बैठकबाट किन भाग्दैछन् ओली, नेकपामा ‘कू’ हुन लागेकै हो ?

सत्तारुढ नेकपा आन्तरिक विवाद समाधानमा असफल हुने दिशामा अघि बढिरहेको छ । १० महिनादेखि देखिएको विवाद समाधान गर्न नेकपाले सफलता हात पार्न सकेको छैन । गत फागुनदेखि सतहमै देखिएको नेकपाको आन्तरिक विवादले गणतन्त्र र राजनीतिक दलप्रतिको वितृष्णा जनतामा बढाइरहेको छ ।

कोरोनाभाइस संक्रमणको महामारीमा पनि कुर्सी र शक्तिका लागि भइरहेको नेकपाको म्याराथन विवादले जनतालाई निराश बनाइरहेको छ ।

तर, सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले पार्टीलाई निकास दिन सकिरहेका छैनन् । उनीहरु सबै सरकार र पार्टीको नेतृत्व लिइसकेका नेताहरु हुन् । तर, एक वर्ष पुग्न लाग्दा पार्टीको विवाद समाधान गर्न भने सकेका छैनन् ।

विवाद समाधानका लागि भन्दै बैठकहरु बोलाइने, सहमति गरिने गरिए पनि नेताहरुको पानी बराबरको अवस्था सृजना हुन थालेको छ । गत कात्तिक २८ गते अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा पेस गरिएको राजनीतिक प्रस्तावमा ओलीमाथि गम्भीर आरोप लगाइएको छ भने ओलीले मंसिर १३ गते त्यसको जवाफ दिँदै पेस गरेको राजनीतिक दस्तावेजमा प्रचण्डको राजनीतिक चरित्रमाथि प्रश्न उठाउँदै प्रत्यारोप लगाइएको छ । तर, बैठकमा छलफल गरेर दुई अध्यक्षबीच भएको टकरावले समाधान पाउने आशा कार्यकर्ताले गरेका थिए ।

मंंगलबार बसेको बैठकमा ओलीले बैठक राख्नुको औचित्य नै नभएको बताएपछि चर्काचर्की परेको थियो । प्रचण्डले बैठक औचित्य पुष्टि गरेपछि बैठक बसेको थियो र दुवै अध्यक्षको प्रस्तावमाथि छलफल सुरु भएको थियो । तर, बुधबारको बैठकमा ओली सहभागी नहुने बताएपछि नेकपा झनै अन्योलमा परेको छ ।

कार्य व्यस्तताको कारण देखाउँदै ओली बैठकमा सहभागी नहुने बताएपछि प्रचण्ड पक्षधरले ओली बैठकबाट भागेको टिप्पणी गरेका छन् ।

यही मंसिर १३ गतेको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्डको प्रस्तावलाई लक्षित गर्दै त्यो ‘कू’ तर्फको यात्रा भएको प्रतिक्रिया दिएका थिए । ‘चैत २५ देखि ३० सम्म महाधिवेशन गरौं भनेर हामीले भनेका छौं, गछौं भनेका छौं र महाधिवेशन गरौं। लोकप्रियता त्यहाँ प्रकट हुन्छ नि! बहुमत को हो? अल्पमत को हो? त्यो गरे भइगो,’ ओलीले भने, ‘तर, यसबीचमा जसरी एकता भाड्ने खालका प्रयासहरू भए, एकताका लागि गरिएको संगठनात्मक र संख्यात्मक प्रबन्धलाई लत्याएर ‘कू’ का प्रयासहरूको निम्ति दुरूपयोग गर्ने र एकता बिथोल्ने खालका अबाञ्छित प्रयासहरू भएका छन्।’

मंसिर १३ गते बसेको सचिवालय बैठकमा ओलीले ‘कू’ को शैलीमा एकता र एकीकरणको बाटो छाड्न खोजेकोसमेत आरोप लगाएका छन्। अध्यक्ष ओलीले भनेजस्तै नेकपामा कू हुन लागेको हो ? यसबारे ओलीले टिप्पणीबाहेक अरुले केही बताएका छैनन् ।

पार्टीको विवाद समाधान गर्न नसकेका नेताहरुले मुलुकको कार्यभार बोकेर हिँडिरहेको टिप्पणी हुन थालेको छ । गणतन्त्र, संघीयतालगायत राजनीतिक उपलब्धीविरुद्ध सडक संघर्ष हुन लाग्दा पनि सत्तारुढ नेकपा आन्तरिक विवाद समाधान गरेर जनतामा गणतन्त्र, संघीयतालगायत राजनीतिक उपलब्धीप्रतिको आश र विश्वास जगाउनतिर लाग्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close