केपी ओलीकै निर्देशनमा रामचन्द्र पौडेललाई पक्राउ गरिएको हो : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा पक्राउ गरिएको बताएका छन् । बाह्रखरीसँग कुरा गर्दै नेता पौडेलले स्थानीय प्रशासनले मात्र पौडेललाई पक्राउ नगरेको दाबी गरे ।  वरिष्ठ नेता पौडेलकै पहलमा बनेको पुल उद्घाटनका लागि उपभोक्ता समिति र नगरपालिकाकै निमन्त्रणामा उद्घाटनका लागि पुगेको पनि उनले बताए । उद्घाटन कार्यक्रमलाई निषेध गरिनु पञ्चायतभन्दा पनि निरंकुश भएको उनको टिप्पणी छ ।

“स्थानीय प्रशासनले परिस्थितिजन्य आधारमा मात्रै स्थानीय प्रशासनका कारणले घटेको हो भन्ने मलाई लाग्दैन । गृह मन्त्री अथवा प्रधान मन्त्रीकै निर्देशनमा उहाँलाई नियन्त्रणमा लिइएको हो,” पौडेलले भने, “प्रधानमन्त्रीले आफ्ना समकक्षी तहका नेतालाई यस्तो अपमान गर्न मिल्छ । प्रधानमन्त्रीज्यू केही उद्घाटन गर्न जानुभयो भने कांंग्रेसले त्यहाँ पाँचसय मान्छे खटाउन सक्दैन ? यस्तै राजनीतिक संस्कार बसाउन खोजेको हो ?”

तनहुँको घटनाले सरकार नांगिएको पनि उनले बताए । कांग्रेसले गरेको रचनात्मक कामलाई बाहुबल प्रयोग गरेर रोक्न खोजिएको भन्दै पौडेलले भने, “अब द्वन्द्व बाहुबलका आधारमा गर्ने कि वैचारिक आधारमा गर्ने भन्ने कुरा केपी ओलीले निर्धारण गर्नुपर्छ ।”

उनले राज्य चलाउने भूमिकामा रहेपनि बाहुबलको प्रयोगमा ओली उत्रिएको भन्दै आपत्ति जनाए । हिजो अरिंगाल खटाउने ओलीले पुनः तिनै अरिंगाललाई सक्रिय बनाएको पौडेलको टिप्पणी छ । उनले यसको मूल्य प्रधानमन्त्री ओलीलाई महँगो पर्ने चेतावनी पनि दिए ।

“लोकतन्त्रको नायकलाइ पक्राउ गरेर ओलीले आफ्नो अहंकार देखाए । निरंकुश पञ्चायतको झझल्को दिने ओली प्रवृत्तिले सीमा नाघ्यो । बुट बजार्दै सडकमा फौज उतारेर कायरता छोप्ने ओली तमासाले डिङ्गो मार्नेवाला छैन,” पौडेलले भने, “ हेक्का रहोस्–निरंकुश ओलीहरुलाई नै सत्ताच्युत गरेर प्राप्त गरेको लोकतन्त्र हो यो ।” उनले पौडेलले पुल उद्घाटन गर्न नपाएको रुपमा मात्र तनहुँमा भएको घटनालाई हेर्न नहुने पनि बताए ।

राज्यको प्रहरी कुनै पार्टीको नेताको इशारामा चल्न नहुने पनि उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close