टिकटक: नाचगान र रमाइलो गर्ने एप किन अमेरिका र चीनको द्वन्द्वमा फस्यो

भाइरल नाच र हास्यमिश्रित अभिनयका कारण टिकटक युवा वर्गमा निकै लोकप्रिय बनेको छ।

तर चीनसँग सम्बन्धित भएका कारण चिनियाँ राष्ट्रपति सी जिन्पिङ र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच द्वन्द्व बढ्दा टिकटक दबावमा परेको नयाँ कम्पनी बनेको छ।

अमेरिका र अस्ट्रेलिया यो एपलाई प्रतिबन्ध लगाउन सकिने बताइरहेका छन् भने भारतले यसलाई प्रतिबन्ध लगाइसकेको छ।

टिकटक के हो?

यूट्युबजस्तै टिकटक नि:शुल्क प्रयोग गर्न सकिने सेवाको एप हो।

प्रयोगकर्ताहरूले गीत र विशेष प्रभाव देखिने फिल्टरको ठूलो भण्डारबाट छानेका सुविधा प्रयोग गरेर एक मिनेटसम्म लामो भिडिओ राख्न सक्छन्।

चलचित्रका सम्वाद र हास्यरसका भनाइहरूमा पनि प्रयोगकर्ताले अभिनय गर्न सक्छन्।

एक प्रयोगकर्ताले १,००० फलोअर बनाएपछि प्रत्यक्ष भिडिओ पनि प्रसारण गर्न सक्छन्।

प्रयोगकर्ताले डिजिटल उपहार पनि ग्रहण गर्न सक्छन् र त्यसलाई पैसासँग साट्न सक्छन्।

एपले साथीका भिडिओहरू र पहिले हेरिएको भिडिओको आधारमा चर्चित नयाँ भिडिओ हेर्न सकिन्छ।

प्रयोगकर्ताहरू बीच सन्देश आदानप्रदान गर्ने सुविधा पनि छ।

यो कति ठूलो छ?

सन् २०१९ को सुरुदेखि टिकटक सबैभन्दा बढी डाउनलोड हुने एपहरूको सूचीमा नियमित परिरहेको छ।

महामारीको लकडाउनका कारण यसका मानिसको आकर्षण ह्वात्तै बढेको छ।

अहिले यो एप अनुमानित दुई अर्ब पटक डाउनलोड गरिएको छ र यसका ८० करोड सक्रिय प्रयोगकर्ता छन्।

यो एप सबैभन्दा बढी भारतमा डाउनलोड भएको थियो तर प्रतिबन्धका कारण अहिले चीन र अमेरिका यसको सबैभन्दा ठूलो बजार हो।

यसको चीनसँग के सम्बन्ध छ?

टिकटक तीन एपका साथ सुरु भएको थियो।

पहिलो सन् २०१४ मा सुरु भएको अमेरिकी एप म्युजिकल्ली हो। सन् २०१६ मा चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले चीनमा उस्तै प्रकारको ठाउयीन एप सुरु गर्‍यो।

बाइटडान्सले त्यसलाई संसारभर टिकटकको नाममा फैलायो।

सन् २०१८ मा बाइटडान्सले म्युजिकल्लीलाई किन्यो र यसलाई टिकटकमा मिसायो।

बाइटडान्सले चिनियाँ स्वामित्वबाट आफ्नो एपलाई पर राख्ने प्रयास गरेको छ।

यसका लागि कम्पनीले टिकटको प्रमुख कार्यकारीको रूपमा डिज्नीको पूर्वकार्यकारी केभिन मायरलाई नियुक्त गरेको छ।

टिकटकले कति तथ्याङ्क बटुल्छ?

