
विराटनगरका तीनजना पत्रकारलाई कोरोना संक्रमण देखिएको छ । विराटनगरबाट प्रकाशित उद्घोष दैनिकमा आवद्ध कमल रिमाल, सञ्जिव खनाल र अर्का एक पत्रकारलाई कोरोना संक्रमण भएको हो ।
कार्यालयमा कार्यरतहरुलाई ज्वरो आएपछि पिसीआर परीक्षण गरिएकोमा पत्रकार रिमाल र आफुमा कोरोना पोजेटिभ देखिएको खनालले बताए ।
संक्रमित पत्रकार खनाल र रिमाल दुवैले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर आफुहरु संक्रमित भएको र जोखिम समयमा आफुहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्क रहन आग्रह गरेका छन् ।
उद्घोष दैनिकमा कार्यरत अन्य पत्रकार र कर्मचारीको रिपोर्ट आउन बाँकी छ । पिसीआर परीक्षणका लागि स्वाव संकलन गराएका उद्घोष दैनिकका पत्रकार र कर्मचारीहरु सबै होम आइसोलेसनमा छन् ।
विराटनगर महानगरपालिकामा शुक्रवार साँझसम्म संक्रमितको संख्या दुई सय ४५ जना पुगेको छ । शुक्रबार मात्र दिउँसो ३३ र साँझ २२ जना संक्रमित थपिएका थिए । विराटनगरमा ३ जना संक्रमितको मृत्यु भइसकेको छ ।