पहिरोले १५६ घर परिवार विस्थापित

बाढी पहिराका कारण तनहुँमा १५६ घरपरिवार विस्थापित भएका छन् । घर भत्किएका र उच्च जोखिममा रहेका घर परिवार विस्थापित भएका हुन् । त्यस्ता परिवारलाई छिमेकीको घर, सामुदायिक भवन र विद्यालयमा स्थानान्तरण गरिएको पालिका कार्यालयले जनाएका छन् ।

असारको अन्तिम र साउनको पहिलो साता परेको अविरल वर्षापछि गएको पहिराका कारण ती घरपरिवार विस्थापित भएका हुन् । सयौं घरमा क्षति पुगेको छ । तनहुँमा चार नगरपालिका र छ गाउँपालिकामध्ये ऋषिङ गाउँपालिका, व्यासनगरपालिका र म्याग्दे गाउँपालिमा मानवीयसहितको क्षति भएको छ ।

म्याग्दे गाउँपालिकामा ८० घर परिवार विस्थापित भएका छन् । उनीहरुमध्ये केहीलाई छिमेकी र सामुदायिक भवनमा व्यवस्थापन गरिएको छ । गाउँपालिका–६ का १५ वर्षीया लक्ष्मी विकको पहिराले पुरिएर ज्यान गएको थियो । पानी परिरहेकोले उच्च जोखिममा रहेका घरका मानिस दिउँसो बस्ने र रातको समयमा छिमेकी कहाँ गएर सुत्ने गरेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए ।

त्यसैगरी बन्दिपुर गाउँपालिकामा १६ घरपरिवार विस्थापित भएका छन् । पहिराले ३० घरमा आंशिक क्षति पुगेकोे गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । पूर्ण क्षति भएका परिवार छिमेकीको घरमा आश्रय लिन बाध्य भएका छन् । उनले भने, ‘पूर्णरुपमा घर क्षति भएकालाई रु.३० हजार र राहत दिइएको छ ।’

पहिराले उच्च जोखिम र आंशिक क्षति पुगेकालाई रु.दश हजार र बाढीले कटान र बगर बनाएको खेतलाई प्रतिरोपनी दुई हजार प्रदान गरिएको छ । यसैगरी देवघाट गाउँपालिकामा १५ परिवार छिमेकीको घरमा सुरक्षित बस्दै आएका छन् । मानवीय क्षति नभए पनि फलफूल र खेतीबालीमा धेरै क्षति भएको अध्यक्ष दुर्गबहादुर थापाले बताए ।

त्यसैगरी शुक्लागण्डकी नगरपालिकामा १३ परिवार छिमेकीको घर र सामुदायिक भवनमा शरण लिएर बस्दै आएका छन् । शुक्लागण्डकीको बाह्र मध्ये २,४,५ र ८ वडामा पहिराले क्षति नभएको र अन्य आठ वडामा क्षति पुगेको शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिए ।

नगरपालिकामा मानवीय क्षति नभए पनि सबै वडामा चार वटा टोली बनाएर बाढी पहिराले पुर्‍याएको क्षतिको विवरण सङ्कलन गरिएको छ । त्यसैगरी भानुनगरपालिकाको वडा नं २ र ३ मा गरी १० घरपरिवार पहिराको उच्च जोखिममा रहेकोले स्थानीय छिमेकीको घरमा बस्दै आएका छन् ।

आँबुखैरेनी गाउँपालिमा सात घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । वडा नं १, २ र ६ का ७ घरपरिवार कोही छिमेकीको घरमा र कोही सामुदायिक भवनमा बस्दै आएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए । त्यसैगरी व्यासनगरपालिकामा ६ घरपरिवार विस्थापित भएका छन् ।

करिब ५० घर उच्च जोखिममा रहेको नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन प्रमुख विमल गिरीले जानकारी दिए । उनले भने, ‘यस नगरपालिकामा पहिरामा परेर पाँच जनाले ज्यान गुमाएका छन् ।’

ऋषिङ गाउँपालिकामा– ६ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । उक्त वडाको ऋषिङ-८ भैसीकिली निवासी अम्बरबहादुर थापाको पाँच जनाको पहिरामा परेर मृत्यु भएको थियो । त्यसैगरी भिमाद नगरपालिकाका नगर प्रमुख मेखबहादुर थापाले ती घर परिवार विस्थापित भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close