पक्राउ परेका सांसद चौधरी कारागार चलान

कोहलपुरबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालत कैलालीले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो । त्यसअघि कैलाली प्रहरीले चौधरीलाई अदालत पठाएको थियो ।
चौधरीलाई बाँकेबाट हवाई मार्गमार्फत काठमाडौ लगेर बिहीबार राति श्रीएयरलाइनको जहाजमार्फत कैलालीको धनगढी ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार चौधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।
२०६६ भदौ ३ गते कैलालीको तत्कालीन बलिया गाविसका महादेव बजगाईको लु२त २११ नम्बरको ट्याक्टरमा आगजनी गरेको मुद्दामा सांसद चौधरी दोषी ठहर भएका थिए । ट्याक्टरमा पेट्रोल छर्केर आगो लगाइएको भन्दै बजगाईंले अरुण, वीरबहादुर र परशुराम चौधरीको नाममा मुद्दा दायर गरेका थिए ।
आगलागीबाट आठ लाख १९ हजार ४२३ रुपैयाँको नोक्सानी भएको भन्दै बजगाईंले प्रतिवादीलाई मुलुकी ऐन आगो लगाउनेको महलको १ र ४ नम्बरको कसुरमा ४ नम्बर बमोजिम सजाय मागदाबी गरेका थिए ।
२०७० वैशाख ९ गते कैलालीका तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले प्रतिनिधिसभा सदस्य रहेका चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई जनही ६ महिना कैद र आठ लाख १९ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

सांसद चौधरी कैद भुक्तानी नगरेर फरार सूचीमा रहेकाले उनलाई बिहीबार पक्राउ गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close