लकडाउन खुलेपछि जनस्वास्थ्यविद्को चिन्ता – ‘संकट ल्याउन सक्छ’

काठमाडौं । सरकारले हिजो (मंगलबार) रातिबाट लागू हुनेगरी लकडाउन बन्दाबन्दी अन्त्य भएको घोषणा गरेसँगै आजबाट सवारी साधन सञ्चालन भएका छन् । तर यसप्रति जनस्वास्थ्यविद्ले असन्तुष्टि प्रकट गरेका छन् ।

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले कोरोना संक्रमणको समुदायमा व्यापक परीक्षण गरेर वास्तबिक अवस्था थाहा नपाइ गरिएको यो निर्णय हतारयुक्त र अपरिपक्व भएको टिप्पणी गरेका छन् ।

‘ब्यापक कडाइ, निगरानी र सतर्कता नअपनाएमा यसले जनस्वास्थ्यमा संकट ल्याउनेछ, देशका करिब ७० जिल्लामा संक्रमित रहेको, काठमाडौं उपत्यका लगायत सहरी क्षेत्रमा फाट्टफुट्ट कोरोना संक्रमण देखिइरहेको, परीक्षणको दायरा एकदम साँघुरो भएको, छिमेकी देश भारतमा कोरोना संक्रमण ब्यापक फैलिएको तथा नेपालसँग सिमाना जोडिएका बिहार, युपी तथा पश्चिम बंगालमा कोरोना संक्रमण निकै बढेको अवस्थामा लकडाउन अन्त्य गर्नु निकै जोखिमपूर्ण छ’, उनले सरकारको निर्णयलगत्तै भने ।

परीक्षण गर्दै चरणवद्ध रुपमा लकडाउनको व्यवस्थापन गर्नुपर्नेमा विज्ञसंग पर्याप्त छलफल नगरी लकडाउन खोल्दा समुदायमा कोरोना संक्रमण फैलिने डर कायम भएको उनको भनाइ छ ।

सिमाना प्रभावकारी ढंगले शिल नगर्ने हो भने भारतबाट धेरै संक्रमित नेपाल प्रवेश गर्ने खतरा रहेको तर्क गर्दै उनले भने–हामी आम नागरिकले सकभर घरमै बस्ने, घरबाहिर निस्कँदा सही तरिकाले मास्क लगाउने, भीडभाडमा नजाने, बाटो, चोक, पसल, अफिस लगायत सबै ठाउँमा घटीमा ६ फिटको दुरी कायम गर्ने, आवश्यकता अनुसार चस्मा तथा पन्जाको प्रयोग गर्ने, भोजभतेर नगर्ने, सुरक्षित तरिकाले घरमै चाडपर्व मनाउने लगायतका सुरक्षा सतर्कता अझै बढाउन जरुरी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close