स्मार्टफोनमा ह्वाट्सएप नचल्ने !

काठमाडौं । आगामी केही महिनाभित्रै विश्वका दशौं लाख मानिसले प्रयोग गरिरहेका स्मार्टफोनमा ह्वाट्सएप चल्ने छैन । पुरानो संस्करणका मोबाइल अपरेटिङ सिस्टममा ह्वाट्सएपको सपोर्ट बन्द भएसँगै निकट भविष्यमै पुरानो मोडलका लाखौँ मोबाइल फोनहरुमा ह्वाट्सएप नचल्ने भएको हो ।

सन् २०२० को फेब्रुअरी १ देखि आइओएस ८ र त्योभन्दा पुरानो अपरेटिङ सिस्टम भएका आइफोनमा ह्वाट्सएप चल्ने छैन । त्यस्तै एन्ड्रोइडको २।३।७ र त्यो भन्दा पुराना भर्सनको अपरेटिङ सिस्टम भएका डिभाइसमा पनि ह्वाट्सएपको सपोर्ट बन्द हुनेछ ।

स्मरण रहोस्, उल्लेखित अपरेटिङ सिस्टम भएका डिभाइसबाट नयाँ ह्वाट्सएप अकाउन्ट खोल्ने र विद्यमान अकाउन्ट रिभेरिफाइ गर्न सकिने सुविधा अहिलेदेखि नै बन्द भैसकेको छ ।

त्यस्तै ह्वाट्सएपले आगामी डिसेम्बर ३१ देखि नै सबै विन्डोज फोनहरुमा सपोर्ट बन्द गर्दैछ । डिसेम्बरको अन्त्यबाटै माइक्रोसफ्टले पनि विन्डोज १० मोबाइल अपरेटिङ सिस्टमको सपोर्ट बन्द गर्ने घोषणा गरिसकेको छ ।

ह्वाट्सएपका अनुसार पुराना अपरेटिङ सिस्टमका लागि अपडेट उपलब्ध गराउन बन्द भैसकेको हुँदा कतिपय फिचरहरुले अहिलेदेखि नै काम नगर्न सक्दछन् । एन्ड्रोइडको ४।०।३ तथा आइओएस ९ र त्यसभन्दा पछिल्ला अपरेटिङ सिस्टममा भने पूर्ववत् रुपमा ह्वाट्सएप चलाउन सकिनेछ । ब्लग पोष्टमा ह्वाट्सएपले भनेको छ, ‘तपाईंको आइओएस ८ डिभाइसमा रहेको ह्वाट्सएप अकाउन्ट आगामी फेब्रुअरी १ सम्म चलाउन सक्नुहुनेछ ।’

– एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close