आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

 राष्ट्रिय एकता तथा मेलमिलाप दिवस शनिबार मनाइँदैछ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज शनिबार मेलमिलाप दिवस मनाउन लागिएको हो ।

नेपाली कांग्रेसका संस्थापक कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।

शनिबार नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । यस अवसरमा बिपी संग्रहालयले पनि कार्यक्रम गर्ने जनाइएको छ ।

प्रत्येक वर्ष मनाइने पुस १६ गतेको भारत निर्वासनमा रहँदा कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४६ वर्षअघि देशको सार्वभौमसत्ता संरक्षणका लागि आजकै दिन स्वदेश फर्किनु भएको थियो ।

पछिल्लो समय यो दिवस औपचारिकतामा मात्र केन्द्रित भएको टिप्पणी पनि हुने गरेको छ ।

२०१७ साल पुस १ गते राजा महेन्द्रले वीपी कोइरालाको निर्वाचित सरकारलाई अपदस्थ गरेपछि २०२५ सालसम्म जेलमा रहेका वीपी कोइरालालगायतका नेताहरु रिहा भएपछि भारत प्रवासमा गएका थिए ।

२०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकैबीचमा रहनुपर्छ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, लौहपुरुष गणेशमान सिंहलगायत नेताहरु मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।

मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दीगृहमा बन्दी बनाएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close