आयुर्वेद क्लिनिकमा अनुगमन टोली पुग्दा नक्कली डाक्टर र क्लिनिक सञ्चालक फरार

सुर्खेतको वीरेन्द्रनगरमा प्रियंका नेचुरल फुड सप्लिमेन्ट एण्ड कस्मेटिक सेन्टरमा आयुर्वेद क्लिनिक सञ्चालन गरेको पाईएपछि संयुक्त अनुगमन टोलीले छापा मारेको छ । काठमाडौंका आयुर्वेद डाक्टर सावरी साहको नामबाट अर्कै नक्कली डाक्टरले कस्मेटिक पसलमा विमारी चेकजाँच गरिरहेको गोप्य सूचना पाएपछि शनिबार जिल्ला प्रशासन कार्यालय सुर्खेतको सक्रियतामा प्रदेश आयुर्वेद औषधालय नेतृत्वको संयुक्त अनुगमन टोलीले दर्ता विनाको आयुर्वेद क्लिनिकमा छापा मारेको हो ।

अनुगमन टोलीले छापा मार्नु अघि नै सूचना चुहावट भएपछि क्लिनिकका सञ्चालक प्रकाश शाह र नक्कली डाक्टर साबरी साह भागेर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् । अनुगमन टोलीले दर्ता विनाको क्लिनिकबाट वाणिज्य कार्यालयमा दर्ता भएको प्रियंका जनरल स्टोर, आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको प्रियंका नेचुरल फुड सप्लिमेन्ट एण्ड कस्मेटिक सेन्टर नामको प्रमाणपत्र र आयुर्वेद औषधिबाट विभिन्न रोगको उपचार गर्ने बारेको भ्रामक पम्पलेटहरु नियन्त्रणमा लिएर क्लिनिक नै सिल गरिएको प्रदेश आयुर्वेद औषधालयका बैद्य निरीक्षक दिपेन्द्र कँडेलले जानकारी दिए ।

उनले क्लिनिकमा राखिएका औषधिहरु औषधि व्यवस्था विभागमा दर्ता नभएको र नेटवर्किङ्ग व्यापारसँग सम्बन्धित रहेको जस्तो देखिएकोले थप अनुसन्धान गरेपछि मात्र थाहा हुने बताए । उनका अनुुसार ऋषिकुल आयुर्वेद परामर्श केन्द्रको अभियान, स्वास्थ्य परिवारको निर्माण नामको नारा दिएर आयुर्वेद पद्धतीबाट विभिन्न रोगको दक्ष डाक्टरहरुबाट उपचार गरिने भ्रामक पम्पलेट समेत फेला परेकाले उपभोक्ता ठगिएको आशंका गरिएको छ ।

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी रामप्रसाद घर्तीले दर्ता विनाको मापदण्ड विपरित आयुर्वेद क्लिनिक सञ्चालन गरि उपभोक्ता ठगि र्ने नक्कली डाक्टर र क्लिनिक सञ्चालकलाई केही दिनमै नियन्त्रणमा लिन आवश्यक प्रक्रिया शुरु भएको बताए । उनका अनुसार दर्ता विनाको मापदण्ड विपरित आयुर्वेद क्लिनिकमा विरामी चेकजाँच गर्ने डाक्टर नक्कली हो वा होइन भन्ने कुरा फरार भएकाहरु नियन्त्रणमा आएपछि मात्र थाहा हुने छ ।

स्रोतः स्काइ न्युज 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close