टिकटकले प्रयोगकर्ताको धेरै नै तथ्याङ्क सङ्कलन गर्छ। तीमध्ये केही यी हुन्:

कुन भिडिओ हेरियो र कुनमा प्रतिक्रिया जनाइयो

स्थान अवस्थिति तथ्याङ्क

फोनको प्रकार र यसको अपरेटिङ् सिस्टम

केही लेख्दा प्रयोगकर्ताले कसरी किबोर्ड थिच्छन्।

यसका केही तथ्याङ्क सङ्कलनले आशङ्का उठाएको छ। त्योमध्ये एक भनेको यसले कपी-पेस्ट गरिएको सामग्री हो।

तर त्यस्तै तथ्याङ्क रेडिट, लिङ्क्डइन, न्यूयोर्क टाइम्स र बीबीसी न्यूज एपले पनि सङ्कलन गर्छ।

टिकटकले फेसबुकजस्तै धेरै तथ्याङ्क सङ्कलन गर्छ। यूकेको गोपनियतासम्बन्धी काम गर्ने एक निकायले यो एपको अध्ययन गरिरहेको छ।

टिकटकले जासुसी गर्न सक्छ?

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले टिकटकले सङ्कलन गरेको तथ्याङ्क चिनियाँ कम्युनिस्ट पार्टीको हातमा पुग्ने आरोप लगाएका छन्।

टिकटकले तथ्याङ्क सङ्कलन चीन बाहिर हुने र बाहिरै भण्डार हुने पटक-पटक बताएको छ।

“हामी चिनियाँ सरकारको औंलामा छौँ भन्ने कुरा पूर्ण रूपमा असत्य हो,” टिकटकको युरोप, मध्यपूर्व र अफ्रिकाका लागि सार्वजनिक नीतिका प्रमुख थियो बेर्टरामले बीबीसीलाई बताएका थिए।

तर टिकटकविरुद्धको कुरा भनेको चिनियाँ सरकारले स्थानीय कानुन लगाएर बाइटडान्सलाई विदेशी प्रयोगकर्ताको तथ्याङ्क दिन बाध्य पार्न सक्छ भन्ने हो।

सन् २०१७ को चीनको राष्ट्रिय सुरक्षा कानुनमा कुनै पनि संस्था वा व्यक्तिले राज्यको जासुसी कार्यकालागि सहयोग र सहकार्य गर्नुपर्ने व्यवस्था छ।

ब्रेटरामले चिनियाँ सरकारले मागेपनि आफूले नदिने बताएका थिए।

तर बाइटडान्सले चिनियाँ सरकारलाई असन्तुष्ट पार्दा हुनसक्ने असरका बारेमा सोच्नपर्ने हुन सक्छ।

बाइटडान्सको धेरै लोकप्रिय समाचार एप टौटिआओ सन् २०१७ मा चीनको इन्टरनेट सूचना कार्यालयले अश्लील सामग्री फैलाएको भनेपछि २४ घण्टाका लागि हटाइएको थियो।

के टिकटकले चिनियाँ प्रोपागान्डा फैलाउन सक्छ?

अर्को चिन्ताको विषय सेन्सरशीप हो।

चीन संसारको सबैभन्दा नियन्त्रित इन्टरनेट भएको स्थान हो र कुख्यात ‘ग्रेट फायरवाल’ले चिनियाँ नागरिकालागि थुप्रै सामग्री रोक्छ।

गत वर्ष गार्डियन पत्रिकाले टिकटकका कर्मचारी र प्रविधिले राजनीतिक रूपमा सम्वेदनशील विषयहरूलाई सेन्सर गर्ने गरेको लेखेको थियो।

तियानानमेन स्क्वायरमा भएका विरोध र स्वतन्त्र तिब्बतको माग भएका सामग्रीहरू प्रतिबन्धित भएको बताइएको छ।

टिकटकका छ जना पूर्वकर्मचारीसँगको कुराकानीको आधारमा वाशिङ्टन पोस्ट पत्रिकाले लेखेको समाचारमा चीनमा रहेका कर्मचारीले प्रतिबन्ध लगाउने कुराको अन्तिम निर्णय गर्ने बताइएको छ।

बाइटडान्सले ती निर्देशिका अहिले लागु गर्न छोडिएको बताएको छ।

स्राेत BBC

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close