सिपीएल क्रिकेटमा सन्दीपको अर्को विकेट, टिम भने पराजित

ट्रिनिडाड एन्ड टोबेगोमा जारी क्यारेबियन प्रिमियर लिग (सिपीएल) क्रिकेटअन्तर्गत जमैका तलाहवाजबाट खेलिरहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले थप एक विकेट लिएका छन् ।

गएराति सम्पन्‍न बार्बडोस ट्रिडेन्ट्सविरुद्धको खेलमा सन्दीपले ४ ओभर बलिङ गरेर २६ रन खर्चेर १ विकेट लिएका हुन् । सन्दीपले ४२ बलमा ६९ रन बनाएर खेलिरहेका जेसन होल्डरलाई एलबीडब्ल्यु धरापमा पारेका थिए ।

यद्यपि खेल भने बार्बडोसले जितेको छ । प्रतियोगिताबाट बाहिरिसकेको बार्बडोसले सान्त्वना जीत निकाल्ने क्रममा जमैकालाई ७ विकेटले हराएको हो ।

टस जितेर ब्याटिङ रोजेको जमैकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६१ बनाएको थियो । उसका लागिओपनर जर्मेन ब्ल्याकवूडले ७४ रन बनाए भने आन्द्रे रसलले ५४ रन बनाए ।

जवाफमा १६२ रनको लक्ष्य बार्बडोसले १० बल बाँकी छँदै ३ विकेटको क्षतिमा भेट्टाएको थियो । बार्बडोसका लागि जेसन होल्डरले ९ चौका र ३ छक्काको मद्दतले ६९ रन बनाए भने जोनाथन कार्टरले अविजित ४२ र मिचेल सान्टनरले अविजित ३५ रनको योगदान दिए ।

सान्त्वना जीत निकालेको बार्बडोसले १० खेलबाट ६ अंक बनाउँदै प्रतियोगिता अन्त्य गरेको छ भने पराजित जमैका यसअघि नै सेमिफाइनलका लागि छनौट भइसकेको छ । उसको ९ खेलबाट ७ अंक रहेको छ र अब एक खेल खेल्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close