प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती

हेटौंडा- लामो रस्साकस्सी र विवादकाबीच अन्ततः प्रदेश नम्बर ३ काे राजधानी हेटौंडा कायम भएको छ ।

आज (आइतबार) प्रदेशसभामा भएको मतदानबाट प्रदेश ३ को राजधानी हेटौंडा तोकिएको हो । प्रदेशसभामा कूल ११० सदस्यमध्ये बैठकमा १०८ सदस्य उपस्थित थिए । हेडौंडाको पक्षमा १ सय ५ जनाले मतदान गरेका छन् भने विपक्षमा ३ जनाले मतदान गरेका छन् ।

नाम भने सर्वसहमतबाट पारित भएको छ । प्रदेश ३ को नाम बागमती राखिएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं ३ को राजधानी हेटौँडा राख्न गरेको प्रस्तावमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ समर्थनक गरेका थिए ।

राजधानीको विषयमा दुईवटा प्रस्ताव प्रदेश सभामा दर्ता भएका थिए । सत्तापक्ष नेकपा र प्रमुख प्रतिपक्ष कांग्रेसले हेटौँडा र विवेकशील र साझा पार्टीले धुलिखेल राजधानी तोक्न छुट्टाछुट्टै प्रस्ताव दर्ता गरेका हुन्।

प्रदेश सभामा सुरुमा राजधानी काभ्रेको धुलिखेल राख्न भनि सदस्य रमेश पौडेलले गरेको प्रस्तावमा मतदान भएको थियो ।

पौडेलको प्रस्तावको पक्षमा ३ जनाले मतदान गरेका थिए भने १०१ जनाले विपक्षमा मतदान गरेका थिए । त्यसपछि मुख्यमन्त्रीको प्रस्तावमा मतदान भएको थियो ।

प्रदेश ३ को नामका लागि भने एउटै प्रस्ताव दर्ता भएको थियो । सोहिबमोजिम सर्वसहमतिका आधारमा प्रदेश ३ को नाम बागमती राखिएको छ।

यसअघि सत्तारुढ नेकपाको सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती राख्न र राजधानी हेटौंडालाई नै तोक्न निर्देशन दिएको थियो । सो निर्देशन संघीयताको मर्म विपरित भएको भन्दै नेकपाकै सांसदहरुले आपत्ति जनाएका थिए ।

सचिवालयको आदेशको विरोध गर्नेहरुले पनि मतदानकाे समयमा भने हेटौंडाको पक्षमा मतदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close