प्रदेश, स्थानीय तह र सर्वसाधारणका प्रतिनिधि रहेको कम्पनीमार्फत् हुनेछ।

त्यसका लागि नेपाल सरकारको स्वामित्व रहनेगरी ‘भेरी–बबई डाइभर्सन जलविद्युत कम्पनी’नामको सार्वजनिक कम्पनी स्थापना गरिने भएको छ। आयोजना निर्माणको संशोधित लागत ३३ अर्ब १९ करोड रुपैयाँ छ। जसमध्ये सिभिल निर्माण कार्यका लागि ४० प्रतिशत, सुरुङ निर्माणका लागि ३५ प्रतिशत, सुरुङ निर्माण परामर्श सेवाका लागि २ प्रतिशत तथा इलेक्ट्रो मेकानिकल निर्माण तथा जडानका लागि ११ प्रतिशत रकम लगानी हुनेछ। आयोजना सम्पन्न भएपछि कृषिबाट वार्षिक ३.१० अर्ब तथा विद्युतबाट ३.२३ अर्ब गरी ६.३३ अर्ब रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। यस्तै आयोजनाबाट आमोद–प्रमोद, पर्यटन तथा वातावरणीय फाइदा लिन सकिनेछ।

सचिवको नेतृत्वमा समन्वय समिति
आयोजनालाई समन्वयात्मक रुपमा सञ्चालन गर्न भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना समन्वय समिति नामक संयन्त्र गठन गरिने भएको छ। ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिवको संयोजकत्वमा गठन हुने समितिमा कर्णाली प्रदेशका प्रमुख सचिव, प्रदेश–५ सरकारका प्रमुख सचिव, जलश्रोत तथा सिंचाई विभागका महानिर्देशक, बबई सिंचाइ आयोजनाका आयोजना निर्देशक र भेरी–बबई डाइभर्सन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी निर्देशक सदस्य रहनेछन् । उक्त समितिले आयोजना निर्माणका क्रममा आइपर्ने समस्या समाधानका लागि समन्वय र सहजीकरण गर्नेछ।

कामलाई तीव्रतामा अघि बढाउनुस्ः मन्त्री पुन
बैठकमा मन्त्री पुनले दैवीप्रकोप तथा कोभिड–१९ महामारीका कारण आयोजना निर्माणकार्य प्रभावित भएको भन्दै उक्त अवधिमा हुन नसकेका कामलाई तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिएका छन्। ‘दैवीप्रकोप र कोभिड महामारीका कारण आयोजनाको काममा अवरोध पुगेको छ’, मन्त्री पुनले भने, ‘रोकिएको अवधिको समेत क्षतिपूर्ति हुने गरी तीव्रतामा काम अगाडि बढाउनुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close